श्रीमान कि प्रेमिका ! « Himal Post | Online News Revolution
Logo

श्रीमान कि प्रेमिका !



– शुष्मा पन्त

हामी विवाहको औपचारिकता सकेर काठमाडौँको कोलाहाल बाट केही दिनको लागि पोखरा आएका थियौ । हिड्नु अगाडी साथीहरूले जिस्काउदै फोनमा भनेका थिए ” ह्याब अ इन्जोयफुल हनिमुन” ।

लेक साईडको मनोरम दृश्य हेर्दै रुफटफ होटेलमा थियौ। रियाजकै करमा मैले जीवनमा पहिलो चोटि वाईन चाख्दै थिए । त्यति नै बेला टेबुलमा राखेको उसको मोबाइलमा म्यासेज आयो ” दाम्पत्य जीवनको शुभकामना ” ।मैले सोधे “कसको म्यासेज रियाज ?” उसले लरबराएको स्वरमा भन्यो ” कसैको होइन, एउटा साथीले हाम्रो विवाहको भएको थाहा पाएर शुभकामान पठाएको छ “।

सुस्तरी वाईन पिई रहेको उसले रफ्तार बढाउदै थियो। मैले उसलाई रोक्ने खोजे ” धेरै नखाऊ है “। उसले अर्को प्याक गिलासमा खनाउदै भन्यो ” अमेरिका बाट आए पछि पिउन पाएको छैन, आज त तिमी गिदी नगर न ! हनिमुन हो रोमान्टिक त हुनु पर्‍यो नि।”

 

अन्नपूर्ण हिमशृंखला हुँदै चिसो हावा बिस्तारै फेवा ताललाई चुम्दै हामी तिर आउँदै थियो , फेवा तालमा डुबुल्की मरिरहेको माछापुच्छरे हिमाल बिस्तारै हाम्रा आँखा बाट हराउदै थियो। वरिपरि चम्किएका ती हिमशृंखलाहरु पनि सुर्यास्तसंगै बिदा माग्दै भोलि बिहानै मुस्कुराउने बाचा गर्दै ओझेलमा परेका थिए।

पर्यटकहरु बाटोमा पैदल हिड्दै थिए , कतै नजिकै दोहोरीको रौनक थियो यी सबै कुरा बाट रियाजलाई कुनै मतलब थिएन , न त मेरो त्यहाँको उपस्थितिको। म्यासेज आउनु अगाडी सम्म मसँग कुरा गरिरहेको उसले अहिले फेसबुकमा झुण्डीरहेको थियो। रिसिदै मैले उसलाई भने “रियाज म तिम्रो अगाडी छु !

तिमीलाई कुनै मतलब छैन त ? म गए रुममा उसो भए। ” उसले म तिर पनि नहेरी किप्याड थिच्दै भन्यो ” रोक न एउटा साथीसंग कुरा गर्दै छु सकी सके “।

रियाज र मेरो भेट त्यति लामो होइन, कोमल दिदीले फेसबुकमा पहिलो चोटि उसको फोटो देखाउदै भन्नु भएको थियो , “कस्तो छ केटा ? दुई वर्ष देखि अमेरिकामा बस्छ ! उसको परिवार बाट कुरो आएको छ , तिमीलाई राम्रो लाग्छ भने कुरा गर एक आर्कालाई बुझ अनि कुरा अघि बढाउला।”

कोमल दिदीले यहाँ भन्दा अगाडी धेरैको यस्ता फोटो देखाएकी थिइन । बेला बेला लाग्थियो , बिहेको हतार मलाई भन्दा मेरा आफन्तलाई बढी छ। तर पनि हेरे जस्तो गरेर टारी दिन्थिए ।

हेर्न भने सबैको फेसबुकका कुना कुना चहारेको हुन्थिये। कोमल दिदीले देखाएको त्यही बेलुका रियाजको फ्रेन्ड रिक्वेस्ट आयो । मैले तुरुन्तै एसेप्ट गरिन , थोरै भाउ खोजे। केही घण्टा पछि फेरी म्यासेज आयो ” हाई ! म रियाज ! कोमल दिदीसँग तपाईँको बारेमा कुरा भएको थियो , त्यसैले फेसबुकमा एड गरेको ” उसले लेखेको तपाईँ शब्दले भलादमी जस्तो लाग्यो अनि कुरा हुँदै गयो ।

समयसंगै म पनि ऊ सँग खुल्दै गए । परिवार बाट आएको कुरा थियो त्यसैले हाम्रो अनुमति बाट नै विवाहको तयारी सुरु भयो । करिब १ महिना मै ऊ नेपाल आयो र हाम्रो विवाह भएको थियो।

रियाज बिस्तारै रक्सीको मातमा थियो । उसले एक बोटल सक्दा मैले त्यही सुरुको एक गिलास सक्न पनि गाह्रो भएको थियो। “सर ! अरू केही अडर गर्ने ?” वेटर रियाजको नजिकै गएर सोध्यो। उसले म तिर हेर्दै भन्यो ” मलाई त यही सितनले पुग्यो , तिमी केही खाने “।

मलाई पनि खासै मन थिएन मैले पर्दैन भने । नशालु आँखाले मलाई हेर्दै जिस्कायो ” उसो भए जाऊ हिड हनीमुन मनाउन”। बिहे कै रात हतार भएको भएको थियो त तिमीलाई ,अझै हनीमुन रे ! मैले नि उसलाई जिस्काउदै जवाफ फर्काए।

रक्सीको मात र हनिमुनको थकानले बेडमा पल्टिएको केही बेरमै भुस परेको थियो रियाज । केही बेर अगाडी दाम्पत्य जीवनको शुभकामना दिने व्यक्ति बाट फेरी म्यासेजहरु आई रहेको थियो , मैले उसको औला बिस्तारै तानेर स्क्रिन लक् खोले। वर्षा भन्ने केटीको म्यासेज , केही अगाडीको सबै म्यासेज उसले डीलिट गरेको रहेछ , भर्खरै आएका केही म्यासेजहरु मात्र थिए ।

” धेरै पछि तिमीसँग कुरा भयो खुसी लाग्यो , तिम्री समीलाई सधैँ खुसी राख्नु , हाम्रो प्रेम सफल नभए नि तिम्रो दाम्पत्य जीवन सधैँ सुखद रहोस् ” ।त्यति कैमा अर्को म्यासेज राहुलको आयो , रियाजको मिल्ने साथी । मसँग पनि एक दुई चोटि कुरा भएको थियो। “ओए साले ! तैले आफ्नो जीवनको बारेमा सोच , यतिका वर्ष त् बाट टाढा भएकी वर्षा आज तलाई म्यासेज गर्दैछ त्यसले अब कुनै अर्थ राख्दैन त्यसैले भाउजूको बारेमा सोच अब ।

त्यसलाई ब्लक गर्दे त्यो सँग कुरा नै नगर । सायद उनीहरूको यस बारेमा अघि कुरा भएको हुनुपर्छ तर सबै म्यासेज डिलिट गरिएको थियो ।

रियाज सुतेको थियो मलाई उठाउन पटकै मन थिएन। तर मनमा उकुस मुकुस थियो। उसलाई हेरे, निबस्त्र ऊ माथि एउटा ब्लान्केट मात्र थियो, रातको शून्यतामा उसको झिजो लाग्दो घुरेको आवाजले मनलाई अझै अत्यास लाग्दो गरायो ।

बिस्तारै उसको फेसबुकका म्यासेजहरु स्कोरल गर्दै गए। एउटा फेसबुकमा उसले यता बाट मात्र म्यासेज पठाएको थियो रिप्लाई कुनै थिएन। उसको अन्तिम म्यासेज थियो करिब २ वर्ष अगाडीको , त्यही वर्षालाई सम्बोधन गरेर लेखिएको।

डियर वर्षा !
तिमी टाढा भए पछि खै किन तिम्रो छायाले मलाई पछाई रहेको छ । जब घडीको सुई टक टक गर्दै हिड्छ अनि मनले भन्छ यति बेला ऊ र म कुरा गरी रहेका हुन्थियौ । तर आज यो शून्यतामा म एक्लै आफ्नै मनसंग बोलिरहेको छु। जब आफैसँग बोल्छु ती अतितिका सम्झानाहरु आँसु बनेर झरी दिन्छन् ।

तिमीलाई थाहा छ , जब दराज खोल्छु तिमीले किनी दिएका टि-शर्टहरुले मलाई हेरिरहेका हुन्छन् , तिम्रो आकृति बनेर। जब म किचनमा पस्छु तिमीले पकाएर चम्चामा निकाल्दै ” चाख त मिठो भएको छ नै ?” भन्ने वाक्य मेरो कानमा गुञ्जिनछ। जब टेबलमा बसेर खाना सुरु गर्छु तिमीले लौ खाउ भन्दै बच्चालाई खुवाई दिए जस्तै तिम्रा हात म तिर लम्काएको भ्रम हुन्छ।

तिमी म बाट टाढा गएकी छौ तर स्मृतिहरु मनमा झन् पछि झन् गाडा बन्दै छन्। वर्षा! तिमीलाई थाहा छ , मेरा हरेक कुरा तिमीसँग जोडिएका रहेछन्, बिहानै उठेर तिमीले गराउने खाजा देखि बेलुका सुत्नेबेलाको तिम्रो त्यो चुम्बन र स्पर्श आज मैले खोजिरहेको छु।

तिमी जब नजिक थियौ , सायद यी कुराहरूले कहिले पनि मैले महत्त्व दिएन। जब तिमीले दुरी कोर्यौ म तिमी प्रति कति आश्रित रहेछु थाहा पाउदै छु। तिमीले म बाट के नै मागेकी थियौ र ? मेरो समय अनि मेरो उपस्थिति। तर मैले समय र मेरो उपस्थितिको मूल्य समयमा बुझ्न सकिन।

तिमीले सोध्थियौ नि वर्षा ” केटाहरू सुरुमा हरुकै हुने तर समयसंगै किन परिवर्तन हुँदै जान्छन रियाज ?” भनेर । यो प्रश्नको तिमीले सोध्दा म झर्किएको थिए त्यति बेला तर आज थाहा पाए कति गहिराई रहेछ त्यो प्रश्नमा।

तिमीले त्यही रियाज खोजेकी थियौ जुन बेला हाम्रो प्रेमको टुसा पलाउदै थियो , त्यो बेला घन्टौ तिमीले म बाट पाउने समय त थियो तर वर्षा मेरै त हो नि भनेर बेवास्ता गर्दै आए ।

हरेक दिन सामान्य लाग्ने प्रश्नहरुले आज भोलि त्यही प्रकारका प्रश्न सुन्दा सियोले मनमा घोचे जस्तो हुन्छ। वर्षा! केही दिन अगाडी पार्टीमा समीर भेटिएको थियो , सुरु मै सोध्यो ” भाउजू खै त ?

” मैले यी यस्तै कयौ प्रश्नको जवाफ कसरी दिनु । कसरी भनू तिमी म देखि टाढा भएकी छौ। हाम्रो विवाह नभए नि तिमीलाई भाउजू भन्ने मेरा साथीहरू , तिमीलाई बुहारी भन्ने मेरा आफन्तहरूलाई हरेक दिन दिनु पर्ने जवाफले मलाई कतै टाढा कसैले नचिन्ने ठाउँमा बसाई सार्नु मन छ। एक मनले फेरी सोचे , बसाई सारे पनि यो दिमागले जहाँ गए पनि तिमीलाई भुल्न सक्दैन।

जब बेड भित्र छिर्चु , तिम्रा ती चिसा खुट्टाको स्पर्श नपाए पनि तिमी सँगै बसेर हेर्ने ती कार्यक्रमहरू एक्लै हेर्ने गर्छु।जब बाईक स्टार्ट गरेर कतै हिड्न सुरु गर्छु , तिमीले दिने त्यो चुम्मन खोजी रहन्छु।

आज भोलि म एक्लो यात्री भएको छु , हरेक दिन अतितिमा यात्रा गरिरहेको हुन्छु। मलाई थाहा छ , जब अतितिमा फर्किन्छु मलाई पिडा हुन्छ तर मन त्यतै दौडीरहन्छ।

जब मैले तिमीलाई पहिलो चोटि रेडियो सगरमाथा अगाडी कार्यक्रम चलाउन जाँदा भेटेको दिन देखि हरेक कुराहरू गाडीको चक्का जस्तै मेरो दिमागमा घुमीरहेका छन्। हाम्रो दोर्सो भेटमा तिमीले बानेश्वर चोकमा बाटो काट्न नसकेर मैले पहिलो चोटि तिम्रो हातको स्पर्श गरेको थिए।

समयसंगै तिमीले मनसंगै मेरो कोठामा पनि राज गर्न थाल्यौ। सबै कुरा गर्ने म अल्छि भएको थिए , मलाई घरको कुनै पनि कुरा कहाँ छ तिमीलाई सोध्नु पर्ने बानी भई सकेको थियो। मेरा कपडाहरू कहाँ छन् मलाई नै थाहा हुन छोडेको थियो । घरमा के सकिएको छ मलाई कुनै पनि मतलब हुन्थिएन। अहिले पनि तिमीले सझाएर राखेका हरेक सामग्रीहरू त्यही छन् ।

आज भोलि सबै कोलाहल लाग्छ यो वातावरण , कतै बाट मलाई थिचीरहेको जस्तो । मन दबिएको छ , न त मेरा भावना सुनाउने नै यहाँ कोही छ। सबैको अगाडी चिचाई चिचाई रोईदिउ जस्तो लाग्छ तर मलाई समाजले लोग्ने मान्छे भएर रुन्नु हुन्न भनेर विभेद गरेको छ।

फ्लाविया विडेनले भनेका थिए “‘मानिस आउँछन् र मानिस जान्छन्। तर केही यस्ता पनि आउँछन्, जसले हाम्रो हृदयमा यस्तो छाप छोडछन् – त्यसपछि हामी पहिलाझैँ हुनै सक्दैनौँ’ आज मलाई त्यस्तै भएको छ ।

वर्षा तिमीलाई मेरो सम्झना आउछन नै होला ? मनले बेला बेला प्रश्न गर्छ। अनि आफै उत्तर दिन्छु ” यहाँ बिर्सी जानेलाई होइन सम्झनेलाई पो पिडा हुन्छ त।

” तिम्रो लागि यसरी नै हरेक रात पत्रहरु लेखर जम्मा गर्दैमा तिम्र यादहरू मेटिने भए म सधैँ अनिदो बसीदिने थिए। तर कहाँ सजिलो रहेछ र आफूले माया गरेको मान्छेसंगका ती स्वर्णिमपलहरु मेट्न।

तिमी बिनाका यी अपुरा अधुरा दिनहरूमा तिमीलाई कयौ चोटि भाईबरमा म्यासेज पठाउने गर्छु , बिहान गुर्ड मर्निङ्ग डारलिङ्ग , दिउसो के गर्दै छेउ खान खायौ ? बेलुका सुत्नु अगाडी गुड नाईट म्यासेजहरु पठाएको हुन्छु ।

मलाई थाहा छ , ती म्यासेजहरु तिमीसम्म आई पुग्दैन किन कि म तिम्रो मन बाट मात्र होइन सामाजिक सञ्जाल र सम्पर्क माध्यमहरु बाट नि ब्लक भएको छु तै पनि मनको आगो भुलाउनु हरेक दिन म्यासेज पठाउने गर्छु ।

त्यति मात्र होइन हरेक दिन फोन पनि गर्छु , तिम्रो फोन उठछ भनेर होइन , तिमीले राखेको भोइस कल सुन्न । अनि भन्छु ब्लक नै गरे नि फोनले भोइस कल सुन्ने मौका चाही दिएको हो।

वर्षा मान्छेहरूले हाम्रो सम्बधनलाई असफल भनेर परिभाषित गर्छन् होला तर मेरो लागी कति दिन सँगै भयौ भन्दा सँगै हुँदा हामी एक अर्का प्रति कति समर्पित थियौ

त्यसैले मापन गर्छ त्यसैले आज म भन्न सक्छु,हामी सफल प्रेमी हौ र मेरो तर्फ़ देखि चुपचाप अनवरत यो प्रेम तिम्रो लागि समर्पित हुनेछ। सधैँ खुसी हुनु वर्षा तिम्रो अनुहारमा त्यो हासो एकदमै सुहाउछ ।

उही ,
तिम्रो रियाज

यो पत्र पढे पछि म ढुक्क भए । ऊ रियाज कि पूर्व प्रेमिका हो । रियाज नेपाल आउनु अगाडी मैले उसलाई सोधेको थिए ” तिम्रो कुनै अतीत छ ?” उसले मजाक गर्दै मेरो कुरा उडाउदै भनेको थियो ” अ! थियो यार अतीत भन्ने साथी , कहाँ गयो थाहा छैन , खोज्नु पर्ला जस्तो छ।”

उसको २ वर्ष अगाडीको म्यासेज पढ्दा रियाज प्रति झन् माया लागेर आयो । आँसु टिलपिल टिलपिल थिए तर पनि आफैलाई समाल्दै आफैसँग भने ” रियाज तिम्रो अतितिलाई मैले बदल्न सक्दिन त्यो पनि तिमी अमेरिका जानु अगाडीको ,

मनमा ईर्ष्या आउने छ र तिमीले मेरो सिउदोमा सिन्दूर लगाउनुको अगाडीको तिम्रो अतीतलाई लिएर मैले हाम्रो सम्बधनलाई कमजोर हुन दिने छैन , वर्षाले गराई दिएको त्यो घाउलाई मेरो प्रेमले पुर्नेछ रियाज “। रियाजको निधारमा चुम्दै सोचे , वर्षालाई म्यासेज गरेर थर्काई दिन्छु , म्यासेज टाइप गर्दै गए।

वर्षा ! प्रेम गर्नु ठुलो कुरा होइन , तिमी उसको पहिले प्रेमिका थियौ भने म अब उसको अन्तिम प्रेमिका हुनेछु , पक्कै पनि तिमीले थाहा पाउनेछौ के गुमायौ भनेर, तिमीले समाल्न नसकेको यो अनमोल उपहारलाई जीवनको अन्तिम सांस सम्म समालेर राख्नेछु ।

उसलाई म भद्रपुरुस गराउने छु जसले अरू केटीलाई देखाएर आफ्नो श्रीमतीलाई ईर्ष्या जगाउने होइन , आफ्नो श्रीमतीलाई देखाएर अरूलाई जलाउने छ।

…. लेख्दै गए मनमा झन् दुबिधा बढ्दै गयो , पठाऊ कि नपठाउ ?। मनलाई कठोर गराउदै भने ” म्यासेज गरेर होइन , सचिक्कै रियाजलाई मैले बदल्ने छु , मेरो प्रेमले उसलाई परिवर्तन गर्नेछ “।

उसको निधारमा चुम्बन दिए र मनलाई अझै बलियो गराउदै उतिर ढल्किए । भोलि बाट उसको त्यो विगतको निकोटिन झिक्ने प्रण गर्दै।