एउटा चिठ्ठि « Himal Post | Online News Revolution
Logo

एउटा चिठ्ठि



निराजन अधिकारी

आज छुट्टि ! त्यसै पनि मन यो परदेशमा छैन । घरदेशमा मन छ , परदेशमा यो भौतिक शरीर ।
शुक्रबार छुट्टि हुदा म जहिले यस्तै पिडामा हुन्छु । डिप्टीमा मन साथी भाईसँग हासेर बित्छ तर छुट्टिमा कहाँ जाउ के गरु ? आतिन्छ अनायासै ।

घरमा फोन गरे , बा भाइ अनी श्रीमती सँग पालैपालो गफ गरे । यताको सारा दुख सुख कहानी बताएर सके । उताको पनि उस्तै मिठा कहानी सुनियो । उनिहरुलाई नमिठा लाग्ने सामाजिक घटनाले पनि मन नेपालमै तानिरहेको थियो ।
कोठामा सँगै बस्ने नरेको बारेमा श्रीमतीलाई बताए । उ डराई , भनी “ शरिरको ख्याल गर्नु है ।”

साच्चै यो परदेशमा बिरामी हुनेहरु निक्कै अभागी हुन । न आमा जस्तो ख्याल गर्ने कोहि हुन्छ न खाए नखाएको सोध्ने श्रीमती । एक पटक म बिरामी पर्दा नरेले मलाई देखाएको माया मैले मेरि लाई नेपालमा सुनाएको थिए ।आज उसले पनि नरेको ख्याल गर्न भनी । तर उसले भने जस्तो कहाँ हुन्छ ।

सँगै रुममा बस्दा जे जति गर्न पर्ने हो सबै गरे , तर मर्न बाच्ने ठेगान नभएसी नरेको बाँस अस्पतालमै हुन थाल्यो अनि छुट्टिमा भेटन जानू बाहेक अरु सहयोग गर्न सकेको थिएन । श्रीमती बेला बेलामा फलफुल लिएर अस्पताल जानू भनेर सिकाईन । आज त्यसै गर्ने योजना बुने ।
नेपाल फोन गर्ने कार्यक्रम सकियपछी खाना बनाएर खाए , अनि अस्ति नेपाल बाट साथीले ल्याईदेको नयाँ लुगा लगाएर बजार निस्कन तयार भए ।

नरे अस्पताल भर्ना भएपछी उसको बिस्तरा कसैले मिलाईदेको थिएन । उडुसले घर बनाएको उसको बिस्तरा उठाएर घर बाहिर ल्याएर घाममा सुकाईदिए । अनि झोलाहरु मा छरपष्ट भएका कपडा मिलाईदिए ।

समय दिउसोको दुई बज्दै थियो , बजार निस्कन हामी बसेको लेबर क्याम्पको गेट बाट बाहिर निस्कदै थिए । हुलाकी ले एउटा चिठी हातमा थमाईदियो । खामको बाहिर लेखेको थियो “ पाउने नरबहादुर दमाई , अबुधाबी , युनाईटेड अरब ईमिरेट्स ।”बिरामी नरे अचेत अबस्थामा अस्पतालमा छ । यो चिठ्ठी उसले पढन सक्दैन । पठाउने उसकै श्रीमती थिइन । बजार निस्कन गेट सम्म पुगेको मैले उसको चिठ्ठि बुझेर खाम खोल्दै अपार्टमेन्ट मै आए अनि पढे ।

चिठ्ठि यस्तो थियो :–

प्यारो साईला !
मुटुभरीको माया अनि धेरै सम्झना ।
हिजो मात्र तिम्रो चिठी हात पर्यो साईँला । तिम्रो चिठी पढेर म कति रोएँ होला त्यो मलाई मात्र थाहा होला । तिम्रा हरेक शब्दले हरेक पटक मलाई घोच्यो । घोच्यो मात्र होईन, म भक्कानिएर रोएँ । २ पेज चिठी २०० पटक पढ्रेँ होला ।

तिमीलाई थाहै छ नि है, तिमी १० मा थियौ म कक्षा ९ मा हाम्रो कस्तो पिरतती थियो, चखेवाको जोडी जस्तै, लाग्थ्यो कहिल्यै नछुटिने । सायद भगवानले हामीलाई एक अर्काको लागी बनाएर पठाएदिइजस्तै । तिमीले एसएलसी दियौ, म कक्षा १० मा थिएँ, तर मेरो घरमा एक्कासी बिहेको कुरा चल्यो । म के गरुँ कसो गरुँ भएँ । बुबालाई लाख बिन्ति गरेँ, मलाई एसएलसीसम्म पढ्न दिनु भनेर तर अहँ बुबा मान्नुभएन । सायद सौतेनी आमाको करले होला, उनी मलाई छिटोभन्दा छिटो घरबाट बिदा गर्न चाहन्थिन्, कारण तिमीलाई पनि थाहै थियो साईँला ।आखिर हामीले बिबाह गर्ने निर्णय गर्यौँ, तर घर परिवारले मानेन कारण जात थियो । अन्नतः हामीले भागेर बिबाह मन्दिरमा गएर बिबाह गर्यौँ ।

बिबाहको केही समय त ठिकै चल्यो । नियमित आम्दानीको श्रोत पनि त केही थिएन । एकदिन पल्लो घरको रने दाईलाई मलेशियाबाट फर्केर आएको देखेपछि तिमीले पनि उतै जाने निर्णय गरेछौ । मैले तिमीलाई रोक्न सकिन साईँला, खाने मुखको सबाल थियो । सबैलाई सुख दिने आशमा तिमी त्यो मरुभुमीलाई उड्यौ, म एक्लो भएँ । तिम्रो पहिलो कमाई हात परेको दिन मलाई कम्ता पनि खुशी लागेको थिएन, सोचेको थिएँ अब बिस्तारै दुःख सक्किएर सुख आउँछ । तर त्यो सुख धेरै दिन टिकेन । काम गरेको ५ महिनामा ने त्यो कम्पनीले तिमीलाई कामबाट निकालिदिएको कुरा फोनमा भनेदेखि म कुनै पनि रात राम्रोसँग निदाउन सकेको छैन । कामबाट तिमीलाई किन निकालिदियो तिमीले कहिल्यै भनेनौ । हरेक पल मुटु भतभत पोल्छ साईँला । अत्यास लाग्छ, जिऊ बोटारिन्छ, ऐँठन पर्छ । म एक्लो र आधारहिन भएको छु साईँला ।

अस्ति मध्यरातमा कसैले ढकढक गर्यो । खोलेर हेर्दा बेशीको पवने खत्री रक्सीले मातिएर आएको रहेछ । एक्लो भएर होला हातपात गर्न थाल्यो, तिमी जाँदा लागेको पैसा ले भन्न थाल्यो । म जसोतसो उम्किएर ढोका लगाएँ, ऊ बाहिरै बसेर धेरैबेरसम्म मलाई गाली गरिरह्यो । म सुन्न बाध्य भएँ, बाहिर निस्केर प्रतिवाद गर्ने हिम्मत थिएन साईँला ।

आजकल त घाँसपात गर्न जान पनि डर लाग्छ । यसो यताउता खस्रक्क गर्यो भनपनि मुटु ढुक्क फुल्छ, हातगोडा लत्रक्क पर्छन्, सातो जान्छ, अनि घाँस काट्दाकाट्दैको हँसिया सकिनसकि दह्रो गरेर समाउँछु तिमी नभए यसैले पनि बचाउला भनेर । अलिकति झिसमिसे अँध्यारो हुनासाथ घरभित्र छिरिहाल्छु, मनमा डर जो छ ।

तीनधारेको पण्डित बाजे आजकल दिनैजसो हाम्रा घरमा आउँछन् । चिया पकाउन लगाउँछन्, अनि भन्छन्, साह्रै चियाको तलतल लाग्यो । मलाई थाहा छ तिनलाई के को तलतल लागेको छ, तर म केही गर्न सक्दिन साईँला । मेलापात जाँदा होेस या बजार जाँदा होस् त पँधेरामा जाँदा होस्, सबैले मलाई नै घुरेर हेरेभैmँ लाग्छ । मलाई थाहा छ साईँला, यो मलाई मात्र होईन जसजसका पति विदेशमा गएका छन् सबैलाई यस्तै हुन्छ । यो डरले एकपछिन पनि कसैलाई छोड्दैन । म जस्तै उनीहरु पनि  हरपल डरर त्रासमा बाँचेजस्तो गरेर मरिरहेका छन् ।

मलाई थाहा छ, तिमीलाई फर्कन सजिलो छैन, तर असम्भव पनि त छैन नी है । एउटा हाम्रो उखान छनि तँ आँट म पुर्याईदिनेछु । तिमी आँछ गरिहेर साईँला, जसरी पनि आँटेको पुग्छ । अब म एक्लै बस्न सक्दिन, मलाई पैसा होईन तिमी तिमी चाहिएको छ, तिम्रो माया र हाम्रो मायाको चिनो चाहिएको छ । बाँकी तिम्रो बिचार ।

उही तिमीलाई सधैँ माया गरिरहने अभागी
साईँली आईती मिजार
मकैसिङ्ग, गोरखा

आईतीले लेखेको पत्र पढेर म आफै रोए । उसलाई थाहा छैन अहिले नरे कस्तो अबस्थामा छ भन्ने । यो पत्र लगेर अचेत नरेलाई सुनाउनु भन्दा लुकाउनु उत्तम ठाने । यस्तो समस्याबाट धेरै नेपाली परदेशमा गुज्रेका छन । अब परदेशीयका नेपालीको अबस्था बारे सरकारले पनि केही सोचोस । नरेको बारेमा सोच्ने हामी साथी छौ , अरु धेरैका सोच्ने कोही छैनन ।