नेपालमा पनि कोरोना सङ्क्रमण फैलिएको डा. सुन्दरमणिको दाबी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालमा पनि कोरोना सङ्क्रमण फैलिएको डा. सुन्दरमणिको दाबी



काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताइन् । रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

साक्षात्कारमा बोल्दै उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् । ‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’

उनले परीक्षणमा आउने संख्या दिनहुँ बढेपनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताईन् । यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ । झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अबलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाईन् ।

उनले भनिन्,‘जनताहरुलाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछु । उनले कोरोना भाइरसको बारेमा सबैजना सचेत रहेको देखिइसकेकाले स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन् । डा. झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन् । उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन् । उनले भनिन्,‘एउटा संक्रमित विरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्तिम अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं ।’

कार्यक्रममा इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताए । उनले देशभरका अस्पतालमा निमोनियाका विरामीको सूची तयार गरी परीक्षण समेत भइरहेको स्पष्ट पारे । उनले भने,‘हामी सूची लिएर कसैलाई कोरोना भाइरसको संक्रमण भएको छ कि भनेर खोजीसमेत गरिरहेका छौं । संक्रमणको लक्षण देखिएका जो कसैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं ।’

डा. पाण्डेले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताए । काठमाडौमा सयभन्दा माथि आइसोलेशन कक्ष निर्माण भइसकेको जानकारी दिँदै उनले भने,‘सबै अस्पतालमा निमोनियाका बिरामीहरु सूची संकलन भइरहेको छ । आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन १११५ मा तत्काल कल गर्न आग्रह समेत गर्दछु ।’

उनले डाक्टरको सिफारिस भएमा मात्र कोरोनाको परीक्षण गर्न सकिने बताए । उनले मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यकत्तानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधान विपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’