सिन्धुपाल्चोकलाई शोकमा डुबाउने एउटा बिहानीको कथा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सिन्धुपाल्चोकलाई शोकमा डुबाउने एउटा बिहानीको कथा



सिन्धुपाल्चोक । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो ।

सिन्धुपाल्चोकको लिदी गाउँमा शुक्रबार बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ ।

जुगल गाउँपालिका–२ लिदीमा पहिरो जाँदा ३६ घरमा क्षति पुगेको र ३८ जना पुरिएका थिए । त्यसमध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ भने २७ जना बेपत्ता छन् ।

पहिलेनै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् । जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते भारी वर्षा भएको थियो । त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो । त्यस दिनदेखि नै स्थानीयवासी रातको समयमा घर बस्न छाडेका थिए ।

उनीहरु कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए । झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए । निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमिनमा असर परेको स्थानीयवासीको अनुमान छ । त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए । समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन् ।

“जोखिम पहिचान भएपछि गाउँले राति घरमा सुत्थेनन् । पहिरो खस्छ भन्ने डर थियो, रातभर त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए,” गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने, “शुक्रबार बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासी खसेको पहिरोमा परे ।” रातभरि भारी वर्षा भएको थियो ।

त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए । राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन । बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताए । पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उनले बताए ।

गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए । – रासस