हिमालपोस्ट समाचार प्रभाव- हप्ता उठाउने पत्रकारको जागिर चैट, कारबाही नगर्न माओवादी नेताको दवाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हिमालपोस्ट समाचार प्रभाव- हप्ता उठाउने पत्रकारको जागिर चैट, कारबाही नगर्न माओवादी नेताको दवाव



काठमाडौं- सर्लाहीमा आफूलाई ‘सशस्त्र प्रहरीको डीआईजीको बोर्डीगार्ड’ भन्दै हप्ता उठाउने राससका पत्रकारमाथि कारबाही भएको छ । स्थायी घर सिन्धुली भई सर्लाहीमा बस्ने शंकर पहाडी उर्फ (एसपी गौरब) का कर्तुतबारे हिमालपोस्टमा समाचार प्रकाशन भएपछि राससले उनलाई तत्कालको लागि निलम्बन गरेको छ भने छानबिन गरी थप कारबाही गर्ने भएको छ ।

हिमालपोस्टलाई प्राप्त भएका प्रमाणका आधारमा उनले पत्रकारको आडमा गरेका कर्तुतबारे समाचार प्रकाशन भएपछि उनीमाथि कारबाही गरिएको हो । पत्रकारिताको आडमा समाजमा आतंक सिर्जना गर्ने आफूलाई कथित पत्रकार बताउने पहाडीले विभिन्न व्यक्तिसँग गरेका बार्गेनिङ, धम्की र पैसा मागेका थप प्रमाणहरू हिमालपोस्टलाई प्राप्त भैरहेका छन् ।

राष्ट्रिय समाचार समितिका मधेश प्रदेश हेर्ने राजु विश्वकर्माका अनुसार उनलाई तत्काल काम नगर्न आदेश दिईएको बताए । रासस केन्द्रीय कार्यालय स्रोतका अनुसार उनीमाथि अहिले छानबिन भैरहेको छ । छानबिनको प्रक्रिया पुरा गरेर पहाडीलाई हटाउने तयारी छ । तर माओवादीका कतिपय नेताहरूले उनलाई जागिरबाट ननिकाल्न भन्दै दवाव दिइरहेका छन् ।

उनले काम गर्ने सगरमाथा टेलिभिजनले पनि तत्कालका लागि उनलाई निलम्बनमा राखेको छ । उनले पठाएका समाचार सम्प्रेषण गर्न रोक लगाइएको छ । यस्तै उनी आवद्ध रहेको माओवादी निकट प्रेस संगठन प्रेस सेन्टरले समेत उनीमाथि छानबिन गरिरहेको छ ।

तर,प्रहरीकै नाम दुरुपयोग गरेर धन्दा गरिरहेको सार्वजनिक हुँदा पनि स्थानीय प्रशासनले भने उनीमाथि कारबाही गर्न आनाकानी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई कारबाही नगर्न केहि नगरपालिकाका मेयर र स्थानीय माओवादीका नेताहरूले दवाव दिएका छन् । नेताहरूले आफ्नो सहयोगी भएको भन्दै कारबाही नगर्न दवाव दिएका हुन् ।

पत्रकारिताको आडमा उनले लामो समयदेखि चलाउँदै आएको धन्दाबारे हामीले खुलासा गरेपछि उनको धन्दा अहिले चौपट भएको छ । समाचार सम्प्रेषण भएपछि उनले कर्मकाण्डी र हाँस्यास्पद खण्डन पठाएका थिए ।

पहाडीले सर्लाहीमा पत्रकारिताको आडमा व्यापारी, प्रहरी, शिक्षक र उद्योगीलाई विभिन्न बहानामा पैसा मागेर हैरान पर्ने गरेका थिए । रासस, प्रहरी, पत्रकार र प्रेस संगठनको नाम दुरुपयोग गरेर उनले आतंक सिर्जना गरेको सुचना र प्रमाणको आधारमा हामीले दुई शृंखलामा समाचार प्रकाशन गरेका थियौँ । 

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा लगायतका नेताहरूले पहाडीको संरक्षण गरिरहेको खुलेको छ । स्थानीय प्रशासनले पनि उनीहरूकै डरले पहाडी कारबाही गर्न डराएको बताइएको छ ।  

मेयर थापाले गरेका गुन्डागर्दी र अनियमितताका विषयमा हिमालपोस्टले निरन्तर खुलासा गर्दै आइरहेको छ । हिमालपोस्टकै समाचारका कारण लेखा समिति र अख्तियार मिलाउन नसकेका मेयर थापाबारे थप फलोअप भैरहेको छ ।  

सम्बन्धित थप समाचार-

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण

प्रहरी, रासस र प्रेस सेन्टरको नाममा ठगी धन्दा: मुख देखाउन लाज भएपछि हाँस्यास्पद खण्डन