स्टेज तताउने मञ्जु पौडेलका १० ट्रीक - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

स्टेज तताउने मञ्जु पौडेलका १० ट्रीक



-मञ्जु पौडेल

धेरै मानिसलाई जस्तै तपाईँलाई पनि धेरैको अगाडी बोल्ने रहर होला, त्यो पनि तपाईँ बोल्दा सबैले ताली ठोक्ने गरी, वाह क्या बात भन्ने गरी । उस्तैपरे बोलेर मञ्चबाट झर्दा केही मान्छेले भनुन् कृपया मलाई अटोग्राफ दिनुस् न । हो तपाईँको मात्र होइन, सबैको सपना यस्तो हुन्छ कि म बोल्दा सबै चुप लागुन्, म बोल्दा सबैले ताली ठोकुन् र सबैले वाहवाहि गरुन् ।

वास्तवमा कार्यक्रममा वा भाषणमा तपाईँ बोल्नुभो र त्यो बोलीपछि अरूले प्रशंसा गरे, तपाईँ बोल्दा अरूलाई पनि तपाईँ जस्तै बन्ने इच्छा जाग्यो भने यो एउटा कला बन्छ, हो यही कला नै भाषण र उद्घोषण बन्ने हो । वास्तवमा यो एउटा कला नै हो । सामान्यतया हामी बोल्न त धेरै बोलिरहेका हुन्छौँ, यही बोलीलाई काँटछाँट गर्‍यो भने तपाईँले स्टेज तताउन सक्नुहुन्छ ।

मैले १५ वर्षको दौरानमा नेपालदेखि विदेशका विभिन्न ठाउँमा हजारौँ कार्यक्रमहरू सञ्चालन गरेको अनुभवको आधारमा केही टिप्स तयार पार्दै छु । यहि दौरानमा मैले स्टेज तताएरै स्टेज क्विनको ट्याग पनि पाएकी छु । जुन अनुभव तपाईंको लागि साट्दैछु, यसले तपाईँको बोल्ने कला वा स्टेज कार्यक्रममा मद्दत पुग्ने पक्का छ । कसलाई कति मद्दत पुग्छ भन्ने चाही तपाईँमा पनि भर पर्छ ।

१ आत्मविश्वासले भरिनुहोस् र सहज बन्नुहोस्

उद्घोषण गर्दा वा स्टेज चढ्दा सबैभन्दा पहिला अपनाउनुपर्ने कुरा भनेको आत्मविश्वास हो। जबसम्म हामीले आफूमा आत्मविश्वास भर्दैनौँ तबसम्म हामीलाई परिस्थितिले बाँधिरहेको हुन्छ। यहाँ कस्ता मान्छे आएका होलान् ? मलाई केही भन्ने पो हुन् कि जस्ता सङ्कोचहरूबाट छुटकारा पाउनको लागि आफूलाई आत्मविश्वासले भर्न जरुरी हुन्छ। जबसम्म आफूमा आत्मविश्वास हुँदैन तबसम्म शब्दहरू नफुर्ने, अनकनाउने, पसिना आउने, रातोपिरो हुने, खुट्टा काँप्ने जस्ता समस्या आउनेछन्। यदि यी मध्ये कुनै पनि समस्या भयो भने स्टेज तात्दैन।

अब आयो सहज बन्ने कुरा: स्टेज तताउने विषय कुनै ठुलो कुरा होइन र निकै गाह्रो काम पनि हो । यो त्यस्तो भयङ्कर विषय होइन भन्ने मनस्थिति बनाउनुभयो र आफूलाई सहज बनाउनु भयो भने स्टेज आफै तात्नेछ।

२ शारीरिक हाउभाउ मिलाउने

कहिलेकाहीँ कपालको कुरा गर्दा गोजीमा हात भयो भने कस्तो देखिएला ? गर्मी छ है भनेर देखाउँदा पछाडि हात छ भने कस्तो देखिएला ?

हो, स्टेज प्रवेश गरेपछि शारीरिक हाउभाउ पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। शरिरका अङ्गहरू उचित रूपमा चलाउन नसकेमा प्रस्तुति अस्वाभाविक बन्न जान्छ। त्यसैले शारिरिक हाउभाउ मिलाउनु पनि अत्यावश्यक हुन्छ।

यदि हाउभाउ मिलाउने भनेर सबै ध्यान त्यसैमा दिनुभयो भने फेरी अरू प्रस्तुति र शब्द बिग्रन सक्छ त्यसैले यसलाई पनि ख्याल गर्न जरुरी छ।

३ अनावश्यक नाबोल्नुहोस

अर्को महत्वपूर्ण कुरा के भने तपाईँ कति बोल्ने र कहाँ बोल्ने भन्ने निर्क्योल गर्नोस् र अरूको इच्छा भन्दा बढी बोल्दा तपाईँको घरमा जसरी आमा, बुवा दिदी बहिनीले भन्छन् नि कति प्यार प्यार गरेको भनेर हो यस्तै प्यार प्यार अरुलाई पनि नलागोस भनेर आफ्नो बोलीलाई सान्दर्भिक र सटिक बनाउनु जरुरी हुन्छ ।

कति बोल्ने, कहाँ बोल्ने, कत्ति ठुलो स्वरमा बोल्ने, कसलाई के भनेर बोल्ने, लामो कुरालाई कति छोटो पारेर बोल्ने र किन बोल्ने भन्ने तयारी पहिले नै गर्नुहोस।

प्राय दुई थरीको हाम्रो बानी हुन्छन कित हामी बढी बोल्छौँ कि त चाहिने भन्दा कम बोल्छौँ यी दुवै चिज तपाईँको स्टेज तताउने सपनाका दुस्मन हुन् । सबै भन्दा पहिले यी दुवै चिज हटाउनुहोस् ।

त्यस्तै बोलीको टेम्पो पनि मिलाउन आवस्यक हुन्छ, कुन शब्दलाई चर्को बोल्ने र कुन वाक्यलाई मधुरो बोल्ने भन्ने पनि मुख्य कुरा हुन्छ यसलाई पनि ख्याल गर्नुहोस्।
यो बाहेक बोल्दा ठाडो भाषा र अशिष्ट शब्द प्रयोग नगर्नेहो भने प्रस्तुति वजनदार बन्नेछ।

४ कार्यक्रमको पूर्ण जानकारी

स्टेज तताउनको लागि कार्यक्रमबारे सम्पूर्ण जानकारी लिनु र तयारी गर्नु मुख्य कुरा हो। कार्यक्रमबारेको सम्पूर्ण जानकारी नहुँदा बिचमा अड्किनुपर्ने, अनावश्यक कुरा गर्नुपर्ने हुन्छ, यस्तो हुँदा कार्यक्रम खल्लो हुने सम्भावना हुन्छ। कार्यक्रमको पूर्ण जानकारी नहुँदा प्रस्तुति खल्लो बन्छ। कार्यक्रमले राखेको उद्देश्य प्राप्त नहुन सक्छ।

तयारीबिनाको कार्यक्रमले तपाईँप्रतिको विश्वास घट्ने, होहल्ला हुने आदि समस्या आउन सक्छ। यो बाहेक दर्शकको रुचि अनुसारको प्रस्तुति नबन्ने समस्या पनि कार्यक्रमको जानकारी नहुनाले हुनेगर्छ। त्यसैले जानकारी पुरा गर्नु मुख्य कुरा हुन्छ।

५ कार्यक्रमको तयारी

कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउनको लागि कार्यक्रमको सम्बन्धी पूर्व तयारी गर्नुपर्ने हुनसक्छ।

कुनै कुनै कार्यक्रमको लागि निकै धेरै मेहनत समेत गर्नुपर्ने हुन्छ।

स्टेज तताउने नै हो भने पूर्वतयारी एउटा गतिलो सूत्र हो। यसले कार्यक्रममा कस्ता व्यक्ति हुनेछन्, कति दर्शक हुनेछन्, कुन उमेर समूहका हुनेछन्, कार्यक्रमको प्रकार कस्तो हुनेछ यी सबै तयारीले स्टेज अवश्य तात्नेछ।

६ दर्शकलाई शब्दले बाँध्नुहोस्

स्टेजमा प्रवेश गरेपस्चात सबैभन्दा चुनौतीको विषय भनेको दर्शकलाई बाँध्न सक्नु हो। यदि दर्शक भड्किएका छन् भने समाल्ने एक मात्र उपाय हो कि उनिररूको चाहनाअनुसारको सम्बोधन गर्ने उनीहरूलाई खुसी पार्ने ।

यसरी स्टेज तताउने प्रक्रियामा दर्शकको चाहना अनुसार प्रस्तुति दिन सकिएन भने उनीहरू कार्यक्रम छाडेर पनि हिँड्न सक्छन्। त्यसैले खल्लो हुनसक्छ।

कहिलेकाहीँ कार्यक्रम समयभन्दा लामो पनि बनाउनुपर्ने हुन्छ त्यस्तोमा दर्शक बाँध्नु भनेको सफल प्रस्तोता बन्नु हो।

७ मिठास भर्नुहोस्

स्टेज चढेपश्चात् बोल्ने र कार्यक्रमको जानकारीले मात्र पुग्दैन यसकालागि कार्यक्रम अनुसारका सामग्रीहरूको जरुरी हुन्छ । जस्तै कुनै साङ्गीतिक कार्यक्रममा गीत गाउनुपर्ने हुनसक्छ, क्यारिकेचर गर्नुपर्ने हुनसक्छ, साहित्यिक कार्यक्रममा गजल कविता जस्ता साहित्यिक सामाग्री दिनुपर्ने हुन्छ, यसले कार्यक्रमको मिठास मात्रै भर्दैन यसले स्टेज पनि तात्छ।

त्यसैले कार्यक्रम अनुसारको सामाग्रीहरू पस्केर मिठास भर्नुपर्ने तपाईंको दायित्त्व हुन्छ ।

८ ड्रेसअप

स्टेज त्यसै तात्दैन त्यो तात्नको लागि धेरै चिजको आवश्यकता पर्छ यस्तै कार्यक्रमको प्रकृति अनुसारको र मौसम अनुसारको पहिरनको पनि केही भूमिका हुन्छ। कुनै कार्यक्रममा जिन्स र टी-सर्ट वा कुर्ता सलवार मात्रले पनि पुग्न सक्छ भने कुनैमा सुट पेन्ट वा सारी ब्लाउज लगाउनुपर्ने हुनसक्छ।

अहिले त पहिरनका भेराइटी र डिजाइनरहरू पनि प्रशस्त भएकोले कार्यक्रम अनुसारको डिजाइन पनि गर्न सकिन्छ।

९ एउटा कार्यक्रमको कुरा अर्कोमा नदोहोर्याउनुहोस्

खासमा अहिलेको समयमा एक ठाउँ बोलेको वा प्रयोग गरेको कुरा अर्को ठाउँमा पनि दुरुस्तै गर्नु हुँदैन। अहिलेको समयमा तपाईँले बोलेको कुरा भिडियो, अडियो, ट्रोल वा अन्य रूपमा टिक टक, युट्युब देखि सामाजिक सञ्जालमा आइसकेको हुन्छ त्यसलाई दर्शकले सुनेको वा देखेको हुन्छ त्यही कुरा अर्को कार्यक्रममा गर्दा खल्लो महसुस हुन्छ। र स्टेज तताउने तपाईँको सपना चकनाचुर हुन्छ।

१०. अपडेट हुनुहोस्

कार्यक्रमको दौरानमा समाजका हरेक विषयलाई कोट्याउनुपर्ने हुनसक्छ, विविध विषयमा बोल्नुपर्ने हुनसक्छ यसकालागि धेरै कुरामा अपडेट हुनु जरुरी हुन्छ।

एकै कार्यक्रममा सबै उमेर समूहका दर्शक हुने गर्दछन् उनीहरू सबैलाई रिझाउनुपर्ने हुन्छ त्यसैले सबै खालका अध्ययन गरेको हुनुपर्दछ।

सामाजिक सञ्जालमा भाइरल भएका सामाग्रीदेखि समाजमा घटेका घटनाका विषयमा जानकारी हुनेहो भने कार्यक्रम सजिलो हुन्छ।

यी सबै कुरा राम्रोसँग निभाउने कोसिस गर्नेहो भने तपाईँलाई स्टेज तताउनबाट कसैले रोक्न सक्नेछैन।