सीमांकन हेरफेरको प्रस्ताव सकारात्मक छ : विपक्षी ‘नेता’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सीमांकन हेरफेरको प्रस्ताव सकारात्मक छ : विपक्षी ‘नेता’



हिमाल पोष्ट / २४ मंसिर, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुले शुक्रबार पनि संसद बैठक अवरुद्ध पारे । तर, आज यसक्रममा व्यवस्थापिका संसदमा अरु दिनभन्दा केही फरक दृश्य देख्न पाइयो ।

सरकारले हालै संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै एमालेसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । र, उनीहरुको सबैभन्दा धेरै विरोध ५ नम्बर प्रदेशको सीमांकन हेरफेरमा छ ।

तर, शुक्रबार संसद अवरुद्ध गर्नुअघि विपक्षी दलहरुको तर्फबाट बोलेका सांसदले नै सीमांकन हेरफेर प्रस्तावलाई सकारात्मक भनेर समर्थन जनाए छन् । संसदको बैठक सुरु हुनासाथ विपक्षीको तर्फबाट समय दिएर राष्ट्रिय जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले बोलेका थिए ।

उनले भने, संशोधनमा अलिकति मगरात प्रदेशमा सीमांकन केही हेरफेर भएको छ । मगरातको हिजो क्लस्टर मिलेको थिएन । अहिले ४ र ५ को क्लस्टर मिलाएर ४ नम्बर क्षेत्रमा राख्ने भन्ने संशोधन आएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

तर, अन्य विषय मुलुकको हितमा नभएको भन्दै उनले विधेयक फिर्ता लिन माग गरे । सांसद शिवलाल थापाले भने, सीमांकनको कुरामा केही सकारात्मक देखिए पनि नागरिकताको कुरा आएको छ । त्यसमा कुन उद्देश्यका साथ आएको छ भने अंगीकृतलाई उच्च तहका कार्यकारी प्रमुखसम्म पुर्‍याउने प्रस्तावको रुपमा देखिन्छ ।’

यो कसको प्रस्तावमा आएको छ भन्ने सबैलाई थाहा रहेको भने पनि उनले त्यो खुलाएनन् । भाषासम्वन्धी संशोधनको विरोध गर्ने क्रममा उनले आदिवासी जनजातिले बोल्ने भाषालाई नमान्ने तर, हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन खोजेको आरोप लगाए ।

उनले बोले लगतै विपक्षी दलका सांसदहरुले उठेर विरोध गरे । सभामुखले पटक-पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरु नबसेपछि संसद बैठक ३० गतेसम्मका लागि स्थगित भएको छ ।