कथा: ईर्ष्या र प्रशंसा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कथा: ईर्ष्या र प्रशंसा



-हेमन्त गिरी

प्रशंसा र ईर्ष्या दुई बहिनी थिए । एक दिन प्रशंसाले भनी, “बैनी,आइज केही राम्रो काम गरौं,जसले सबैको हीत होस्” ।

“किन गर्नु र दुनियाँको हीत, आफ्नो हीत हुने काम गरौं दिदी, जमाना पहिला जस्तो छैन”, ईर्ष्याले जवाफ फर्काई !

प्रशंसाले बहिनीलाई असाध्यै माया गर्थी । त्यसैले उसले बहिनीको कुरो टार्न सकिन । दुई बहिनी मिलेर कपडा सिलाउने पसल खोले । पसल खुब चल्यो । दुबै बहिनीको वाहवाही भयो ।

रूपमा दिदी भन्दा अलि सुन्दर भएकीले ईर्ष्यालाई एकदिन लाग्यो- म दिदी भन्दा राम्री पनि छु, छिटी पनि छु, पसल मेरो मात्र गरें भने धेरै ग्राहक पनि आउँछन त्यसैले दिदीसंगको साझेदारी तोडेर म अब पसल एक्लै गर्छु । ईर्ष्याले उक्त कुरो दिदीसंग राखी । प्रशंसाले पनि खुसी खुसी बहिनीको कुरो स्वीकार गरी ।

प्रशंसा घरमै बस्न थाली, एउटा सानो हाते मेसिन किनी । उसकोमा खासै ग्राहक आउन छोडे । ईर्ष्याको पसलमा मारामार भिड हुन थाल्यो, भ्याइनभ्याई हुन थाल्यो । प्रशंसाले चाहिं गाउँलेहरूका पूराना र बढी भएका लुगा माग्ने अनि जोडजाड गरेर गरीबहरूलाई बाँड्ने काम गर्न थाली !

“दिदी तँ बेरोजगार भइस्, मेरो पसलमा आउँछेस् र काम गर्न?”, ईर्ष्याको फोन आयो एकदिन प्रशंसालाई । प्रशंसाले जवाफ फर्काई, “हैन बैनी, आउँदिन, तेरो आफ्नो ब्राण्ड बनिसक्यो । तेरो व्यवसायको सफलताको सम्पूर्ण हकदार तँ होस्, म आएँ भने मेरो नाम पनि जोडिन्छ । त्यसैले म आइन तँ अरु कसैलाई ‘हायर’ गर है, सरी !”

जागीर खोज्दै एक दिन चाप्लुसी आई ईर्ष्याको पसलमा । चाप्लुसी उनीहरूकै गाऊँकी ‘जूनियर’ केटी । सहर बसे पछि अचम्मसंग फेरिइछ । रूप रंग, श्रिंगार पटार अनि आधुनिकताले ढपक्कै ढाकिएकी । हेर्दै जो कसैलाई आकर्षित गर्ने खालकी ।

ईर्ष्याले खुसी भएर उसलाई काममा राखी । काममा राखिन मात्र, केही समय पछि आधा सेयरको हकदार नै बनाई । व्यापार अपार हुँदै गयो । चाप्लुसीको पहुँच नेता देखि ठूला बडा सबै संग थियो । मै हुँ भन्ने मानिसहरू पनि चाप्लुसीका आफ्ना मान्छे थिए । ईर्ष्या बहुत खुसी थिई, चाप्लुसीको कारण आफ्नो व्यवसाय दिन दुगुना रात चौगुना बढेकोले ।

यसैबिच चाप्लुसीको बिहे हुने कुरो आयो । पल्लो गाउँको अभिमानसंग चाप्लुसीको प्रेम रहेछ । अभिमान र चाप्लुसीको धूमधामसंग बिहे भयो । चाप्लुसीको बिहेमा ईर्ष्या खुब नाची । एकदिन चाप्लुसीले प्रस्ताव ल्याई- “साथी ईर्ष्या, अभिमानलाई पनि हाम्रो कम्पनीमा नै जागीर दिम न है !”

ईर्ष्या राजी भई । अभिमानको जागीर सुरु भयो । अभिमान र ईर्ष्याको स्वभाव मिल्दो जुल्दो । उनीहरू नजिकिंदै गए, चाप्लुसी एक्लिंदै गई । आफ्नो प्रेम ईर्ष्याले खोसेकोमा चाप्लुसी भित्र एक किसिमको बदलाको भावना पैदा हुन थाल्यो । एक रात फ्याक्ट्री भित्र नै रासलीला गरिरहेको भेटे पछि सबै ढोका बन्द गरेर चाप्लुसीले आगो लगाइदिई अनि आफू रातारात सहर तिर भागी ।

अभिमान जलेर मर्यो, कसो कसो ईर्ष्या चाहिं बाँची । व्यवसाय नष्ट भयो, अभिमान जल्यो, चाप्लुसी भागी । ईर्ष्यासंग कुनै विकल्प रहेन । झल्याँस्स दिदीलाई सम्झी । हावाको गतिमा कुदेर घर पुगी । प्रशंसा घरमा थिइन । बाबु बिवस टिभीमा केही हेरिरहेका थिए । ईर्ष्याले सुस्तरी चिहाई ! टिभीमा प्रशंसाको अन्तर्वार्ता आइरहेको थियो !कहिले देखि यसरी पुराना लुगा सिलाएर गरीबहरूलाई बाँढ्न थाल्नुभयो ?!

-जहिले देखि नयाँ लुगाहरू टिक्न छोडे !

-कस्तो दार्शनिक जवाफ, मैले चाहिं कहिले देखि यो समाजसेवाको काम गरिरहनुभएको छ भनेर समय सोधेको !

केही वर्ष भो ।

यस्तो सोंच कसरी आयो ?

बैनी भन्थी, “दिदी समाजको लागि केही गर्नुपर्छ” । म अल्ली अल्छी खालकी थिएँ, ऊ एकदम जाँगरिली । उसले जे काम पनि फटाफट गर्ने, म चाहिं अलि ढिली । उसैले झकझक्याएर मलाई यो काममा लगाई ।

तर तपाई र बैनीको त राम्रो छैन भन्छन नि । बैनीले तपाईलाई आफ्नो कम्पनीबाट निकालिदिएकी रे ! अहिले कम्पनी बहुत नाफामा चलिरहेको छ रे !

त्यस्तो हैन, बैनीको र मेरो नराम्रो कहिलै थिएन । एक दिन बैनीलाई कसैले फोन गर्यो । सायद फोन गर्ने मान्छे लोभ हुनुपर्छ । हाम्रो गाऊँमा असाध्यै पुलपुलिएर हुर्किएको केटो हो लोभ । बैनीले उसलाई सानै देखि मन पराउँथी । त्यस लगत्तै बैनीले व्यवसाय मेरो नाममा गर्छु भनी । मैले नाई नास्ती गरिन । उसै पनि मैले भन्दा दह्रीलो साथ उसलाई उसको हुनेवाला श्रीमानले नै दिन सक्थ्यो भन्ने लाग्यो ।

अघिल्लो साँझ भ्रम हाम्रो घरमा आएको थियो । मेरो सानै देखिको साथी हो भ्रम पनि । ऊ मलाई मन पराउँछ, तर मैले उसलाई खासै महत्वले हेरिन कैलै । बच्चै देखिको साथी भएकोले सामान्य ‘हाय हेल्लो’ चाहिं हुन्थ्यो । भ्रमले बैनी र लोभको प्रेम चरम उत्कर्षमा पुगेको र प्रेममा कुनै न कुनै रूपले म बाधक भएको कुरा सुनायो । त्यो समय मैले पनि भ्रमलाई पत्याएँ ।

बैनीलाई चाहिं मैले बोलाएर भ्रम आयो भन्ने लागेको रहेछ सायद । खासमा भ्रमलाई चाप्लुसीले पठाएकी रहिछे । पछि कान्छीको व्यापारमा चाप्लुसी ‘जोइन’ भई । अभिमानलाई पनि ‘जोइन’ गराई । अभिमान र ईर्ष्याको मिलन देखेर चाप्लुसीले नै कम्पनीमा आगो लगाई । हिंजो राती मात्रै कम्पनी जल्यो, सबै खरानी भयो । सायद तपाईले खबर पाउनुभएनछ क्यारे !

ओहो दुखद ! यो सब परिघटना तपाईलाई चाहिं कसरी थाहा भयो ?!

तपाईले अन्तर्वार्ताको लागि बोलाएपछि म हिंजो सहर आउने गाडी चढें । हस्याङ फस्याङ गर्दै चाप्लुसी पनि म बसेको सीटमा आई । मैले सोधें, ‘किन आत्तिएकी तिमी ? के भो ?’

‘दिदी दिदी, त्यो अभिमानले ईर्ष्याको फ्याक्ट्रीमा आगो लगाइदियो । ईर्ष्या जलेर खरानी भई । मलाई पनि मार्छु भनेर लखेट्न थाल्यो । अनि म ज्यान बँचाउन सहर तिर लागें ।’

मैले ‘सहरले ज्यान बँचाइदिन्छ त ?’ भनी सोधें । उसले एकै सासमा बेलिबिस्तार लगाई- ‘सहरले के के बँचाउँछ बँचाउँछ दिदी ! सहरले अपराधलाई बँचाउँछ, अपराधीलाई त बँचाउँछ भने हामीलाई त बँचाइहाल्छ नि ! दिदी पनि बँच्नलाई सहर जान लाग्नुभाको हो ?’

मैले ‘हो’ भनें !

ऊ अचम्म परी ! अनि सोधीहाली ‘के बाट बँच्न दिदी ?’

जवाफ दिएँ- गाउँले र पुलिस बाट बँच्न !

सोधी- कसरी !

मैले जवाफ दिएँ- ‘आगो अभिमानले लगाएको हैन, मैले लगाएकी हुँ ! बैनीको प्रगतिको ईर्ष्याले लगाएकी हुँ ! तिमी भ्रममा रहिछौ । आगो खासमा मैले लगाएकी हुँ !’

ऊ खुसी भई ! अनि बोल्न सुरु गरी- ‘ठीक गर्नु भो दिदी । त्यो ईर्ष्याको काम थेन । बहुत घमण्डी थी । तपाइँ कती जाती हुनुन्छ । बिज्नेस पनि तपाईंले सुरु गर्नुभयो मोज त्यसले गरी ।

दुःख सप्पै तपाईले पाउनुभयो, कमाई त्यसको भयो । बल्ल खाई, जलेर मरी । बरु दिदी, तपाईको हातमा त सिप छ । हामी दिदी बैनी मिलेर केही गरम । बहुत छिटो माथि पुगिन्छ । मेरो राम्रो लिंक छ, तपाईको सिप । मिलेर गरम दिदी !”

एकै सासमा उसले यती भनेर सिध्याइसक्दा बैनीलाई सिध्याउने पनि यही हो भनेर थाहा पाउन मलाई खासै गाह्रो भएन । मेरी बैनी सोझी छे, एकोहोरो दिमागले मात्र सोंच्छे । त्यसैले उसको जीवनमा यस्ता यस्ता मानिसहरू आउँछन र उसलाई बर्बाद पारेर जान्छन ।

म उसकी दिदी हुँ, अभिभावक पनि हुँ, बाबा रोगी हुनुन्छ । उसको हरेक दुःख दर्दको हिस्सेदार म पनि हुँ । मलाई थाहा छ ऊ जलेकी छैन, ऊ घटेकी चाहिं जरुर छे । आफूलाई दुःख पर्दा सबै भन्दा पहिले सम्झिने नै मलाई हो उसले । मलाई दुःख पर्दा सबै भन्दा पहिले सम्झिने पनि निर्विकल्प उही नै हो ।

एकपटक ‘दिदी तँ बेरोजगार भइस् मेरोमा काम गर्न आइज’ पनि भनेकी हो उसले, तर म गइन । मेरी बैनी असाध्यै प्यारी छे, तर संगत खराब भयो उसको । जीवनको एक अध्याय झेलिसकी,सायद अब उसका आँखाको रङ फेर्छे कि !

ऊ मेरी प्रेरणा हो अनि म उसकी ! आज ऊ जे भई मेरो कारणले भई, उसले भनी भन्दैमा मैले पनि उसको साथ नछोडेको भए हुन्थ्यो । गाली गर्ने नै सही, अभिभावक साथमा भएको सन्तान धेरै मुस्किल बाट जोगिन सक्छ ।

आज म उसको साथमा भएको भए सायद यो दिन आउँदैन्थ्यो । यसमा म पनि दोषी छु । आज यतीबेला यहाँ अन्तर्वार्तामा बोल्नुको सट्टा म मेरी बैनीसंग अंगालोमा बाँधिनु पर्ने थियो । तर चढिसकेको गाडीले गन्तव्यमा ल्याएरै ओह्राल्यो ।

मलाई एक एक पल बिझाइरहेको छ, कती बेला जाऊँ र उसलाई झम्टेर रोऊँ भइरहेको छ । कति मेहेनतले आकास पुगी अनि कती निरीह भई निमेषमै पछारिई भुइँमा, उसको चोट मैले भन्दा बढी महसूस गर्न कसैले सक्दैन ! सर, मिल्छ भने यो अन्तर्वार्ता यहीं रोकौं न ल । प्लिज !!

सहरको टिभीमा अन्तर्वार्ता रोकियो । विवश बाबुको घरमा आँशुको नदी बगिरह्यो…!!!

✍️हेमन्त गिरी, टोकियो

[email protected]

Facebook: https://www.facebook.com/shunyamanxe/