स्वदेशमै रोजगारको अवसर सिर्जना सरकार लागिपरेको छ :उद्योगमन्त्री - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्वदेशमै रोजगारको अवसर सिर्जना सरकार लागिपरेको छ :उद्योगमन्त्री



काठमाडौँ, मङ्सिर २४ गते । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पब्लिक युथ क्याम्पस एकाइ समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उद्योगमन्त्री जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशीएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“उद्योगधन्दाको विकास गरी विदेशिएका युवालाई स्वदेशमा बस्ने वातावरण बनाउन सरकार लागिपरेको छ ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् सांसद रञ्जीत कर्णले सबै दलको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “संविधान संशोधनले तराई पहाड टुक्रिन खोजेको जस्तो देखिएको छ यसलाई चिर्न दलहरुबीच सहमति आवश्यक छ ।”

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले फागुनभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकाले त्यसका लागि नेवि सङ्घ इमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।

सङ्घ पब्लिक युथ क्याम्पसका सभापति सुशील तिमल्सेना, नेवि सङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमाललगायतले संविधान कार्यान्वयनका लागि विद्यार्थीहरुले दबाब दिनुपर्नेमा जोड दिनुभयो । रासस