गुफा-गुफामा सुन: सरकारलाई कुरीकुरी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गुफा-गुफामा सुन: सरकारलाई कुरीकुरी



काठमाण्डौ । प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीले नेपालमा सुन तस्करको जालो तोडिएको, सुन आउने प्वाल बन्द गरिएको गफ लडाईरहंदा गोरखामा गुफामा १६ किलो सुन भेटिएको छ । अघिल्लो वर्षमा ३८ क्विन्टल सुनको चर्चा भएकोले सरकारको लागि यो ठुलो परिणाम नलाग्न पनि सक्छ ।

नेपालमा कुन बेला कहाँ किलोका किलो सुन फेला पर्छ ठेगान छैन । त्यो माथि सरकारले पनि जम्मा १६ किलो पनि के सुन भन्न पनि बेर छैन तर, ‘के मरेको भन्दा पनि काल पल्केको’ भन्ने नेपाली उखानको आसयमा भनिएजस्तो सुन भेटिएको भन्दा नेपाल सुन तस्करको गतिलो गन्तव्यस्थल बन्दै आएकोमा भने ठुलो चिन्ताको बिषय हो । सरकारले सुन तस्करको जालो तोडेको दावी गरिरहँदा एकाएक गोरखामा १६ किलो अवैध सुन फेला परेको छ ।

गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओडार भित्र लुकाई राखेको १६ किलो सुन बरामद भएको हो । प्रहरीका अनुसार खोर्लाबेसीको ओडार नजिक ढुङ्गाले च्यापेर राखेको अवस्थामा सो परिमाण बराबरको सुन भेटिएको हो ।

२७ दिन देखि सम्पर्क बिहीन बनेका यारुवगरका धनकमल गुरुङले सो स्थानमा सुन लुकाएर राखेको आशंका गरिएको छ । गुरुङलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । तिब्बतबाट सुन ल्याएको लुटेराले सुइको पाएप्छि धनकमल सुन लुकाएर सम्पर्कबिहीन बनेको प्रारम्भिक अनुसन्धानबाट खलेको छ ।

केही दिनदेखि धनकमल गुरुङ हराएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी परेको थियो । प्रहरीले गुरुङको खोजी सुरु गर्यो । तर, गुरुङमात्र भेटिएनन् उनीसँगै ठूलो परिमाणको सुनसमेत प्रहरीले बरामद ग¥यो । चट्टानभित्र बोरामा लुकाइराखेको १६ वटा सुनका बिस्कुट फेला पारेको हो । १६ किलो सुनको बजार मूल्य ८ करोड बराबर हुन आउँछ । ठूलो परिणामको सुन फेला परेसँगै नेपालमा सुन तस्करहरुको जालो भित्र भित्रै फैलिरहेको पुष्टी भएको छ ।

तर सरकारले भने ३३ किलो सुन काण्डको अनुसन्धान सुरु भएसँगै पटक पटक नेपालमा सुन तस्करको जालो तोडिएको दावी गर्दै आएको थियो ।

तर सानो सफलतालाई नै ठूलो उपलब्धि ठान्ने सरकारले सुन तस्कर नियन्त्रण गर्न असफल भएको छ । पछिल्लो समय तस्करहरूले गोरखालाई सुन तस्करीको नयाँ रूट बनाएका छन् । अघिल्लो वर्षको भदौमा पनि गोरखामा १० किलो सुन बरामद भएको थियो ।

तिब्बतबाट गोरखामा अबैध सुन भित्रिएको घटना बढे पनि सीमानामा रहेको भन्सार कार्यालय कर्मचारीविहीन छ । लार्के भन्सार कार्यालय त दशकदेखि बन्द छ । अझै कति सुन अवैध रुपमा नेपाल भित्रिने हुन भन्नेमा सरकार चनाखो हुन सकेको छैन ।

फाट्टफुट्ट फेला पर्ने सुनबाहेक अरु कति सुन अवैध रुपमा कारोबार भइरहेको छ अनुमान लगाउन सकिने अवस्था छैन । यसतर्फ सरकार गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।