जडान गर्न किन दुई महिना लाग्छ सुरुङ खन्‍ने मेसिनलाई - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जडान गर्न किन दुई महिना लाग्छ सुरुङ खन्‍ने मेसिनलाई



सुर्खेत :

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो । यससँगै अब आयोजनाको पहिलो र महत्वपूर्ण मानिएको सुरुङ निर्माणको कामले गति लिनेछ ।

हालसम्म मजदुरबाट डेढ सय मिटर सुरुङ खनिएको छ । सुरुङको बाँकी भाग अब मेसिनले नै खन्नेछ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सिमानामा रहेको बबईमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले यो आयोजनाको काम सुरु भएको हो । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर लामो सुरुङ खनेर भेरीको पानी बबईमा खसाल्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ ।

मेसिनसहितको ५५ कन्टेनर सामान आयोजना निर्माणस्थलमा आइसकेको छ । मेसिनको मुख्य भाग पनि बुधबार बिहान आयोजनास्थलमा पुगेको छ । पाँचवटा ट्रकमा लोड भएको उक्त सामान ढुवानीका लागि मंगलबार रातिदेखि बुधबार बिहानसम्म रत्नराजमार्गअन्तर्गत कोहलपुरबाट बबईसम्मको खण्डमा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । मेसिनको भार धेरै भएको र सडकको क्षमता कमजोर भएकाले मेसिनको ढुवानीमा असर नहोस् भनेर अन्य सवारी साधनलाई रोक लगाइएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार बुधबार बिहान मेसिनको मुख्य भाग पनि निर्माणस्थलमा पुगेको हो ।

सुरुङ निर्माणस्थलमा टीबीएम मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । मुलुकमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो ।

‘आयोजनाको मुख्य काम नै सुरुङ निर्माण हो’, आयोजना प्रमुख बस्नेतले भने, ‘त्यसका लागि सबै पूर्वाधार तयार पारेका छौं । अब मेसिन पनि आइपुग्यो, यो जडान हुन कम्तीमा दुई महिना समय लाग्नेछ ।’

उनका अनुसार मेसिन जडानका लागि इटलीबाट प्राविधिक आउनेछन् । आउँदो मंसिर पहिलो सातादेखि मात्र मेसिनबाट काम सुरु हुनेछ । ‘मेसिनले मंसिरदेखि खन्ने काम गर्नेछ, सुरुङ निर्माणको काम अबको दुई वर्षभित्र सम्पन्न हुनेछ’, उनले भने, ‘सुरुङ निर्माणपछि मात्र अन्य काम हुनेछन्, तब मात्र आयोजनामा विद्युत् उत्पादन र सिँचाइको काम हुनेछ ।’

सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने लक्ष्य छ । बबईमा खसालेको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । त्यस्तै, बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ उपलब्ध गराइनेछ ।

आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अनि तेस्रो चरणमा मात्र भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजना रहेको जानकारी दिए । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)बीच आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनामा १७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

यो आयोजनाको २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजना निर्माणको काम चलिरहेको छ । तर, मेसिन आउन समय लागेपछि सुरुङ निर्माणको काम रोकिएको थियो । अब सुरुङ निर्माणको गति बढ्ने र यो काम सकिनेबित्तिकै ड्याम र विद्युत्गृह पनि तयार हुने आयोजनाले जनाएको छ ।

तस्बिर : अन्नपूर्णपोष्ट