श्रीमतीसँग यसकारण श्रीमानहरु सधैँजसो झूटो बोल्छन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

श्रीमतीसँग यसकारण श्रीमानहरु सधैँजसो झूटो बोल्छन्



कहिले राति अबेर घर आउँदा अफिसमा काम भएको बहाना त कहिले शनिबार पनि मिटिङमा जानु छ भनेर कतिपय श्रीमान्हरू झूटो बोल्छन् । आखिर उनीहरू किन यसो गर्छन्  ?

श्रीमतीलाई प्रभाव पार्न

हरेक पटक पुरुष आफ्नो गल्ती लुकाउन मात्र होइन श्रीमतीमाथि प्रभाव जमाउन पनि झूटो कुरा बोल्छन् । उदाहरणका रूपमा श्रीमतीसँग वाचा गरे पनि सही समयमा घर पुग्न सकिँदैन त्यतिबेला श्रीमती रिसाउनु स्वाभाविक हो । यस्तो अवस्थामा क्षमा माग्नु आफ्नो ठाउँमा छ, तर तिम्रै निम्ति उपहार खोज्ने क्रममा ढिला भएको हो भनेर झूटो बोल्नु वा श्रीमतीको सुन्दरताका सम्बन्धमा झूटो प्रशंसा गर्नु पुरुषहरूको बानी नै हुन्छ । यसबाट श्रीमतीहरू पनि खुसी हुन्छन् ।

श्रीमतीलाई नराम्रो महसुस हुन नदिन

कतिपय पुरुष आवरणबाट आफूलाई रफ एन्ड टफ देखाउँछन् तर मनबाट उनीहरू केयरिङ स्वभावका हुन्छन् । यस्तोमा उनीहरू जब साँचो बोलेर श्रीमतीलाई आहत वा पीडा हुने अवस्थाको आँकलन गर्छन् तब उनीहरू झूठो बोल्छन्, ताकि साँचो कुराले श्रीमतीको मनमा चोट नपुगोस् ।

अहंकारको सन्तुष्टिका लागि

पुरुषहरूलाई आफ्नो इगो हर्ट भएको मन पर्दैन । उनीहरूका लागि इगो सबैभन्दा पहिले आउँछ । त्यसका लागि उनीहरू झूटो बोल्न पनि पछि पर्दैनन् ।

शान्ति कायम राख्न

घरको शान्ति कायम राख्न पनि पुरुषहरू झूटको सहारा लिन्छन् । जस्तै–श्रीमतीको माइतीका बारेमा, उनका साथीभाइका बारेमा, सासू–ससुराले तिनका बारेमा भनेका सत्य कुरा भन्दा घरमा महाभारत मच्चिन सक्छ । अतस् पुरुषहरू यस्ता कुरा लुकाएर वा कुरा बनाएर घरको शान्ति कायम राख्ने प्रयास गर्छन् ।

हरेक कुरा बताउन जरुरी छैन

कतिपय पुरुष यस्ता पनि हुन्छन् जो हरेक कुरा श्रीमतीलाई बताउन जरुरी मान्दैनन् । कहिले आर्थिक अवस्था त कहिले नोकरीका बारेमा श्रीमतीले जानकारी माग्दा उनीहरू सत्य लुकाउँछन् वा आधा सत्य मात्र जाहेर गर्छन् । कारण उनीहरूलाई लाग्छ कि यी कुरा श्रीमतीले थाहा पाउन जरुरी छैन । श्रीमतीले कुराको मर्म बुझ्दैनन् भनेर पनि उनीहरू त्यसलाई लुकाउँछन् ।

श्रीमतीमाथि अविश्वास हुँदा

महिलाको पेटमा कुरा अट्दैन अर्थात् उनीहरू रहस्य लुकाउन सक्दैनन् भन्ने सोचेर लुकाउनुपर्ने कुरा वा रहस्यलाई पुरुषहरू महिलाका अगाडि भन्दैनन् । यसबाहेक पुरुषहरू आफ्नो अतीत अनि नराम्रो बानीका बारेमा पनि झूट बोल्छन् । यी कुराले श्रीमतीमा नकारात्मक असर गर्नुका साथै आफ्नो दाम्पत्य जीवनमै समस्या उत्पन्न हुने सम्भावना उनीहरू महसुस गर्छन् । तसर्थ गलत हुँदाहुँदै पनि पुरुषहरू यस्ता कुरामा झूटो बोल्छन् ।