सूचनाको हकका लागि कार्यालय प्रमुखद्वारा सात बुँदे घोषणापत्र जारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सूचनाको हकका लागि कार्यालय प्रमुखद्वारा सात बुँदे घोषणापत्र जारी



बाबियाचौर (म्याग्दी), पुस २५ गते   । म्याग्दीका सरकारी कार्यालय प्रमुखले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे घोषणापत्र जारी गरेका छन् । बेनीमा आइतबार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुखको विशेष बैठकमार्फत घोषणापत्र जारी गरिएको हो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाको आतिथ्यतामा बैठक बसेको थियो ।

सूचना लिने दिने संस्कृतिको विकास गरी पारदर्शिता, जवाफदेहीता र सुशासन कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सूचनाको हकको सम्मान र संरक्षणमा प्रतिबद्ध हुने निर्णयसहित घोषणापत्र जारी गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

घोषणापत्रमा प्रत्येक तीनतीन महिनामा सबै कार्यालयले सम्पादन गरेका गतिविधि कार्यालय परिसरमा टाँस्ने र पछिल्लो तेस्रो महिनाको १५ गते सामूहिक रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।

यसैगरी सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमाभित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने, सूचना माग भएको र प्रवाह भएको छुट्टै फाइल खडा गरी अभिलेख राख्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।

सर्वसाधारणलाई सरकारी कार्यालयले गर्ने गतिविधि तथा प्रदान गर्ने सेवा सुविधामा सहज पहुँच स्थापित हुने सरोकारवालाको अपेक्षा छ । कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटाले कानुनले व्यवस्था गरेअनुसारको सूचना लुकाउने अधिकार कसैलाई नभएकाले त्यस्तो गर्नेलाई कारबाही हुने चेतावनी दिनुभयो ।

लोकतन्त्रको रक्षा, पारदर्शिता, सुुशासन, दिगो विकासका लागि सूचनाको हकको पूर्ण पालना हुनुपर्ने प्रमुख आयुक्त बास्कोटाको भनाइ थियो । रासस