सुनौली नाकामा यातायात साधनको आवत-जावतमा अवरोध - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुनौली नाकामा यातायात साधनको आवत-जावतमा अवरोध



भैरहवा,साउन २४  । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत-जावतमा अवरोध गरिरहेको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ– मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत आंशिक रूपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ । सुनौलीमा भएको अवरोधमा फसेका ट्रक व्यवसायीलाई विलम्ब शुल्क तिर्दा व्यवसायी करोडौँ घाटामा गएका छन् । सो शुल्क उपभोक्ताबाट उठाउँदा नेपालमा महँगी बढ्ने निश्चित भएको छ । तर, यो अवरोध किन भयो र कतिन्जेल चल्छ भन्ने निश्चित छैन । जब कि यातायात अवरोधले नेपालतर्फ करिब तीन किलोमिटर र भारततर्पm पाँच किलोमिटर जाम भइसकेको छ ।

यस्तो अवरोध पार गरेर गाडी पास हुन कम्तीमा एक साता लाग्ने भएको छ । नाका सहज बनाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा दुई देशका अधिकारीबीच छलफल भए पनि अवरोध हट्न सकेको छैन । लखनउस्थित विधानसभा परिसरमा दुई साताअघि बम भेटिएपछि भारतीय प्रहरीले तीन सय २२ किलोमिटर टाढा सुनौली नाकामा अवरोध गरेको हो । ढुवानी साधनलाई मात्र होइन, आउने-जाने यात्रुलाई खल्तीसमेत छामेर अपमानित गर्ने काम गरिरहेको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय भन्छन्
यातायात साधन मात्र होइन, आउने-जाने यात्रुलाई समेत अवरोध भएको विषयमा मैले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छु । सुरक्षा जाँचबुझ गर्दा ढिलो भएकाले यातायातमा अवरोध भएको उनीहरूको भनाइ छ । तर, यो अवस्था लामो समय रहन्न । छिटोभन्दा छिटो यातायात पूर्ववत् रूपमा चल्ने आश्वासन पाएको छु ।