सुडानमा सैन्य ‘कु’ माग गर्दै हजारौं जनता सडकमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुडानमा सैन्य ‘कु’ माग गर्दै हजारौं जनता सडकमा



एजेन्सी – सुडानमा सैन्य ‘कु’ आह्वान गर्दै हजारौं जनता सडकमा उत्रिएका छन्। विपक्षीहरुले त्यहाँको सेनालाई ‘कु’ गर्न आह्वान गर्दै सडकमा जनता उतारेकाे हाे। सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौं प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य ‘कु’को आह्वान गरेका छन्।

सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेधार गर्दै आएका छन्।

यही सेप्टेम्बरमा राष्ट्रपति बसिरका समर्थकहरुले असफल सत्तापलटको प्रयास गरेपछि तनाव चर्किएको छ । सेनाले बसिरविरोधी प्रदर्शनको नेतृत्व गरेको नागरिक गठबन्धन समूह ‘फोर्सेस अफ फ्रिडम एन्ड चेन्ज’ (एफएफसी) ले सुधारकाे माग गरेकाे छ। फोर्स संक्रमणकालीन सरकारको साझेदारसमेत हो।

सेनाले पनि क्याबिनेटमा परिवर्तन गर्नुपर्ने माग गरेको छ । तर, नागरिक नेताहरुले भने सेनाले ‘कु’ को षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन्।

शनिबार सेनाका समर्थकहरुले सरकार अपदस्थ गर्न त्यहाँका सेना प्रमुख जनरल अब्देल फताह अल बुरहानलाई आह्वान गरेका थिए । ‘हामीलाई सैन्य सरकार चाहिन्छ । वर्तमान सरकारले न्याय र समानता प्रदान गर्न बिफल भयो’, एक प्रदर्शनकारीले भने।

शनिबार यसअघिका भएका प्रदर्शनमा जस्तो राष्ट्रपतिको गेटमा सुरक्षा व्यवस्था कडा गरिएको थिएन । प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि खासै उपस्थिति थिएन।

यसैबीच, सरकारका समर्थकले पनि बिहीबार प्रदर्शन गर्ने भएका छन् । शुक्रबार मात्र सुडानका नागरिक प्रधानमन्त्री अब्दुल्लाह ह्यामडकले देशको खराब र खतरनाक राजनीतिक संकटसँग जुध्न एउटा योजना सार्वजनिक गरेका थिए।