सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी



कञ्चनपुर । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन । तत्कालीन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्ट्रार डा. द्विजराज भट्टलाई सरकारले २७ पुस ०७५ मा पदमुक्त गर्दै निमित्तमा क्रमशः डा. पूर्णबहादुर चन्द र डा. गोविन्दसिंह विष्टलाई नियुक्त गरेको थियो । त्यसको विरोधमा नेविसंघले महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूलगेटमा २७ चैतमा तालाबन्दी गरेको आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।

नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालयविरोधी पूर्णबहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेको छ । विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन । बरु, दैनिक प्रशासनिक काम सञ्चालन हुँदै आएको रजिस्ट्रारनिवासमा पनि ८ साउनदेखि नेविसंघले ताला लगाइदिएको छ । यसले विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार तथा भावी योजनाका लागि बस्नुपर्ने सिनेट बैठकसमेत अनिश्चित बनेको छ ।

तालाबन्दीले चालू आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रभावित भएको विश्वविद्यालयका प्रमुख प्रशासक गोविन्दबल्लभ पन्तले बताए । भदौभित्रै ताला खोलेर सिनेट बैठक नबोलाए समस्या जटिल बन्ने उनको गुनासो छ । १३ साउनमा सिडिओ सुशीलकुमार वैद्यको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि रजिस्ट्रारनिवासको ताला खोल्ने सहमति गरे पनि नेविसंघले उल्लंघन गरेको उनको आरोप छ ।