एसपीपीबारे अमेरिकालाई पत्र पठाउन आनाकानी गर्दै सरकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एसपीपीबारे अमेरिकालाई पत्र पठाउन आनाकानी गर्दै सरकार



काठमाडौं- एसपीपी सम्झौतामा नेपाल सहभागी नहुने निर्णय परराष्ट्रले पत्रमार्फत अमेरिकालाई औपचारिक जानकारी दिने भनिए पनि सरकारले भने पत्र पठाउन आनाकानी गरेको पाइएको छ ।

एसपीपीमा सहभागी नहुने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अन्योल भएको बताइरहेका बेला भ्रमणको मिति पनि तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण कहिले हुने भन्ने निश्चित नभएको जानकारी दिएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नियमति पत्रकार सम्मेलनमा भ्रमणबारे अझै स्पष्ट जानकारी नभएको बताइन् । उनले एउटा मितिलाई लिएर कुरा अघि बढेको तर दुवै पक्षबाट सहमति भएपछि मिति तय गरिने जानकारी दिइन् ।

अमेरिकासँग सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालले सम्झौता नगर्ने निर्णय गरेपछि देउवाको भ्रमण पनि रद्द हुन सक्ने आँकलन गरिएको थियो ।

यसैबीच, एसपीपी सम्झौतामा नेपाल सहभागी नहुने निर्णय परराष्ट्रले पत्रमार्फत अमेरिकालाई औपचारिक जानकारी दिने भनिएकोबारे अझै अध्ययन भइरहेको उनले बताइन् ।

“एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरू देखिएको छ । कहाँ, के र कसरी सहयोग आएको हो त्यसको अध्ययन गरेर मात्र पत्र पठाउने छौँ,” प्रवक्ता लम्सालले भनिन् ।

यसअघि नै सरकारले एसपीपी सम्झौता अघि नबढाउने निर्णय गरेको थियो ।