कैलाली-४ मा सुनिल भण्डारी- चुनाव अन्तिम तर टेष्ट पहिलो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलाली-४ मा सुनिल भण्डारी- चुनाव अन्तिम तर टेष्ट पहिलो



काठमाडौं- आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरु सिट बाँडफाँटको विषयमा सहमित नजिक पुगेका छन् । सीमित सिटमा धेरै दलहरुको दाबीकै कारण सिट बाँडफाँटलाई अन्तिम टुंगोमा पुर्‍याउन भने दलहरुलाई हम्मेहम्मे परिरहेको छ । गठबन्धनमा भागबण्डा मिलिसकेपछि पनि दलहरुलाई चैन भने छैन ।

किनभने त्यसपछि दलहरुभित्र आफ्नो भागमा परेको कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अर्को बडेमानको चुनौती छ । गठबन्धन भित्रको प्रमुख घटक नेपाली कांग्रेसमा समानुपतिक उम्मेदवारकाे बन्द सूचीको विषयलाई लिएर संस्थापन इतर पक्ष अहिले पनि असन्तुष्ट छ । यस्तो अवस्थामा प्रत्यक्ष तर्फको टिकट वितरमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अझ असहज हुने प्रष्टै देखिन्छ ।

आकांक्षी धेरै भएपछि देशभरका सबै निर्वाचन क्षेत्रबाट कांग्रेसका दुई वा सोभन्दा बढी उम्मेदवार सिफारिस भएका छन् । धेरै उम्मेदवार सिफारिस हुने निर्वाचन क्षेत्रमध्येको एक कैलाली क्षेत्र नमबर–४ पनि हो । यो निर्वाचन क्षेत्र गठबन्धनको भागबण्डा मिल्दा कांग्रेसकै भागमा पर्ने करिब निश्चित छ । कैलाली– ४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा पूराना एवं अनुभवी कांग्रेस नेता सुनिल भण्डारीसहित नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठक गरी ६ जनाको नाम सिफारिस भएको छ ।

उम्मेदवार सिफारिस भएकामध्ये भण्डारी नै कांग्रेसका सबैभन्दा अनुभवी नेता हुन् । पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका उनी कैलाली–४ बाट बलियो दाबेदारी प्रस्तुत गर्दै आएका व्यक्ति हुन् । यस निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका पूर्व नेता एवं नेकपा एमालेका वर्तमान सचिवस लेखराज भट्ट निर्वाचित हुँदै आएका थिए । आसन्न निर्वाचनका लागि एमालेले भट्टलाई नै अगाडि सारेको छ । २०७४ मा उनै भट्टसँग पराजित भएका नेता भण्डारी यस पटक अन्तिम चुनाव लडेर पहिलो पटक प्रतिनिधिका रुपमा जनतामाझ टेस्ट हुन चाहन्छन् ।

‘मप्रति जनताको माया, स्नेह र विश्वास कति छ भन्ने कुरा विगतमा मैले हार्दै गर्दा पनि थियो । र अहिले पनि छ । त्यसबेलाको मेरो मत हेर्न हो भने कांग्रेसको परम्परागत मतभन्दा झन्डै चार हजार बढी छ । त्यो भनेको मेरो लोकप्रिय मत हो । मेरो काम र व्यक्तित्वलाई हेरेर पार्टीभन्दा बाहिरका जनताले मलाई माया र विश्वास गरेर दिएका भोट हुन्’, नेता भण्डारी भन्छन्, ‘मेरा दाबेदारीकाे पहिलो आधार यही नै हो । हरेक हिसाबले यदी कैकलाली–४ बाट कांग्रेसको उपयुक्त उम्मेदवार कोही हुन्छ भने मै हो ।’

अहिले सिफारिस भएका अन्य उम्मेदवारभन्दा धेरै गुणा बढी पार्टीमा आफ्नो योगदान रहेको उनले बताए । ‘म २०७४ मा पाराजित भएपछि पनि यहाँका जनताको सुखदुःखमा साथ दिने, पार्टी संगठनलाई मदबुद बनाएर अगाडि बढाउने, स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने, आन्तरिक समस्या हल गर्ने यी हरेक गतिविधिमा मेरो योगदान छ’, उनले भने ।

आफ्नो यी नै कर्म र योगदानलाई कदर गरेर पार्टीले टिकट दिनेमा नेता भण्डारी विश्वस्त छन् । आगामी दिनमा आफू पुनः चुनाव नलड्ने संकेत गर्दै उनले यस पटक आफू अन्तिम पटक जनतामाझ पुग्न चाहेको उनले बताए । ‘आगामी दिनमा पुनः चुनाव नलड्ने, जीवनको उत्तरार्धमा के हुन्छ भन्न सकिन्न’, नेता भण्डारीले भने, ‘त्यसैले यस पटक मेरो दाबी हो ।’

पार्टीलाई पनि विजयको सम्भावना बोकेको उम्मेदार नै चाहिने, जनमत भएको व्यक्ति नै चाहिने र संगठनमा प्रभाव राख्ने नेता नै पार्टीले रोज्ने भन्दै उनले आफूले टिकट पाउन याेग्य व्यक्ति भएकाे भन्दै ढुक्क रहेको उनले बताए ।

कैलाली–४ मा कांग्रेस(गठबन्धन) उम्मेदवारको प्रतिस्पर्धी एमालेबाट लेखराज भट्ट नै हुने पक्कापक्की छ । २०६४ मा माओवादी केन्द्रबाट र २०७४ मा वाम गठबन्धनको तर्फबाट उनी विजयी भएका थिए भने २०७० मा कांग्रेसकै दीर्घराज भाट निर्वाचित भएका थिए ।