श्रद्धा र श्राद्ध ! « Himal Post | Online News Revolution
Logo

श्रद्धा र श्राद्ध !



-डा. गोबिन्द शरण उपाध्याय

आफ्ना पुर्खाको सम्झना गर्ने परम्परा विश्वभरि नै छ। आ-आफ्नो संस्कृति तथा परम्पराअनुसार पुर्खाहरूलाई सबैले स्मरण गर्छन्। तर पुर्खाहरूको लागि नै भनेर वर्षका १५ दिनहरू छुट्ट्याउने हिन्दु संस्कार अदभूत छ। हामीले आफ्नो संस्कार र संस्कृतिमा गर्व गर्नुपर्छ। मैले त गर्व गर्छु।

जन्म जीवनको आरम्भ हो भने मरण त्यसको अन्त्य। तर पुस्तान्तरणका लागि हरेक दम्पतीले जन्म दिनुपर्छ। जन्मदिने दम्पती नै मातापिता हुन्छन्। हरेक मान्छेको शरीर निजका मातापिताको शरीरको अंश हो। मैले मेरो शरीरका लागि आफ्ना मातापितालाई धन्यवाद दिनुपर्छ।

मातापिताको जीवनकाल हामी आमाबुबा दिवस मनाएर जीवनको लागि धन्यवाद दिन्छौँ भने उहाँहरूको मृत्युपछि “श्राद्ध” गरेर पितृऋणबाट मुक्त हुने प्रयत्न गर्छौँ। वैदिक परम्परामा दिवङ्गत मातापितालाई सम्झन र तिनको सम्मान गर्न केही “विधि-विधान” स्थापित गरिएका छन्, तिनको नियमपूर्वक सम्पादन गर्नुनै श्राद्ध हो। हरेक व्यक्तिले सकेसम्म पूर्ण र सकिन्न भने सङ्क्षेपमा भए पनि महालय श्राद्ध गर्नुपर्छ।

वास्तवमा श्राद्ध र श्रद्धा एकै सिक्काका दुईवटा पाटा हुन् । श्रद्धा मानसिक हुन्छ भने श्राद्ध मानसिक तथा क्रियात्मक दुबै हुन्छ । श्रद्धाको क्रियात्मक रूप कर्मकाण्डका रूपमा प्रकट हुन्छ । यस्तो कर्मकाण्डले मन, शरीर र क्रिया तीनै माध्यमबाट आफ्ना पितृहरूलाई सम्मान गर्न मदत गर्छ ।

वेदी बनाउने, पिण्ड पकाउने, एक पटक भोजन गर्ने, तर्पण गर्ने, ब्राह्मण भोजन गराउने, दान दिनेजस्ता कर्मकाण्डहरूलाई संस्कार भनिन्छ। यी कर्मकाण्डहरूले हामीलाई (श्राद्ध गर्नेलाई) आफ्ना पितृहरूसँग मानसिक, बचासिक तथा क्रियात्मकरुपमै जोड्न मदत गर्छ। त्यहि भएर यस्ता कर्महरू गर्नु/गराउनुपर्छ। शरीर दिने पितृहरूलाई श्राद्ध दिने कामलाई महत्त्व नदिनेहरू स्वार्थी हुन्। श्राद्ध नगर्नेले नगरुन्, कुनै कर छैन। तर गर्नेहरूलाई अपमानित गरेर आफूलाई प्रगतिशील र आधुनिक ठान्नेहरू कृतघ्न हुन्।

अहिले “सोह्र श्राद्ध” चलिरहेको छ। आफ्ना आफ्ना पितृहरूको सम्मान र सम्झना गर्दै गर्नेहरूले श्राद्ध गरिरहेका छन्। यस्तो विधिलाई महालय श्राद्ध भनिन्छ। ऋषिमुनिहरूलाई धन्यवाद दिनुपर्छ कि महालय श्राद्धको समयमा अन्य कर्मकाण्डहरू स्थगित राखिएका छन्। यसको उद्देश्य “एकाग्र र एकमना रूपले हरेक व्यक्तिले आफ्ना पितृहरूप्रति श्रद्धा व्यक्त गर्न सकोस्” भन्ने नै हो यस्तो अवसरलाई सोही रूपमा उपयोग गर्नुनै शास्त्रको मर्यादा स्विकार्नु हो। शास्त्र पनि मान्छु भन्ने तर व्यवहार तिनको पालना नगर्नेहरू पाखण्डी भनिन्छन् । पाखण्डले धर्मको असली स्वरूप छोपिन्छ।

दार्शनिक रूपमा आफ्ना पुर्खाहरूसँग एकात्मकता स्थापित गर्ने, मनोवैज्ञानिक रूपमा आफ्ना पुर्खाहरूसँग जोडिएर आत्मसन्तुष्टि प्राप्त गर्ने, सामाजिक रूपमा परिवारसँग पुनर्मिलन गर्ने र सांस्कृतिक रूपमा संस्कारको पुस्तान्तरण गर्ने यो महान् परम्पराप्रति हामीले गर्व गर्नुपर्छ ।

अन्त्यमा, आजभोलिको युवापुस्तालाई तथाकथित “वैज्ञानिक तथा प्रगतिशील शिक्षा पद्धतिले” दिग्भ्रमित बनाएको छ र आफ्ना संस्कारहरूलाई “अन्धविश्वास”का रूपमा चिन्हित गर्न प्रेरित गरेको छ। त्यसैले श्राद्धजस्ता सांस्कृतिक तथा धार्मिक संस्कारहरू सम्पन्न गर्दा आफ्ना युवा “छोराछोरी, नातिनातिना”लाई अवश्य र अनिवार्य सहभागी बनाउने प्रयत्न गरौँ । यदि परीक्षाजस्तो अनिवार्यता छैन भने छुट्टी लिएर पनि संस्कार देखाउनु र सिकाउनुपर्छ।

मैले आफ्ना पिताजीलाई सप्तमीका दिन विधिपूर्वक श्रद्धाञ्जली दिने छु । ॐ पितृदेवो भव: