सोमपाल बने विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सोमपाल बने विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी



एजेन्सी – ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । यससँगै सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आइतबार सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । सोमपालले पहिलो रोजाइमा खेल्न भने पाएनन् । हक्स च्याम्पियन बन्न सुपर ओभरमा १० रनको लक्ष्य ४ बलमा पुरा गर्यो । आन्द्रे रसेललाई क्रिस लीनने तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित पक्का गरे ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नाइट्सले ९ रन जोडेको थियो । पहिलो बलमै आन्द्रे रसेलले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुले । चौथो बलमा रसेल क्याच आउट भए । पाँचौ बलमा सोएब मलिकले १ रन जोड्दा अन्तिम बलमा रस्सि भान डर दुसेन क्याच आउट हुन पुग्दा नाइट्सले सुपर ओभरमा ९ रन मात्रै जोडेको थियो ।

त्यसअघि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

कप्तान रायाद इम्रित
अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले २ छक्का सहित १६ रन जोडेपछि खेलको नतिजा सुपर ओभरमा पुगेको हो । नाइट्सका लागि कप्तान सोएब मलिकले ३६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए ।

त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौका सहित ४६ रन अविजित रहे । रस्सि भान डर दुसेन २३, ड्यानियल सम्श २१ र शाख बीन जफार २७ रनमा आउट भए । हक्सका लागि कप्तान रायद इम्रिट र पल भान मेर्करेनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९२ रन जोडेको थियो । यूएईका शैमन अनवारले ४५ बलमा ८ चौका र ७ छक्का सहित ९० रनको उत्कृष्ट इनिङ खेले । क्रिस लिन २१ बलमा ४ चौका र ३ छक्का सहित ३७,जेपी ड्युमिनी ३३ र हमजा तारिकले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अली खान र रयान पठानको नाममा समान २ विकेट रह्यो ।