एसएलसी सकाएपछि « Himal Post | Online News Revolution
Logo

एसएलसी सकाएपछि



विष्णुमणि अधिकारी

घरमा बुढा भएका बाआमा दिदीको विवाह अनि मेरो पढाइको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि त्यत्ति बस्न मन लागेन गाउँमा । रहर पलायो काठमाडौँ जाने अनि काम गर्ने अनि पैसा कमाएर बर्खामा घरभित्र भाँडा थाप्न नपर्ने बनाउने अनि बाबा आमाको चाउरी परेको निधारमा अलिकति भए पनि खुसी छर्ने । त्यस्तै सोच बोकेर काठमाडौँ निक्लने सोच बनाएर खल्तीमा २०० रुपियाँ त्यो पनि ऋणमै बोकेर लागेँ काठमाडौँ ।

पहिला एक दुई पटक आएको भए पनि खासै अनुभव थिएन मलाई । तैपनि मनभरि सपनाको डोको बोकेर लागियो धार्के, नौबिसे, थानकोट, कलंकी हुँदै सपनाको सहर काठमाडौँ । गाउँकै एक जना दाजु एक दुई वर्ष अगाडिदेखि काठमाडौँमै हुनुभएकोले उहाँकैमा जाने सोचका साथ कलंकी झरेर फोन गरेँ र सोधपुछ गर्दै पुगेँ लैनचौर । उहाँको बसाइ लैनचौरकै भित्री गल्लीमा पुरानो घरको भुँइतलामा सानो कोठामा रैछ, भन्नुभो भाइ यस्तै हो काठमाडौँ भन्नू मात्र सुख चाहिँ छैन यहाँ ।

आउन त आइहालिस मैले कामको पनि कुरा गर्दिसकेको छु भोलिबाट केही दिन साइकल सिक अनि साइकल जान्ने बित्तिकै काम सुरु हुन्छ तेरो भन्दै दाइ स्टोभमा जोड–जोडले दम दिदैँ हुनुहुन्थ्यो । म भने गाउँको घर यो कोठा साइकल सिकाइसम्ममात्र सोच्दा नै आङ्ग सिरिङ्ग गराउँदै अनि जागिर सुरु शब्दले दिएको खुसीमा रुमल्लिदै थिए । खाना तयार अनि खाना खाएर दिनभरिको बसको थकानले कतिबेला फुस्सै निदाइछु पत्तोनै पाइन । बिहान ब्युँझिदा ओछ्यानमा एक्लै लामखुट्टेले टोकेको डाबर अनि लथालिङ्ग कोठा ।

दाइ बिहानै काममा जानु हुँदोरहेछ, म निन्द्रैमा छु भनेर नबोलाइ गएँ भन्दै एकैछिनपछि दाइ टुप्लुक्क आइपुग्नुभो कोठामा । बिहान केही समय काममा गएर कोठा आइ खानपिन सकेर फेरि अफिस जानुपर्ने रैछ दाइको । फेरि सुरु भयो त्यही स्टोभमा दम दिँदै, हेर भाइ, मेरो त्यति फुर्सद हुँदैन तलाई एकैछिन भात बसालेर साइकल सिकाउछु अनि म अफिस जानुपर्छ, ढिला भए मार्छन् मलाई । बरु तँ पनि सङ्गै जालास् अनि अलिअली काठमाडौँ पनि चिनिन्छ पछि हिड्दै आइज कोठा, बाहिर नहिड है धेरै, हराउलास फेरि । हस् भन्दै बाहिर निक्लियौ अनि साइकल सिक्न सुरु भो । खानपिन सकाएर साइकलको पछाडि मलाइ राखेर बाटो सम्झी है अहिले कोठा आउँदा बाटो भुल्लास भन्दै हानिए ठमेलतिर, यो लैनचौर दूध डेरी यसलाई डिडिसी भन्छन् यो चाहिँ अमृत साइन्स क्याम्पस, अनि यसलाई त्रिदेवीमार्ग भन्छन्, यतापट्टी कर्मचारी संचयकोष छ भन्दै दाइको गति झन् बढ्दै थियो म चाहिँ सुन्ने मात्र, त्यत्तिकैमा पुगियो दाइको अफिस । अफिस पुगेपछि ल अब हेर्दै हेर्दै जा कोठामा भनिनसक्दै मैले मुन्टो हल्लाएँ ।

ठमेलबाट लैनचौर तिर फर्कदै गर्दा म दायाँबायाँ हेर्दै अनि दाइले पहिला भन्नुभको कुराहरू मनमा खेलाउँदै फर्के लैनचौरतिर । फर्किदै गर्दा देखेँ, एउटा ढावाको बाहिर कर्मचारी आवश्यकता लेखिएको रहेछ, अनि के रैछ भनेर पसे सोध्नलाई, सोधखोज गरे कुराकानी त खासै नजान्ने म उनीहरूले नै एकोहोरो बोले बिहान ६ बजे उठ्नुपर्छ अनि बेलुका १०÷११ सम्म बज्छ खान बस्न यहीँ दिन्छौ, गर्छौ काम ? अनि मैले सोधेँ तलब कति साहुजी ?

तिमी अलिक पढेको पनि रैछौ अङ्ग्रेजी पनि अलिअलि बोल्न सक्ने त्यसैले अरूलाई १२०० देको छु तिमीलाई १५०० दिन्छु सुरुबाटै । मैले हसको मुन्टो हल्लाउँदै सहमत जनाए । काम पक्का भो वेटर । आजैबाट गर भन्दै थिए मैले भोलिबाट आउँछु भन्दै जागिर पनि पाइएको खुसीयालीमा पुगे कोठा । म हतारमा थिए दाइ कतिबेला आउनुहोला र सुनाउला भन्दै । ठिक दाइ पनि आउनुभो अनि सुनाए सबै, दाइले ठिकै छ नि त बिहान साइकलमा पत्रिका घर घर पु¥याउन भन्दा त्यही सजिलो हुन्छ त्यही गर, म उता आउँदैन भन्दिन्छु । हस् भन्दै भोलिपल्ट बिहानबाट सुरु भयो जिन्दगीको पहिलो जागिर ।

विदेशी पनि आउने अङ्ग्रेजी बोल्न जान्ने एक जना कामदार नहुनाले समस्याको बिचमा म लाटो देशको कुन्नि के तन्नेरीझै सुरुबाटै माया अनि सद्भावका साथ काम गर्ने अवसर पाएँ । दिउँसो खाजाको समयमा ठमेलको ज्याठा, काठमाडौँ गेस्ट हाउससम्मै अनि झन्डै अस्कल क्याम्पससम्मै खाजा डेलिभरी गर्नुपर्ने त्यसमा पनि अरूले एक पल्टमा याद नगर्ने अन्तै पु¥याइदिने विभिन्न समस्या भोगिरहेका उनीहरूले मलाई नै त्यो काममा खटाउने निधो गरे । मलाई ठमेलका प्रत्येक घरका प्रत्येक तल्लामा कुन अफिस छ र कस्तो भ¥याङ्ग छ भन्ने कुरा अझै पनि केही झलक दिमागमा ठिङ्ग आउँछ । किनकि ती प्रत्येक छिँडिमा मैले चप्पल पड्काएको छु ।

यसै गरी चले मेरा दिन, अनि केही महिना । सोही क्रममा मैले खाजा पु¥याउने एउटा पसले साहुको छोरी पनि एसएलसी दिएर बसेकी भेटेको थिएँ । खुबै सोधिखोजी गर्थी कति % आउँछ तिम्रो ? कस्तो भयो इक्जाम ? यस्तै–यस्तै तर म लाजले खासै नबोल्ने ठिकै भयो कति आउँछ थाहा छैन अनि यस्तै यस्तै, होर होइन । छर छैनमा जवाफ दिँदै उम्कन्थे म । हेर्दा सोझी र सज्जन लाग्ने तर खुबै सोझोलाई पाए बेचेरै खाली झैँ लाग्थ्यो हेर्दा पनि । केही समयपश्चात् मलाई पनि काठमाडौँको हावापानी पच्न थालिसकेको थियो, अलि–अलि बोल्ने र ताल परे दुई चार ओटी केटी जिस्काउने भैसकेको थिएँ । अनि बोल्न थालेँ उनीसँग । पछि म पनि केही बोल्ने भएपछि थाहा भयो उनको नाम रैछ प्रजुला महर्जन ।
उनको नाम त प्रजुला महर्जन थाहा भयो तर मेरो असली नाम नै उनलाई मैले भनेको थिइन, कारण मेरो दुइटा नाम छन् । एउटा घरमा बोलाउने र मलाई प्यारो लाग्ने नाम र अर्को न्वारनमा राखिएको नाम, त्यो नाम मलाई खासै प्यारो लाग्दैन, तर विडम्बना मेरो सबै प्रमाणपत्रहरुमा त्यही नाम छ, उनलाई र त्यहाँ काम गर्ने ठाउँमा मेरो परिचय त्यही नामको थियो, र मेरो दुइटा नाम छ भनेर भन्न पनि आवश्यक ठानिन् या कुन्नि किन मेरो सबैले बोलाउने र सबैले चिन्ने नाम त्यहाँ भनिन्, अझै अक्सर त नुवाकोटे भाइ भनेर चिन्थे त्यहाँ सबैले । सबैको भोक मेटाइदिने माध्यम भएर होला म, त्यसैले प्रायः माया नै गर्थे तर साथी र आफ्नो भन्ने कोही थिएनन्, त्यसैले उनीसँग अलिक छिट्टै साथीजस्तो महसुस हुन थालेको थियो मलाई ।

खाजा पु¥याउन जाँदा ५/७ मिनेट अलमल त भैहाल्थ्यो त्यहाँ । अनि भन्थिन् सधैँ यस्तै पसलमा बस्न पाए क्या रमाइलो हुन्थ्यो अब फेरि पढ्न जाने दिन आइहाल्छ अनि लास्ट झ्याउ हुन्छ, उसको बोलीमा अलिक शहरीकरण भेटिन्थ्यो अनि मेरोमा पुरै गाँउले पारा । उनका कुनै–कुनै शब्दहरू सुन्दा त छ्या कस्तो सोमत नभकी केटी होली भन्थे मनमनै । अनि फेरि लाग्थ्यो यिनी खासमा मेरो साथी नै होइन, यिनीसँग मेरो कुनै कुरै मिल्दैन, उनको र मेरो सपना नै फरक छन्, लक्ष्य नै फरक छन् अनि क्यारी साथी हुनु ? कुरा कति फरक हुन्थे भनेर भनिनसक्नु थिए हामी बिचको खाडल, तैपनि साथीझै लागिहाल्ने । भन्थिन् म त प्लस टू निस्टमा पढ्ने साइन्स पढ्ने हो अनि तिमी कहाँ पढ्छौ ? निस्टमा कमर्श पनि छ तिमी पनि त्यही पढ् राम्रो छ कलेज, अनि म फेरि सम्झिन्थे पानी चुहिने छानो, ऋणको भारी अनि आफ्नो धरातल र जवाफ दिन्थे म त काम गर्दै पढ्ने हो त्यसैले सरस्वती क्याम्पस पढ्छु होला नजिक त्यही छ, छि त्यहाँ त नपढ् कस्तो खत्तम छ बरु मनमोहनमा पढ् न । यिनका यी ठुलो महत्वाकांक्षा देखेर पनि मैले मेरो वास्तविकता देखाउन सकिरहेको थिइन, तर उसैले सजिलो बनाइदिइ एक दिन । मलाई सहरका मान्छे नै मन पर्दैन ।

साथीहरू पनि सबै स्वार्थी र घमण्डी हुन्छन्, खास तिमीजस्ता हुँदा हुन त मेरा कति मिल्ने साथी हुन्थे होला, तर विडम्बना मेरो मिल्ने साथी एक जना पनि छैन । अब चाहिँ बल्ल तिमी भयौ । तिम्रो बारेमा मलाई सबै कुरा जान्न मन छ मेरो बारेमा पनि सबै कुरा भन्न मन छ एक दिन एक घण्टा जति टाइम निकालन अनि डिडिसीमा दही खाँदै सबै कुरा सियर गरौँ, साथी भएपछि त साथीको बारेमा सबै कुरा थाहा हुनु प¥यो नि होइन ? अनि अझै डर थियो मेरो वास्तविकता भनेको दिनबाट साथीको त कुरै छाडूम् यो केटी मसँग बोल्दा पनि बोल्दिन होला, भन्ने मनमा खेलाउँदै नाइ भन्न नसकेरै मैले भने हुन्छ शनिवार दिउँसो मेरो फुर्सद हुन्छ त्यही दिन सबै कुरा सियर गरौँ न त हुन्छ ? उसले तुरुन्तै सहमत जनाउँदै भनिन्, ओके डन । शनिवार दिउँसो १२ बजे डिडिसीमा भेट्ने ।
बिहीबार दिउँसो उनले शनिवार दिउँसो १२ बजे डन भनिसकेपछि मनमा अरू कुरा त आउने नै भएन, सिर्फ त्यही कुराले डेरा जमायो, के भन्ने अनि के गर्ने, के लगाएर जाने अनि दाइलाई भनुम कि नभनुम र सत्य बोलूम कि झुट ? यत्ति प्रश्नमा रुमल्लिरह्यो यो मन अनि मस्तिष्क । अनि सोचेँ दाइलाई त भन्नै पर्छ । शनिवार दिनभरि दाइ कोठामै हुनुहुन्छ अनि म दिउँसो कोठाबाट ठाँटिएर निक्लिँदा कहाँ जान लाको भन्नू ? पछि थाहा पाइहाल्छन त्यसैले पहिल्यै भन्दिऊ, के नै गर्न जान लाको हो र भेट्नै त हो नि ।

पुगेँ बेलुका कोठामा दाइ पढ्दै हुनुहँुदो रैछ मैनबत्ती बालेर ! भन्नुभो आइस कान्छा ? हजुर ! ए ठिकै भो तँसँग केही कुरा पनि गर्नुथियो त्यसैले कुरिराको, कति ढिला ग¥या ? लौ म पो कुरा गरौंला भनेको उहाँ पनि कुरै गर्नुछ पो भन्नुहुन्छ । अकमक्क परेर सोधे, के कुरा दाइ ? हेर मेरो अफिसको रिसेप्सनिस्टले अर्को महिना जागिर छोड्ने भनेर आज राजीनामा देकी छे, त्यो पोस्टमा बहिनीलाई जागिर लाइदिनु प¥यो । आइतबार काठमाडौँ बोलाको छु लक्ष्मीलाई । एक महिना चाहिँ कम्प्युटर र ल्याङ्वेज सिक्दै गर्छे अनि काम गर्दै पढ्छे त्यस्ले पनि । त्यसैले यो कोठामा तीन जना त अटिन्न अर्को एउटा कोठा रैछ त्यो गल्लीको मुखैमा, त्यो कोठा पनि लिनु प¥यो अब । अनि तँलाई यो कोठा ठिक्क पनि हुन्छ एक्लै बस्नलाई, लक्ष्मी र म उता बस्छौं ।

अब थपियो अर्को बोझ जीवनमा, आफ्नो नामको एउटा त्यान्दो छैन कोठामा अब सबै कुरा जोड्न पर्ने भो । काम गरेको दुई महिना भको छैन ३००० पनि आउँदैन त्यतिले के गर्नु ? ६०० कोठा भाडा पनि एक्लै पो तिर्नुपर्छ १५०० तलब थापेर । अनि के सामान कसरी जोड्नु । मन भारी भो, प्रजुलालाई भेट्ने कुराको खुल्दुली सबै भागे मनबाट, अनि भने हस् । अब अर्काको बहिनी पनि आउने भनिसकेपछि त मैले नाइ हुन्न भन्ने कुरा पनि त आएन, दाजुभाइ भको भए मिलेर बसौं न भन्न पनि हुन्थ्यो तर बहिनी हुनाले त्यो भन्न पनि सकिन मैले । क्रमशः