बन्दसूची शेखर समूहको सहमतिमा आएको हो, त्रुटी छ- संस्थापन पक्ष - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बन्दसूची शेखर समूहको सहमतिमा आएको हो, त्रुटी छ- संस्थापन पक्ष



काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिइरहेका बेला संस्थापन पक्षले भने शेखर पक्षको समेत सहमतिमा बन्दसूची तयार पारिएको बताएको छ ।

निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची पदाधिकारी र आधिकारिक निकायको सर्वसम्मत निर्णय भएको भन्दै यो नसच्चिने संकेत संस्थापन समूहले गरेको छ ।

शेखर कोइराला समूहले बन्दसूचीबारे व्यापक विरोध जनाएपछि पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

‘यसमा कुनै सत्यता छैन । एकलौटी गरियो, छलफलै भएन भन्ने कुरामा कुनै सत्यता छैन । सम्पूर्ण निर्णय आधिकारिक निकायबाट भएको छ । पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय समितिका सदस्यहरू, ७ वटै प्रदेशका अग्रणी नेताहरू बसेर सहमति गरेर निर्णय भएको हो’, प्रवक्ता महतले भने, ‘कतिपय त्रुटिहरू छन् । एउटा पक्षलाई पक्षपोषण गरेर, अर्को पक्षलाई कमजोर पारेर कुनै निर्णय भएको छैन ।’

त्रुटि कमजोरी सच्याउने समय आयोगले नै दिएकाले त्यसमा छलफल भइरहेको उनले बताए । ‘यत्रो ठूलो बन्दसूची तयार गर्दा त्रुटि हुन्छ । जुन शुद्ध प्राविधिक विषय हो । अझै परिमार्जन हुनसक्छ । पक्ष विपक्षमा भेदभाव भएको छैन’, प्रवक्ता महतले भने ।

यस विषयमा सभापतिका प्रत्याशी स्वयं कोइरालालाई पनि थाहा भएको उनले बताए ।