स्ववियु चुनाव फागुन १४ मै गर्न तीन दल सहमत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्ववियु चुनाव फागुन १४ मै गर्न तीन दल सहमत



काठमाडौँ, फागुन ४

फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो ।

छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

“स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासँग सहयोग माग गर्नुभएको थियो । रासस