शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने



सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन इतर पक्षका कम मात्र परेको भन्दै असन्तुष्ट शेखर कोइराला समूहका नेताले प्रत्यक्षतर्फ पनि त्यस्तै अवस्था आए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

सत्ता गठबन्धन दलहरूबीच मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल हुने भएपछि प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा पर्ने सम्भावन न्यून रहेका नेताहरूको उपस्थिति बाहुल्य कार्यक्रममा टिकट वितरण गुटका आधारमा गरेर पार्टीमा लामो लगानी गरेकालाई अन्याय नगर्न नेतृत्वलाई आग्रह गरिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले आफूहरूले टिकट नपाए पार्टीका अरू उम्मेदवारलाई सहयोग नगर्ने र स्वतन्त्र उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताए।

कांग्रेस संस्थापन इतर पक्षका केही नेताले एमाले अध्यक्ष केपी ओलीसँग सत्ता गठबन्धनको भागमा परेका निर्वाचन क्षेत्रमा मिलेर उम्मेदवारी दिनेगरी छलफल गरेको चर्चा चलिरहेको छ। सभापति देउवाले सत्ता गठबन्धनमा रहेका अन्य दलका लागि छाडिदिने क्षेत्रमध्येका आधारमा एमाले उम्मेदवारलाई सहयोग गर्ने र बाँकी आधारमा बिपी कांग्रेसका नामबाट उम्मेदवारी दिनेगरी संस्थापन इतरका नेताहरू छलफलमा जुटेको आरोप संस्थापन पक्षले लगाएको छ। यस्तो अवस्थामा कांग्रेस संस्थापन इतरका नेताहरूले टिकट वितरण न्यायोचित नभए सार्वजनिक रूपमै विद्रोह गर्ने चेतावनी दिएका हुन्।

‘पार्टीभित्र टिकट वितरण न्यायोचित भएन भने ४० प्रतिशतभन्दा १ प्रतिशत कम भए पनि मन्जुर छैन,’ कांग्रेस नेता गुरुराज घिमिरेले भने, ‘विगतमा ४० प्रतिशतको भाग खोज्ने तपाईं (देउवा) हो। अब हामी टुलुटुलु हेरेर बस्दैनौं।’ संस्थापन इतरकै नेताहरूले निकटलाई टिकट दिलाउन पहल नगरेकाप्रति सहभागीले असन्तुष्टि व्यक्त गरेका थिए। नेता घिमिरेले पार्टीभित्र न्यायोचित अवसरका लागि लड्न खुट्टा नकमाउन आफ्नो समूहबाट चुनिएका पदाधिकारीलाई पनि आग्रह गरे।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाही, पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदी, डोटीका नेता भरत खड्का, निवर्तमान सांसद तेजुलाल चौधरीसहितले नेतृत्वको आलोचना गर्दै न्यायोचित ढंगबाट उम्मेदवार छनोट गर्न आग्रह गरे। उनीहरूले संस्थापन इतरका शीर्ष नेतालाई आफ्नो पक्षधर टिकटबाट वञ्चित हुने अवस्था आउन नदिन आग्रह पनि गरे।

संस्थापन इतर समूहबाट उपसभापति बनेका धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता शेखर कोइरालालगायत नेताहरू भने कार्यक्रममा सहभागी भएनन्। कार्यक्रममा सहभागी भएका केन्द्रीय सदस्य प्रकाश रसाइली, प्रतिमा गौतम, अजयबाबु शिवाकोटीले पनि केही बोलेनन्।