आजदेखि देशभर लगातार वर्षा हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आजदेखि देशभर लगातार वर्षा हुने



काठमाडौं । मौसम विज्ञान विभागले आज सोमबार रातिदेखि बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

पश्चिम नेपालबाट सुरु भएर देशैभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो । नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।