नेपालमा आध्यात्मिक पर्यटन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालमा आध्यात्मिक पर्यटन



डा. गोबिन्द शरण उपाध्याय

नेपाल शाक्त, शैव, वैष्णव, जैन, बौद्ध, बोन्पो र किराँतीहरूको साझा तीर्थस्थल हो । नेपालका शक्तिपीठहरू, कोटहरू विश्वभरिका शाक्तहरूका तीर्थस्थल हुन् भने पशुपतिनाथसहित गौरीशङ्कर हिमाल शैवहरूका तीर्थस्थल हुन् । मुक्तिनाथ, जनकपुर, वाल्मीकि धाम, काठमाडौँका नारायण मन्दिरहरू विश्वभरिका वैष्णवहरूका लागि अति आराध्य तीर्थस्थलहरू हुन् । यसैगरी जैनहरूका लागि मुक्तिनाथ, पुलहक्षेत्र, जनकपुर पवित्र तीर्थस्थल हुन्, विश्वका हरेक जैन आफ्नो जीवनमा एक पटक यहाँ आउन चाहन्छन् ।

बौद्धहरूका लागि नेपाल ठुलो तीर्थस्थल अरू काहीँ छैन । माथिल्लो डोल्पा, मुस्ताङका केही प्राचीन बोन्पो गुम्बाहरूले विश्वभरिका नृशास्त्री तथा बोन्पोहरूका लागि खोज तथा आराधनाका केन्द्र हुन् भने नयाँ विकसित हुँदैगरेको किराँती धार्मिक समूहहरूको आध्यात्मिक क्षेत्र नेपाल नै रहेको छ । यस बाहेक काठमान्डौको नयाँ बजार स्थित प्राचीन नानक मठ विश्वभरिका शिखहरूका लागि पवित्र तीर्थस्थल बन्न सक्छ किनभने मानसरोवरको यात्रामा जाँदा गुरु नानक देवले यहाँ तीन दिन निवास गरेका थिए ।

हामीले उपरोक्त धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्त्वका केन्द्रहरूको महत्त्व बुझेका छौँ । यी सबै आध्यात्मिक स्थलहरूको समुचित विकास तथा प्रवर्धन लागि सहकार्यमा अग्रसरता लिन प्रेरित गर्नु र सहभागिता सुनिश्चित गर्नु हाम्रो उद्देश्य हो जुन सबैको उद्देश्य हुनुपर्छ ।

नेपाल सरकारले धार्मिक पर्यटनमा आधारित अर्थतन्त्रलाई थोरैमात्र ध्यान दिने हो भने न युवाहरूले आफ्नो यौवन विदेशमा बिताउनु पर्छ न विदेशी बैङ्कहरूबाट अनावश्यक ऋणनै लिनुपर्छ । ऋणले ऋणी उत्पादन गर्छ भने धनले धन नै उत्पादन गर्छ । यत्ति सानो तत्थ्य बुझे पुग्छ ।

विदेशमा बस्ने नेपालीले भारतीयहरू, र विदेशीहरूसँग सहकार्य गर्ने सक्ने यो भन्दा सजिलो विषय केही छैन । NRN हरूमा आफ्नो मातृभूमिप्रति ठुलो माया सम्मान छ भन्ने कुरामा शङ्का छैन तर उपरोक्त काममा सहकार्य गर्ने हो भने NRN महत्त्व र भूमिका अझै फलदायी हुन्छ । हामी सहकार्य गर्न सघाऊँन तयार छौँ । नेपाल सरकारले पनि यसलाई महत्त्व दिएको छ तर सिद्धान्त र वास्तविकता नमिल्दा अलमलिएको छ ।

सरकारले बुझ्नुपर्छ कि विदेशीहरू हाम्रो देशमा ठुला सिमेन्टका घरहरू वा महङ्गा कारहरू हेर्न आउने होइनन् । यी सबै हाम्रा आवश्यकता हुन् तर धार्मिक तथा सांस्कृतिक पर्यटनको अर्थतन्त्र “माउन्टेन-राइडिंग” भन्दा धेरै ठुलो र आस्थासँग जोडिएको छ । हामी सबै नेपाल सवाल र सक्षम बनाउन चाहन्छौँ तर आफ्नै जरोकिलोमा नउभिएसम्म हाम्रो उद्देश्य सफल हुँदैन किनभने हामीले सफलताका सूत्रहरू बुझ्न नै सकेनौँ ।

सत्य स्वीकार गरौँ र अगाडी बढौँ ।