उपनिर्वाचनको परिणामले देखाएको बाटो र नेपाली राजनीति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपनिर्वाचनको परिणामले देखाएको बाटो र नेपाली राजनीति



काठमाडौं । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त पदहरूका लागि १४ गते उपनिर्वाचन सम्पन्‍न भयो । उपनिर्वाचनमा अधिकांश दलले उत्साहजनक रुपमा सहभागीता जनाए भने जनताहरू पनि उल्लेख्य संख्यामा मतदान गर्न पुगे ।

केही ठाउँमा बम विस्फोटनका घटना घटे पनि कुनै अप्रिय घटना भएन । जसले गर्दा उपचुनाव सफलतापूर्वक सम्पन्‍न भएको मान्‍न सकिन्छ ।

५२ पदका लागि भएको निर्वाचनमा नेकपाले ३०, कांग्रेसले १३ स्थानमा जित हासिल गर्यो । यस्तै समाजवादी पार्टी ४, राजपा ३, राष्ट्रिय जनमोर्चा (वाम गठबन्धन) १ र स्वतन्त्र (नेकपा बागी) १ स्थानमा विजयी बने ।

रिक्त ५२ स्थान मध्ये अघिल्लोपटक नेकपा २८ र कांग्रेस १४ स्थानमा विजयी बनेको थियो । तर, यस पटक कांग्रेसले पहिलेभन्दा एक स्थान गुमायो । नेकपालाई दुई सिट फाइदा भयो । ५२ मध्ये २३ स्थानमा अन्य दलले नै बाजी मारे ।

तर, कांग्रेसलाई संख्यामा एक घाटा भए पनि गुणात्मक रुपमा निकै फाइदा भएको मान्‍न सकिन्छ । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर (१) र धरान उपमहानगरपालिका प्रमुखमा बाजि मार्दै कांग्रेसले गुणात्मक फाइदा लियो ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १६ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला स्थित घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा बाजी मार्नु पनि कांग्रेसका लागि अर्को ठूलो सफलता हो ।

अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् ।

उपचुनावले सिकाएको पाठ

केही स्थानमा पुरानै दलका नेताले जिते पनि केही स्थानमा भने जनप्रतिनिधि फेरिएका छन् । यसले जनता पार्टीभन्दा पनि विकास र समृद्धिको खोजिमा रहेको बुझ्न सकिन्छ ।

नेताहरूले बेलैमा आफूलाई नसच्याए जनताले धेरै बेर एउटै दललाई कुरी राख्ने छैनन् भन्‍ने प्रमाण पनि हो यो । यसले जनताको विकासप्रतिको तिब्र आकांक्षालाई प्रस्ट पारिदिएको छ । यस्तो अवस्थामा नेताहरूले जनअपेक्षा अनुसार काम गर्न सकेमात्रै उचित मूल्याङ्‍कन हुने प्रस्ट देखिएको छ ।