शृङ्गार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शृङ्गार



सुमिना ‘अभिलाषी’

जब बज्छ्न् एकसाथ
छिन् .. छिन् ..छिन् ..
चुराहरूको चर्का आवाज
तिम्रा नाडीहरूबाट
सायद तिमीलाई पनि हुँदो हो आभास परिबन्धको ।

प्रत्येक पाइला – पाइलाबाट जब सुनिन्छ
पाउजुहरूको चर्को झङ्कार
बोध गराउँदा हुन् सीमारेखाहरूको
कदम – कदमहरूले ।

शिरको सिन्दूर !
जो लगाएकी छौ तिमीले पतिको दिर्घायुको निम्ति ।
साउन महिना सँगै
लगायौ होला हत्केलाहरूमा रातो मेहेन्दी
र मेहेन्दीको गाढा पन सँगै
देख्यौ होला पतिको अगाघ प्रेम ।

भन !
कुन चैँ गहना र कुन चैँ शृङ्गार गर्‍यौ तिमीले
सिर्फ आफ्नो खातिर ?
आफ्नै शरीरका स्वतन्त्र अङ्गहरूलाई बन्धक बनाएर
जसमा पुरुषको कुनै भलाइ नमिसाइएको होस् ।

ए नारी !
अब अज्ञात नबन
खोल चेतनाको आँखा
र नियाल पितृसत्तात्मक समाजको मनोविज्ञान
जसले तिमी सोह्र शृङ्गारमा सजिँदा
सुन्दर र सुबाउकी भनेर प्रशंसा गरेको छ ।

जसले तिम्रो लज्जालाई गहना बनाएर
आभूषण भनेको छ ।

जसले गलत परम्परालाई
तिम्रो मर्यादा भनेको छ ।

सोँच एक पटक गहिरो सँग
अनि मुक्त गर आफूलाई
मानसिक दासताबाट ।

परित्याग गर
त्यस्ता आभूषणहरूको मोह
जसले तिम्रो
स्वतन्त्रता हनन मात्र गरेको छैन
भारी बनाएको छ
तिम्रो फुर्तिलो शरीरको वजन ।

त्यागिदेउ शृङ्गार र उन्मुक्त गर
आफू सँगै आफ्ना शरीरका
एक- एक बन्धक अङ्गहरू ।