'स्थिर सरकारका लागि काँग्रेस र एमाले सहकार्य गर्नैपर्छ' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘स्थिर सरकारका लागि काँग्रेस र एमाले सहकार्य गर्नैपर्छ’



नेपाली काँग्रेसका नेता डा. दामोदर भुसालले राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य समेत रहेका भुसालले काँग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताए ।

शनिबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै भुसालले मंसिर ४ को चुनावको जनादेशले कसैलाई बहुमत नदिएकाले लोकतन्त्रका लागि सँगै आन्दोलन गरेका दुई ठुला दलहरू मिलेर संसद्को पूरा कार्यकाल संयुक्त सरकार चलाएर राजनीतिक स्थायित्वको सन्देश दिनुपर्ने तर्क गरे ।

नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४ पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउँदै यस पटक माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू प्रतिपक्षमा बस्नु उपयुक्त हुने औँल्याए ।

यस पटक पनि पाँच वर्ष टिक्ने सरकार दिन नसके मुलुकमा बाह्य शक्तिको चलखेल बढ्ने र राजनीति अपरिपक्व र विदेशीको इशारामा चल्ने शक्तिको हातमा जाने खतरा रहेकाले काँग्रेस र एमालेको नेतृत्व गम्भीर भएर सोच्न डा. भुसालले आग्रह गरे ।

‘एमाले र माओवादी मिलेर बनेको नेकपाले झण्डै दुई तिहाइ पाउँदा पनि सरकार ५ वर्ष टिक्न सकेन,त्यसैको परिणाम अहिले कुनै दलको बहुमत आएन, ६ महिना नपुगेको पार्टीको अप्रत्याशित नतिजा आयो’, भुसालले भने, ‘यदि अब पनि काँग्रेस र एमालेले चेतेनन् भने अर्को चुनावसम्म राजनीति कसको हातमा जान्छ भन्न सकिन्न ।’