स्थानीय चुनाव र नेपाली काँग्रेसको भावी अवस्था - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्थानीय चुनाव र नेपाली काँग्रेसको भावी अवस्था



– प्रदिप बेल्बासे / नितेश खनाल

नेपालको राज्य व्यवस्था परिर्वतनको हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको नेपाली काँग्रेस संविधानको अन्तर वस्तुको लेखनको सवालमा आम भावनालाई कतै कतै चोट पुग्ने कार्य तथा निर्णयहरुमा विरोधको सट्टा अन्य पार्टीको ऐजेन्डामा हु–बहु सहमति जनाउन पुगेको परिमाण स्वरूप आम जनता तथा कांग्रेसप्रेमिमा निराशा छायो ।

१४ महाधिवेशन पछि आउने नयाँ नेतृत्वले नयाँ राजनीतिक परिमार्जन सँगै पार्टी भित्रको गुठ उपगुठको अन्त्य गर्ने छ र पार्टीलाई नयाँ लोकतान्त्रिक अभ्यासबाट अगाडि बढाउने छ भन्ने आशा थियो तर आम नागरिक शुभचिन्तकका साथै कांग्रेसजनहरुको बुझाई र पार्टीको कार्यशैलिमा बेमेल देखियो । बदलिदो परिस्थतिमा समय र संदर्भलाई बुझेर पार्टीले उपयुक्त अडान र लचकता अपनाउन नसकेको र कार्य योजना नै फितलो भएको कारण आम कांग्रेसप्रेमि मात्र नभई काँग्रेसमाथि विश्वास गर्ने सर्वसाधारण जनताको मनोभावनामा मार्मिक चोट पुगेको अवस्थालाई नर्कान सकिन्न ।

समयमा पार्टीका भातृ सङ्गठनको अधिवेशन सम्पन्न गर्न नसक्नु अधिवेशनको क्रममा गुठ उपगुठको राजनीतिलाई बढवा दिनु कार्यकर्ताको मुल्याङकन नहुनु, कार्यकर्ताको संरक्षण नहुनु जस्ता गतिविधिले पार्टी आन्तरिक रूपमा कमजोर बन्दै गएको अवस्थामा दुई दशक सम्म नै नेतृत्व बिहिन अवस्थामा रहेको स्थानीय निकायको चुनावले युवा देखि वृद्ध सम्मका कार्यकर्ता र आम जनतामा एक किसिमको आशा सँगै सक्रियता बढाएको छ।

नयाँ सविधान कार्यान्वयनको प्रथम चरणको रूपमा हुन लागेको स्थानीय निर्वाचन देशमा मात्र नभई विदेशी शक्ति तथा दातृ निकायको नजरमा पनि उत्तिकै महत्वको हिसाबले हेरिएको छ । एकातर्फ युरोपेली युनियन एकातर्फ छिमेकी मुलुक भारत, देश भित्रका क्षेत्रीय र जातीय राजनीति गर्ने अतीबादी पार्टी तथा शक्तिहरूको आ–आफ्नै स्वार्थको कारणले तोकिएको समयमा स्थानीय चुनाव हुन्छ भन्ने कुरा किटान गर्न गाहे छ । तर स्थानीय परिवेशलाई गहिरिएर बुझदा तराईका २/४ जिल्ला बाहेक हरेक गाँउ टोल टोलमा चुनावी लहर जागेको पाइन्छ । किनभने सर्वसाधारण नागरिकलाई यो चुनाव कुन पार्टीले जित्छ भन्ने सवालसगँ भन्दा पनि आफूलाई अधिकार सम्पन्न बनाउने स्थानीय कदमको पहिलो प्रक्रियाको रूपमा महसुस गरेको देख्न सकिन्छ । त्यसैले होला बदलिदो देशको संरचनात्मक अवस्थालाई बुझेर स्थानीय चुनावको संन्दर्भमा युवा वृद्ध, महिला, आदिवासी , जनजाति ,दलित, व्यवसायी, उधोगपति, कर्मचारी, विद्यार्थी, विद्धानहरु सबैको सक्रियता बढेको पाइन्छ जसलाई सकरात्मक मान्न सकिन्छ । यसै जनधारणाको बलमा सरकारले समयमा चुनाव गराउन सक्ने आट निकाल्नु पर्ने जरुरी देखिन्छ । यस्तो अवस्था सबै पार्टीहरुमा देख्न सकिन्छ जसले गर्दा असल उम्मेदवार छान्न पार्टीहरूलाई अत्यन्तै कसरत गर्नु पर्ने अवस्था सृजना भएको छ । तर विगतको संविधान सभाको चुनावी परिमाण प्रक्रियाका साथै चुनावमा उम्मेदवार बाट गरिएको खर्चको आंकलनले होला धेरै जसो गाँउ टोल-नगरमा पैसा नहुने कुशल नेतृत्व समेतलाई उम्मेदवारी दिन समेत पार्टी भित्रबाटै हतोत्साहित गरिएको देखिन्छ । राम्रो भन्दा पनि हाम्रो, आफ्नो र जो गुठको नजिकमा छ, कोसगँ पैसा खर्च गर्ने हैसियत छ त्यस्तो व्यक्तिलाई ल्याउँदा चुनाव जित्न सकिन्छ भन्ने आम पार्टीमा संस्कार कै रूपमा विकसित हुँदै गइरहेको देखिन्छ जसले जनताको मत अधिकारको अवमूल्याङकन भइरहेको छ ।

हुन त चुनाव जित्ने विभिन्न पार्टीहरूको आ–आफ्नै रणनीति र व्यवहार हुन सक्ला तर खराब संस्कारलाई वढवा दिनुमा तपाईँ हाम्रो पनि हात छैन भन्न सकिन्न । विभिन्न पार्टीहरूको आ–आफ्नो मूल्य मान्यता, नितिनियम र कार्यशैली होलान् तर नेपाली काँग्रेस जो लोकतन्त्र, समाजवाद ,राष्ट्रिय एकता जनताको सर्बोच्चतालाई मूलमर्म मान्छ यस्तो पार्टीको केन्द्र देखि स्थानीय तहसम्मको नेतृव्वमा अलोकतान्त्रिक र अमर्यादित अभ्यास हुन थालिरहेको आभास भइरहेको पाइन्छ । केन्द्रीय स्तरमा पूर्ण बैठकबाट कुनै पनि कुराको टुङगो लाग्दैन, कोठे राजनीतिक र व्यक्तिगत सम्पर्कको आधारमा आम नागरिकको भावनालाई चोट पुग्ने गरी निणर्य भएनन् भन्न सकिन्न । जसको उदाहरणको रूपमा लिन सकिन्छ, संविधान संशोधनको नाममा ल्याईएको प्रदेश विभाजनको प्रस्ताव, अखिल क्रान्तिकारी माओवादीको २८ वर्षे उमेर हदबन्दीको ऐजेन्डा स्वभियु निर्वाचनको क्रममा सर्हस स्वीकार गर्नु लोकतान्त्रिक अभ्यास नभई तानासाही प्रक्रियाका उदाहरणहरू हुन भनी ठोकुवा गर्न सकिन्छ । किनकि जनता र आम भावनामा विपरीत निर्णय गर्न सक्ने अधिकार तानासाही र कम्न्युष्ट परिपार्टीमा मात्र सम्भावना हुन सक्दछ तर नेपाली काँग्रेस जो लोकतन्त्रको पहरेदार पार्टी लोकतन्त्रको मान्यता बाट विचलित हुनुले एकातर्फ आम कांग्रेसी, जुरमुराउदै गरेको युवा नेता, १० वर्ष निस्स्वार्थ विद्यार्थी राजनीतिमा विभिन्न क्याम्पसहरुबाट विद्यार्थी हक हितको लागि लडिरहेको युवा नेता, पार्टी भित्रको गुठ उपगुठलाई अन्त्य गर्ने भावनाबाटप्रेरित भएको आम कांग्रेसी कार्यकर्ता , बुद्धिजीवीका साथै पूर्व नेतृत्वहरुले स्थानीय चुनावको उम्मेदवारीका लागी अग्रसरता देखाउनु स्वभाविकै हो तर परिपार्टी र परिवेशलाई बुझ्न नसकी काँग्रेसको अस्तिव्व सङ्कटमा पर्ने गरी चुनावी हातहतियारको रूपमा प्रयोग हुन सक्ने माओवादी सगँको चुनावी सहकार्यले आम कांग्रेसप्रेमि खिन्नता पनि उत्तिकै देखिन्छ।

नीति, कार्यदिशाको साथै मनोविज्ञान दृष्टिकोणले कुनै पक्षमा मेल हुन नसक्ने दुई धुर्वका यी दुई पार्टाीहरु सरकार चलाउन सहकार्य गरे जस्तो सजिलो चुनावी रणनीति हो भन्नु अराजनितिक अभ्यास र पराजित मानसिकताको उपज हो मात्र भन्न सकिन्छ ।

अर्को तर्फ बाट भन्ने हो भने काँग्रेस एक दुई स्थानमा कोही कसैलाई मेयर, उपमेयर तथा वडा अध्यक्ष बनाउनका लागि सिद्धान्त, नैतिकता र मुल्यमान्यताको जुवा खेल्ने आट गरेको आभास आम कांग्रेसी कार्यकर्ता, नेतृत्वको नयाँ संरचना समाल्हन अग्रसर रहेका बुद्धिजीवी, शैक्षिक युवा तथा स्वबियु चुनावको उमेर हदबन्दीबाट नेतृत्वमा वञ्चित गरिएका विद्यार्थी नेता सबैलाई आभास हुन थालेको छ ।

यसै परिवेशलाई नबुझि वितरण गरिने उम्मेदवारीको टिकटले पार्टीलाई झन् कमजोर मात्र नबनाई विद्रोहको आन्दोलन नेपाली काँग्रेस पार्टी भित्र सृजना हुन्न भन्न सकिन्न यस्तो अवस्थाको जिम्वेवारी कसले लिने ? यो समयमा असल नेतृत्वको छनोटका लागि पार्टी भित्र विगत र वर्तमानको योगदान, कार्य क्षमता र कार्यशैलीको मूल्याङ्कनको आधारलाई किन नपनाउने ? यसै सन्दर्भ कोट्याउदै जादाँ ५. नं. प्रदेशका पहाडी जिल्लाहरू मध्ये अर्घाखाँची जिल्लाको वस्तु स्थितिलाई नजिकबाट नियाल्दा छरलङग हुन आउँछ । जहाँ ४२ गा.वि.स मध्ये नयाँ संरचनात्मक ३ नगरपालिका र ३ गाउँपालिका रहेका छन् । जहाँ पार्टीको गत १४ औँ अधिवेशन देखि सहमतिको नाममा केही गुठ–उपगुठहरु सक्रिय रहेको पाइन्छ । जसमध्ये पार्टी भित्रका केही व्यक्ति लाई जुनसुकै हालतमा मेयर बन्नु छ चाहे जस्तोसुकै तालमेल गर्न किन नपरोस भन्ने पराजित मानसिकता बाट प्रेरित रहेको देखिन्छ । चैत मसान्त सम्म गाउँपालिका तथा नगरपालिका बाट उम्मेदवारीको लागी नाम सिफरिस गरिसक्नु पर्ने तर उक्त कार्यका लागि न कार्यकर्ता भेला गरिएको छ, न आंकांक्षीहरुको भावना बुझिएको छ, नत निस्स्वार्थ काँग्रेस पार्टीको सिपाहीको रूपमा काम गरेका बौद्धिक युवावर्गसगँ सरसल्लाह गरिएको छ, मात्र कोठे प्रक्रियाबाट गाउँ पार्टी सभापतिको नाताबाद र कृपाबादको छत्रछायामा परेका व्यक्ति चाहे जुन पार्टीबाट निजी स्वार्थका लागि प्रवेश गरेको नव कांग्रेसी किन नहोस अन्धरुपमा उसको विकल्प छैन भन्ने भ्रम सृजना गर्दै सिफारिसको लागि सोझा साझा कांग्रेसी कार्यकर्ता तथा आम भोटरमा प्रचार गरिएको घटनाको सङ्केतले पार्टी कता गइरहेको छ, पार्टीको आन्तरिक लोकतन्त्र कहाँ लगेर सेलाउने प्रयास भइरहेको छ भन्ने कुराको पूर्ण अनुमान गर्न सकिन्छ त्यति मात्र होइन १/२ जना मेयरको दावा गर्ने आकांक्षी उम्मेदवारले नेकपा एमालेको खोक्रो राष्ट्रबाद र झुटा आश्वासन देखि डराएर विगत दोस्रो संविधान सभामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसगँ चुनावी सहकार्य नगरी स्थानीय चुनाव जित्न सकिँदैन भन्ने पराजय मानसिकतालाई बोकेर जिल्लाको पार्टी निर्णयबाट नै माओवादी केन्द्रसगँ चुनावी सहकार्यको विषयलाई निर्णय गर्ने तथा गराउने प्रक्रियामा प्रयत्नसिल देखिन्छन् ।

यस प्रकारको व्यवहारले भावी दिनमा काँग्रेसको स्थान कहाँ पुग्ला ? कुनै व्यक्ति जिताउन माओवादी केन्द्रसगँ गरिने सहकार्यले १० वर्षे माओवादी जनयुद्धमा माओवादीबाटै आफन्त गुमाएका सहिद परिवार, कांग्रेसी कार्यकर्ता, अगंभगं भएका घाइते, वैचारिक लडाई लडेका आम कार्यकर्ता तथा बुद्धिजीवीको मनोभावनामा पर्न जाने चोटको जिम्मेवारी को हुने ? काँग्रेस भएकै कारण आफन्त अभिभावक गुमाएका कार्यकर्तासंग कांग्रसले भोट माग्न नैतिक आधार छ ? पार्टीको मूल्य मान्यता विपरीत गर्न आटिएको माओवादी केन्द्र सगँको चुनावी सहकार्यको परिणाम स्वरूप असन्तुष्ट आम काँग्रेस पक्षबाट दर्ता हुन सक्ने स्वतन्त्र उम्मेदवार यस्तो अवस्थामा नेपाली काँग्रेसको होइन भनेर भन्न सक्ने नैतिक आधार नेपाली काँग्रेस पार्टीसगँ हुने कि नहुने ? उम्मेदवारी दर्ता भईसकेपछि कहीँ कतै व्यक्तिगत सहकार्य नहोला भन्न सकिन्न तर नितिगत रूपमा एक दुई जना व्यक्तिलाई मेयर बनाउने उदेश्यले स्थानीय तहमा आफ्ना जुझारु कार्यकर्ता, नेता तथा विद्धान वर्गको भावनामा चोट पुग्ने गरी हाल चर्चा चलाईएको माओवादी केन्द्रसगँको चुनावी सहकार्यको विषयले नेपाली काँग्रेसको नीति र मूल्य मान्यतामा समेत प्रश्न चिन्ह खडा हुनका साथै भविष्यमा पार्टीको स्थान जितेर अगाडी आउनुको सट्टा एउटा शक्तिलाई पराजय गर्ने नाममा अर्को शक्ति स्थापित भई काँग्रेसको अवस्था झन् दर्दनाक हुने सम्भावनालाई नकार्न सकिन्न ।

(लेखक प्रदीप बेल्बासे नेपाली काँग्रेस निकट युवा विश्लेषक हुन् भने नितेश खनाल उप प्राध्यापक हुन )