शेष घलेले दिएको ६ करोड गायब भएपछि एमालेको बैठकमा हंगामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शेष घलेले दिएको ६ करोड गायब भएपछि एमालेको बैठकमा हंगामा



काठमाडौं । वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र बन्नमा धेरैको नाम सिफारिस भएको बाहेक अर्को ठूलो रहस्य रहेको बाह्रखरीलाई एमालेका एक उच्च सुत्रले जानकारी गराएका छन् ।

एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बिहान आठबजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बोलाएको थियो । सो बैठक भैसेपाटीमा पनि शुक्रवार बेलुका बसेको थियो, तर तोकिएको भन्दा आठ गुणा बढीसम्म नाम आएको कारण आइतबार विहान फेरि बस्नेगरी बैठक सारिएको थियो । आइतबार बिहानै उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका कारण बैठक दुई तीन घन्टा पर धकेलियो । अन्ततः बैठक बसेपनि ६ करोड कता गयो भन्ने मुद्दा उठेकाले निर्णयभन्दा बढी खैलाबैला भएको कुरा स्रोतले जनाएको छ ।

बैठकमा जब विषयान्तर भयो

बिहान ८ बजे बोलाइएको बैठक मध्याह्न १२ बजे सुरू भयो । बैठक बसेर सूची टुंग्याउनैपर्ने भएपछि प्रदेश प्रमुखहरूले नाम सर्टिङ गरेर ल्याएका थिए । तर, बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेपछि बैठकमा विषय मोडिएको मात्र हैन पुरै खैलाबैला नै भयो ।

स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए । यो कुरा उठेपछि बैठक अर्कै विषयमा मोडिएको थियो ।

अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरे पनि नेता नेपालले ६ करोडको फेहरिस्त मागिरहे ।

कहाँ गयो ६ करोड ?

स्रोतकाअनुसार सो सहयोग रकममध्ये दुई करोड पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए पनि अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भन्न सकेनन् । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।

तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।

बैठकका उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अन्तिम समयसम्म पनि नामावली टुंगाउन नसकेको भन्दै बैठकमा आलोचना गरेका थिए ।

पछि सच्याउने गरी तत्काललाई प्रदेश प्रमुखले टिपाएका नाम समेटेर एमालेले सूची बुझायो आइतबार । भुसालसहित नेता नेपाल पक्षधरहरूले संस्थागत छलफल हुने छाडेको र समानुपातिक उमेदवारजस्तो विषय पनि गुपचुप राखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

भवन भट्टले पनि भेटे ओलीलाई

अहिले गैरआवासीय नेपाली संघ एनआरएनको अधिवेशन पनि चलिरहेको छ ह्यात रिजेन्सीमा । अध्यक्षका प्रत्यासी हुन् भवन भट्ट । उनले पनि एमाले अध्यक्ष ओलीलाई भेटेको एमालेका एक नेताले बताए । उनका अनुसार अध्यक्ष ओलीले उनलाई समानुपातिक उमेदवार बनाउने वचन दिएको स्रोतको दाबी छ । त्यहाँ पनि रकम चलखेल भएको हुनसक्ने आशंका एमालेमा नेपाल पक्षका नेताहरूले गरेका छन् ।

पैसा कान्ड पहिलो होइन

०७० को निर्वाचनमा पनि व्यावसायिक घरानाकी राजेन्द्र लक्ष्मी गोल्छालाई पैसा लिएर समानुपातिकको सूचीमा राखेको र सांसद् नै बनाएको भन्दै चर्को आलोचना भएको थियो ।

त्यस्तै गत स्थानीय तहको निर्वाचनमा मोरङमा टिकट बिक्री गरेको भन्दै उजुरी परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ कारवाहीस्वरूप पार्टी मुख्यालयमा तानिएका छन् । उनी मोरङ सह–इञ्चार्ज हुन् ।

त्यस्तै सोही प्रकरणमा एमाले सचिव एवम् १ नम्बर प्रदेश प्रमुख भीम आचार्यसमेत मुछिएका छन् ।

पैसा मागेको अडियो टेपसहितको उजुरी पार्टी अनुशासन आयोगमा दर्ता गरेको भए पनि महासचिव ईश्वर पोखरेलसमेत लागेर त्यो विषय त्यसै टुंग्याइएको भन्दै आलोचना भएको थियो ।-बाह्रखरी बाट