के सुनिल नारायणलाई घटुवा गरिएको हो ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

के सुनिल नारायणलाई घटुवा गरिएको हो ?



एजेन्सी- कहाँ छन् सुनिल नारायण ? इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सको सामना गर्दा यही प्रश्न सोधिएको थियो, त्यो पनि दुवै इनिङ्समा।

कोलकाताले ब्याटिङ गर्दा उनले इनिङ्स सुरुआत गरेनन्। अनि बलिङका बेला पनि ११ ओभरपछि मात्रै मौका पाए, जति बेला चेन्नई एक विकेट गुमाएर ९४ रनको स्थिति थियो। त्यसो त यसपल्टको आईपीएलमा इनिङ्सको सुरुआत गर्दा उनी सफल रहेका छैनन्।

प्रत्येकपल्ट उनी शर्ट बलमा कमजोर देखिएका छन्। खासमा उनको प्रारम्भिक ब्याट्सम्यानको स्वरूप नै गल्ली क्रिकेटको जस्तो छ। सक्दा प्रहार गर्ने, नसके आउट हुने। लगातार खेलमा असफल भएपछि सुनिललाई ब्याटिङको तल्लो क्रममा झारियो नै। चेन्नईमा खासै शर्ट बल गर्ने राम्रा बलर नभएको स्थितिमा पनि तल्लो क्रममा ब्याटिङ गराउनु के उनलाई घटुवा गरिएकै हो त?

तर त्यस्तो भएको रहेनछ। सुनिल माथिल्लो क्रममा असफल हुनुको अर्थ उनी टिमका लागि बोझ बनेका छैनन्। उनी त सम्पत्ति नै हुन्। कोलकाताका बलिङ प्रशिक्षक केली मिल्स भन्छन्, ‘केही खेलमा उनको ब्याट चम्केको छैन, यस्तोमा केही सामान्य परिवर्तन गर्दा खेलाडीलाई कुनै बेला फाइदा गर्छ, हामीले त्यही चाहेका हौं।’ कप्तान दिनेश कार्तिक र कोलकाताले त सुनिललाई त्यस खेलमा चतुर्‍याँइपूर्वक प्रयोग गरेकै हुन्।

चेन्नईविरुद्ध सुनिललाई ‘पिन्च हिटर’ को भूमिका दिइएको थियो। फेरि माथिल्लो क्रममा उनले गर्दै आएको काम त त्यही थियो। खाली उनी चौथो क्रममा आए। जतिबेला उनी आए, त्यो ब्याटिङक्रमको खासै महत्त्व थिएन। कोलकाताले नवौं ओभरमा नितिश राणालाई गुमाएको थियो, करन शर्माको बलिङमा। त्यो लेगब्रेक थियो। लेग स्पिनर बायाँहाते ब्याट्सम्यानका लागि उतार्नु ठीक थियो।

यस्तोमा इयोन मोर्गनलाई किन पठाइएन त? उनी त आफैं उत्कृष्ट लयमा छन् र उनलाई ट्वान्टी–२० क्रिकेटको पूर्णकालीन ब्याट्सम्यान भन्न सकिन्छ । यसका दुई कारण हुन सक्छन्। त्यो बेला मोर्गनको विकेट सुनिलको भन्दा बढी महत्त्वको थियो। फेरि त्यो स्थितिमा कोलकातालाई छोटो आक्रामक ब्याटिङ पनि आवश्यक थियो। त्यो त्यही स्थिति हो, जतिबेला ब्याट्सम्यानमाथि प्रायः बलर हाबी हुने गर्छ। कोलकाताको यो रणनीतिले खुबै काम गर्‍यो। आफ्नो स्वभावअनुसार सुनिलले ९ बलमा १७ रन बनाए। जम्मा २.५ ओभरमा २८ रनको साझेदारी भयो, तेस्रो विकेटका लागि। यो स्थितिमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले रवीन्द्र जडेजालाई बलिङमै उतारेनन्। सुनिल चाँडै आउट पनि भए। यसक्रममा इनिङ्सको अन्त्यतिर मोर्गन र आन्द्रे रसेलले खुलेर खेल्न पाए।

यो सुनिललाई रणनीति ठीक प्रयोगकै कारण सम्भव भएको थियो। बलिङलाई लिएर चर्चा गर्ने हो भने उनी चेन्नईविरुद्ध सफल रहँदै आएका छन् । तर उनलाई सुरुमा प्रयोग गरिएन। प्रशिक्षक मिल्स भन्छन्, ‘सुनिल पक्कै पनि सुरुदेखि बलिङमा आएनन्। तर इनिङ्सको अन्त्यतिर उनले बलबाट पनि सटिक काम गरे। खेलको अन्तिम ९ ओभरमा हामीसँग उनी जत्तिका अनुभवी बलरको चार ओभर बाँकी थियो।’ कोलकाताले प्याट कमिन्सलाई अन्त्यतिर बलिङ गराउन चाहेन। किनभने त्यसमा उनी केही महँगो साबित भए। टिमले अन्त्यतिर सुनिल वा रसेलमध्ये एकलाई प्रयोग गर्न सक्थ्यो, निर्णय सुनिलको पक्षमा रह्यो। चेन्नई खेलाडीले उनीविरुद्ध खुलेर खेल्नै सकेनन्। धोनी पनि त्यतिबेला कमजोर देखिएनन् । एक खेलाडीलाई कसरी प्रयोग गर्नु पर्छ, सुनिलको भूमिकाले ठ्याक्कै देखाउँछ।

सुनिलले शनिबार पन्जाबविरुद्धको खेलमा पनि अन्तिम ओभर बलिङ गर्दै जित दिलाएका थिए। उनले अन्तिम ओभरमा मन्दीप सिंहको विकेट लिए। उनले पन्जाबसँगको खेलमा २८ रन खर्चेर २ विकेट लिएका थिए ।