श्रीलंकाका आन्दोलनकारी देख्नासाथ गोली ठोक्न आदेश - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

श्रीलंकाका आन्दोलनकारी देख्नासाथ गोली ठोक्न आदेश



एजेन्सी- श्रीलंकामा सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ ।

श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले राष्ट्रपति गोतावाया राजपाक्षेको राजीनामा मागिरहेका छन् ।

प्रहरी र प्रर्दशनकारीहरूबीच सडकमा हिंसात्मक भिडन्त भएपछि सोमबार उनका दाजु महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीको राजीनामाले पनि स्थितिलाई शान्त पार्न सकेन । रातभरि पनि हिंसा जारी रहेको थियो ।

तसर्थ मंगलबार सरकारले सार्वजनिक सम्पत्ति लुटपाट गर्ने वा कसैको जीवनमा खतरा पु-याउन खोज्ने जोकोहीलाई पनि देख्नासाथ गोली हान्न सेनालाई आदेश दिएको हो ।

यसैबीच राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न सरकारले दसौँं हजारको सङ्ख्यामा स्थल, जल र हवाई सेनाका फौज परिचालन गरेको छ ।

सेनाको उपस्थिति बाबजुद प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शनलाई आवश्यक मात्रामा सुरक्षा प्रदान नगरेको भन्दै सहरका एकजना वरिष्ठ प्रहरी अधिकारीलाई दुव्र्यवहार गरेका छन् ।
समुद्री किनारमा रहेको कोलम्बोको गल्ले फेस ग्रिनमा पनि भिड जम्मा हुने क्रम जारी छ ।

प्रहरीका अनुसार सोमबारयता भिडन्तमा परेर आठ जनाको ज्यान गएको छ । राजधानीको प्रमुख अस्पतालले दुई सय जना भन्दा बढी घाइते भएको जनाएको छ । केही प्रहरीले भिडहरूमा अश्रुग्यास प्रहार गर्दा र केही सरकार समर्थित भिडको आक्रमणमा परेर घाइते हुन पुगेको बताइएको छ ।

प्रदर्शनकारीहरूका पक्षमा काम गरिरहेका वकिलहरूले प्रधानमन्त्रीका समर्थकहरू विरुद्ध मुद्धा दायर गरिने जानकारी दिएका छन् । रातभरि राजनीतिज्ञहरूका पचास वटा भन्दा बढी भवनमा आगो लगाइएको छ ।-बीबीसी