सुजाताले भनिन: पार्टी सभापति म बन्छु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुजाताले भनिन: पार्टी सभापति म बन्छु



विराटनगर- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन आफूले नेतृत्व लिन तयार रहेको जनाएकी छन् ।

उनले नेपाली काँग्रेस सच्चिनुपर्ने पनि बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन् ।

नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताइन् ।

पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन् । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् ।

नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।

काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् ।

यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गरिन् ।