‘फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो रहेछन्’ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो रहेछन्’



एजेन्सी- बलिउड अभिनेता सोनू सूद केही दिनयता लकडाउनका कारण विभिन्न स्थानमा फसेका मजदुरलाई घरसम्म पुर्‍याउन मद्दत गरिरहेका छन्। उनले मजदुरका लागि यातायातका साथै खानपिनको समेत बन्दोबस्त गरिदिन्छन्।

यसका लागि सोनूले खुब तारिफ पाइरहेका छन्। ट्विटरमा #SonuSood ट्रेन्डिङमा छ। ‘लकडाउन हिरो’ भन्दै मानिसहरु उनको प्रशंसा गरिरहेका छन्।

लकडाउनका कारण भारतका थुप्रै राज्यमा लाखौं मजदुर फसेका छन्। यातायात बन्द भएपछि कैयौं मजदुर हिँडेरै घर पुगेका समाचार सार्वजनिक भएका थिए। यस्तो संकटमा सोनू सूद मजदुरका लागि हरसम्भव प्रयास गरिरहेका छन्।

उनले प्रदेश सरकारसँग अनुमति लिएर प्रवासी मजदुरलाई घरसम्म पुग्नको लागि बसको व्यवस्था गरिरहेका छन्। यसअघि उनले कर्णाटक राज्यमा पनि यस्तो व्यवस्था गरेका थिए।

‘मजदुरहरु कैयौं किलोमिटर हिँडेर आफ्नो घर गइरहेको देख्दा बहुत दुःख लाग्छ। म त्यतिबेलासम्म सहयोग जारी राख्छु, जतिबेला सबै मजदुर आफ्नो घर पुगेर परिवारसँग भेट्न पाउँदैनन्,’ एक अन्तर्वार्तामा सोनूले भनेका छन्।

४६ वर्षीय सोनू खासगरी उत्तर प्रदेश, बिहार, झारखण्ड तथा कर्णाटक राज्यका मजदुरलाई उनीहरुको घरसम्म पुर्याउन मद्दत गरिरहेका छन्।

यसअघि उनले पञ्जाबका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई १५ सय थान पीपीई उपलब्ध गराएका थिए। मुम्बईमा रहेको आफ्नो होटलसमेत उनले स्वास्थ्यकर्मीलाई बस्नको लागि उपलब्ध गराएका छन्।

सोनूले रमजानको समयमा भिवन्डी इलाकाका हजारौं गरिब तथा प्रवासी मजदुरलाई खाना खुवाएका थिए। मानिसहरु भनिरहेका छन्, ‘फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो रहेछन्।’ कतिपयले त उनलाई महाराष्ट्रको आगामी मुख्यमन्त्री बनाउनुपर्ने तर्क पनि गरिरहेका छन्।