सिटौला र निधिबीच नयाँ तालमेलको तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिटौला र निधिबीच नयाँ तालमेलको तयारी



हिमाल पोष्ट / काठमाडौं । मुलुकमा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यसको तयारीमा विभिन्न राजनीतिक दलहरु व्यस्त रहेका छन् । स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन र आफ्नो पार्टी भित्रपनि आफ्नो पक्षलाई सशक्त बनाउनको लागि विभिन्न पार्टीभित्र उच्च तहको गठबन्धनको तयारीहरु देखिन थालेका छन् ।

काठमाडौंको राजनीतिमा महत्वपूर्ण पकड रहेको बताईने पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहले काठमाडौं जिल्लाका पार्टी सभापति र काठमाडौंका क्षेत्रीय सभापतिहरु समेतलाई बोलाएर केही दिन अघि बैठक गरेका थिए । सोही बैठक लगत्तै केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि निकटहरुले नयाँ गठबन्धनको तयारी सुरु गरेका छन् । यसको संकेत बुधबार काठमाडौको हार्दिक होटलमा देखिएको छ ।

पार्टी सभापति शेर बहादुर देउवासँग निकट रहेका निधिको काठमाडौ केन्द्रीत भएर सिटौला समूहसँग गठबन्धनको तयारी हुनुलार्इ विशेष रुपमा हेरिएको छ । बुधबार काठमाडौंको हार्दिक होटलमा आयोजना भएको पेशागत बुद्धिजीवी एवं कार्यकर्ताहरुको भेलालाई विमलेन्द्र निधि समेत सम्बोधन गरेको काठमाडौ काँग्रेसका स्थानीय नेता सुसन बैद्यले जानकारी थिए ।

यसरी भेलामा निधिको समेत सम्बोधनले पनि सिटौला र निधि समूहका नेता कार्यकर्ताहरुबीचको सामिप्यतालाई पुष्टि गरेको छ । सोही भेलालाई काँग्रेस केन्द्रीय सदस्य गगन थापा र काँग्रेस नेता भीमसेनदास प्रधानले संबोधन गरेका थिए ।

यसरी काठमाडौंको राजनीतिमा प्रकाशमान सिंहको विपक्षमा रहेको सिटौला समूह र विमलेन्द्र निधि निकटहरुबीच गठबन्धन जोडिँदा काठमाडौंको राजनीतिमा यसको प्रभावकारिता आँकलन गर्न थालिएको छ । यो गठबन्धनको तयारीले मूर्त रुपलिएमा नयाँ समूहले काठमाडौं काँग्रेसको राजनीतिलाई नै थप चलायमान बनाईदिने विश्लेषण गर्न थालिएको छ । यसको प्रभाव देशव्यापी रुपमा पर्न सक्ने आकलन पनि गरिएको छ ।

यो गठबन्धनले काँग्रेस काठमाडौंको राजनीतिमा कत्तिको जरो गाढ्न सक्छ त्यो त स्थानीय तहको निर्वाचनको लागि टिकट वितरणमा स्पष्ट देखिने नै छ । यद्यपि स्थानीय निर्वाचनको टिकट वितरणको क्रममा क्षेत्र तथा जिल्लामा पराजीत भएका र नेतृत्वका प्रत्यासीहरुलाई समेत चित्त बुझाउनु पर्ने व्यवस्थाका कारण आफूहरुलाई थप सहयोग मिलेको दाबी नयाँ समूहको छ ।