ससुरा बा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ससुरा बा !



दीपक घिमिरे

मान्छेका जीवनमा दुईवटा बा हुँदा रैछन । एउटा जन्मदिने आफ्नै बा अनि अर्का चैँ ससुरा बा । जीवनमा काईला बा , राईला बा , माईला बा अनि स्यान बा र जेठाँ बा भन्दा आफ्नै बा र ससुरा बाको महत्त्व अत्यधिक हुने रहेछ । यो कुरा हरेक बिबाहीत युवाहरूलाई थाहा छ । घरमा बा अनि ससुरालमा ससुरा बा । महत्त्व यिनैको हुन्छ ।

बिहे पछाडि मात्र भेटिएका हुन मेरा ससुरा बा । स्कुल पढदा मन पर्ने हरेक केटीका बालाई ससुरा बा बनाउने हुटहुटी चल्थ्यो तर कहिले सफल भएन ।

हल्दार माईलाको छोरी सिन्धुलाई प्रपोज गरेपछि हल्दार माईलालाई आफ्नै बा जस्तो सम्मान गर्न थालेको थिए तर अभागी म ! हल्दार माईला मेरा ससुरा बा बन्न सकेनन् । उनी मेरो ससुरा बा बन्न अति उत्तम थिए । स्कुल पढदाको कुरकुरे बैँसमा उनलाई नै मेरो जीवनको ससुरा बा ठानेको थिए तर सफल भएन । सिन्धुले एउटा तोरीलाउरे टिपेर टाँप कसेपछि मेरो सपना सेलायो ।

कलेजमा पढने भएसी रोल्पा बाट घोराही पढन झरेकी बिनितालाई अति मन पराउथे । मैले मात्र होइन , बिनिता आफै पनि मलाई आफ्नो जीवनको राजकुमार ठानेकी थिई । हामी एक अर्काको प्र्रेममा फसेका थियौ । मैले मेरो घरमा उसलाई बुहारी भनेर चिनाएको थिए ।

एक दिन एक्कासि बिनीताका बा भेटिए । त्यो खिस्सा पनि काईदाको छ , सुन्नुस ।

तरकारी पसलमा सागका मुठा उचालेर पसले सँग भाउमा बार्र्गेिनङ गर्दै गरेकी बिनितालाई हल्का जिस्काउन खोजे , उसले कर्के नजरले बा लाई देखाउदै भनी “ उ मेरा बा ! ”

मैले आफ्नै ससुरा बा जस्तै माने , सतर्क अवस्थामा उभियर नमस्ते टक्राय । उनी खिस्स हासे , हासो भित्र हाम्रा नाता झल्किय । तर ससुरा बा भनेर सम्बोधन गर्न सकेन । म पनि खिस्स हासे , बिनिता आफैले परिचय गराई “ उ मेरो क्लास फ्रेन दीपक हो ! ”

उसका बा फेरि हासे , म लजाए ।

अभागी मैले बिनिताका बालाई पनि ससुरा बा बनाउन सकेन । कलेज बिदामा रोल्पा कुदेकी बिनिता दुई वर्ष पछि कलेजमा भेटिएकी थिई । निधारमा अलि लामै सिन्दूरको लर्को थियो अनि पेटमा उसको सन्तान हुर्कदै थियो । उसका जुङ्गे बालाई अरू कसैले ससुरा बा बनाएछ । तर मैले त्यो बेला सम्म ससुरा बा भेटाएको थिएन अर्थात् म कुवाँरा थिए तर उ चैँ आमा बन्दै थिई ।

उ मलाई देखेर पनि नदेखे जस्तो गरेर लजाई अनि मेरो दिमागबाट बिनिता हराई ।

उसको धोकाले मनमा नराम्रो सँग डेरा जमायको थियो । म उसलाई भुल्ने बहाना खोज्दै थिए । यसै बिच अझ धेरै पढने भनेर कुदे काठमाडौँ । बसाई भयो कृतिपुर । कृतीपुरको पाँगा भन्ने निक्कै चर्चित थियो हामी जस्ता गरिब विद्यार्थी हरुका लागी । सस्तामा कोठा पाईन्थे उ बेला तर अहिले थाहा छैन ।

सुङ्गुरका खोर जस्ता साना साना कोठा भएको घरमा डेरा थियो । घरबेटी माथि बस्थे , बिचको फ्ल्याटमा चारवटा कोठा । प्रत्यक कोठामा अलग अलग जिल्लाका बिधार्थी बस्थ्यौ । मेरो अघिल्तिरको कोठामा थिई सरु धिताल फ्रम सिन्धुली ।

उसले यस्तै गरेर परिचय दिएकी थिई । मैले ‘म दीपक,घर चैँ दाङ ’ मात्र भने उसले “ सरु धिताल फ्रम सिन्धुली ! ” भनी ।

कोठामा इन्ट्री मारेकै दिन हाम्रा आँखा जुधेका थिए । त्यहीबेला देखी उ मेरो मनमा बसेकी थिई । एकै नजरमा हाम्रो माया बसेको थियो ।

मलाई धोका दिँदै पुटुल्ल उक्सेको भुँडी देखाएर लोप्पा ख्वाएकी थिई बिनीताले दाङमा । म डराएको पनि थिए , अब प्रेम बिबहा गर्न सक्दैन या मैले खोज्या जस्ता गजक्क परेका ससुरा बा हुनेछैनन मेरा भनेर । तर सरुलाई देख्न थालेपछि फेरि मनमा खुसीका किरणहरु पलाउन थाले ।

बिएन नर्सिङका लागि ब्रीज कोर्ष गर्न बसेकी सरु र डिग्री गर्न काठमाडौँ छिरेको म बिच मायाका टुसा पलाउन थाले । उ हास्थी , मैले हसाउथे । म ठुस्किन्थे , उ फकाउथी ।

दिन चल्दै थिए । न कसैको डर , न कसैको छेकवार ।

एक दिन सिन्धुलीबाट उसका बा आए । टाउकोमा फिटिङ वाला ढाका टोपी लगाउने , चट्ट परेका हेन्सी ससुरा बा । हेर्दै भर्खरका देखिने सरुका बालाई अंकल भनेर बोलाउदा पनि अप्ठ्यारो लाग्ने । साथी जस्तालाई कसरी ससुरा बा भन्ने होला ?

सरुका बा बस्दा सम्म हाम्रो पिरतिमा हल्का डिस्टब भयो । न डेटिङ न त मायापिरतिका गफ । भेटिदा नमस्ते टक्रायो अनि आफ्नै कोठामा मस्त । आजभोलीको जस्तो सामाजिक सञ्जाल र फोनहरु हुन्थ्यो भने सुटुक्क गफिन हुन्थ्यो , त्यो बेला त उहीँ डेटिङमै हो मस्किने , जिस्किने अनि मायापिरती साटने । अहिलेको जस्तो फोन बाटै लभ , फोन बाटै ब्रेकअप हुने जमाना कहाँ थियो र ?

एक दिन हुनेवाला ससुरा बा गए सिन्धुली , बा गएकै दिन सरुले भनी “ आउदो महिना इन्ट्रान्स ईक्जाम छ , देन आई विल ब्याक टु सिन्धुली । ”

उसले हास्दै भनी , मेरो मनले नमिठो महसुस ग¥यो । सरुका बा लाई ससुरा बा बनाउने सपना देख्दा देख्दै एक दिन सरु फ्याट्ट उठेर सिन्धुली गै , जाँदा निक्कै बाचा कसम पनि खाई छिट्टै आउछु भनेर तर उ आईन । अहिले सम्म उसलाई भेटाईन । सरु सिन्धुली बाटै बेपत्ता भई , उसका बा लाई ससुरा बा ठान्ने मेरा सपना दुई तीन महिना सम्म आँखा मा बाचे तर समय सँगै कता हराए कता । अन्ततः सरुले पनि मलाई धोका दिई ।

आफूले मन पराएको मान्छेको साख्खै बालाई ससुरा बा ठान्ने म मात्र हैन सायद । स्कुल पढदा देखिको एउटा साथी छ खिमे । उ गाउमै हुँदा सरितालाई अति मन पराउथ्यो । एक दिन सरिताका बा बजारमा देखिए । मैले खिमेको कानमा सुटुक्क भने “ उ देखिस तोत्ले आउदैछ ! ”

उ अर्को तिर बटारियो , सरिताका बा हामी भन्दा अलि पर पुगेपछि मेरो कान निमोठदै भन्यो “ साले बुवा भन , इज्जत गर्न सिक । ससुराबा हुन मेरा , अब देखि तोत्ले नभनेस । ”

अगाडीका दुई चारवटा दात नभएर हो कि जन्मजात उस्तै हुन सरिताका बा तोत्ला सेठ थिए । गाउभर उन्लाई सुटुक्क तोत्ले भन्थे । बोली स्पष्ट नबुझिने अनि कुरा गर्दा मुख बाट थुकका छिटा निकाल्ने हुनाले उनलाई तोत्ले भन्थ्यौ तर उनका अगाडी कसले भनोस तोत्ले । ‘काजी साँप !’ भन्यो अनि साईड लाग्यो ।

खिमेको जीवनमा तोत्ला सेठ ससुरा बा बनेरै आएका रहेछन् । कहिले काहीँ म तोत्ला सेठ सँग भेट हुँदा आज भोलि झुकेर बा भन्दै नमस्कार टक्राउछु ।

खिमे जस्तै ससुरा बा को इज्जत गर्ने अर्को थियो चड्डी । नाम सन्तोष भए पनि हामी उसलाई चड्डि भन्थिम । उ पनि रिमाको बा लाई कसैले नराम्रो भनेको सहनै नसक्ने । ससुराबाको इज्जत गर्ने खालको ज्वाइँ थियो उ । तर जीवनभरको ससुरा बा बनाउन सकेन रिमाको बा लाई । आजभोली अलि पुर्बै बाट ससुरा बा बनाएर बसेको छ , रिमाले अर्कैलाई लोग्ने बनाएर बसेकी छे ।

अरूका कुरा छाडौ , मेरै ससुरा बा हरुका कुरा गरौँ ।

अनि सरु हराएपछि मेरो कलेज जिन्दगी पनि लगभग सकिनै थालेको थियो । म डिग्रीको थेसिस सकेर डेरा दाङमै सारे । अब बा आमाले खोजेका ससुरा बा लाई चट्ट नमस्कार गर्ने अनि मज्जाले खुट्टामा ढोगाउने रहर मनभरि थियो ।

उमेरले तीन दशकमा पाइला टेक्न थाल्दा पनि बा आमाले ससुरा बा खोज्देनन । म आफैले एउटी बत्तिस लक्षणले युक्त बुहारी खोजौ भन्न पनि नसक्ने , आफ्ना लागी आफै ससुरा बा खोज्दै पनि हिडन नसक्ने ।

एक दिन फुपुले कुरा ल्याईन “ तिवारीको छोरी गजप छे , दीपकलाई त्यही केटी सुहाउछे , नाई नास्ति नगरोस । उसको घरमा म कुरा चलाउछु । ”

अब तिवारी बा लाई ससुरा बा बनाउने सपना देख्न थाले । एक दिन फुपुकै पछि लागेर केटी हेर्न गईयो । सबै ठिकै लाग्यो , तिवारी बा निक्कै बुढा । मलाई मेरा ससुरा बा म जस्तै मिजासिला चाहन्थे तर उनी त पूजा पाठ अनि धर्मकर्ममा लिप्त वाला ।

छोरी मन प¥यो तर ससुरा बा मनपरेन , रिज्याक्ट भन्ने हिम्मत थिएन , सु गर्ने बहानामा केटो टाप कस्यो । केटी देखाउन लैजाने मामा पछि एक्लै आए रिसाउदै ।

अर्किको कुरा आयो , केटी अत्यन्त सुन्दर । केटीमा खोट लगाउने ठाउँ छैन तर ससुरा बा भित्तामा झुण्डिएका । स्वर्गीय चिन्ताप्रसादको छोरी सुश्री लेखेर कार्ड बनाउनु पर्ने अवस्था । सिधै रिज्याक्ट गरियो , किनभने मलाई ससुरा बा पनि बनाउनु थियो । ससुरा बा भित्तामा झुण्डेको अवस्थामा उनकी छोरीलाई मैले बिहे गर्न मानिन अनि भएन बिहे ।

यस्तै कुरा आउँदा आउँदै एउटा कुरा आयो । ससुरा बा पनि ठ्याक्कै ससुरा बा जस्ता । श्रीमती जी पनि ठ्याक्कै श्रीमती जस्तै । भन्छन् नि ! जोडी स्वर्ग बाटै बनेर आएको हुन्छ भनेर , साँच्चै बनेरै आएको रैछ क्यारे । मैले ससुरा बालाई हेरेरै कुरा ओके गर्दिए । उनकी छोरीमा खोट लगाउने ठाउँ थिएन ।

ससुरा बाकै कुरा बाट यति लामो कथा जन्मियो । पढदा झ्याउ लागे होला , वाहियात लागे होला । साँच्चै म यस्तै छु । जस्लाइ मन पराउथे , उसको बा लाई ससुराबा ठानिहाल्थे । मनमा एउटा घर बनाईहाल्थे अनि सपनामै संसार सजाईहाल्थे । तर निधारमा लेखेको मात्र हुन्छ भन्या साँच्चै रहेछ ।

जीवनमा दर्जनौ केटी मन पराईयो , कसैलाई प्रेममा फसाईयो त कसैलाई मनका कुरा नखोल्दै गुमाईयो । हरेकका बालाई ससुरा बा ठानियो तर अन्त्यमा जहाँ लेखेको थियो त्यही ससुराली बनाईयो अनि ससुरा बा पनि भाग्यले जुराकैलाई बनाईयो ।