डा. सूर्यराज प्रचण्डको क्षेत्रबाट चुनाव लड्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा. सूर्यराज प्रचण्डको क्षेत्रबाट चुनाव लड्ने



काठमाडौं- यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन निकै रोचक हुने देखिएको छ । चुनावको मिति घोषणा नहुँदै चर्चित व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी घोषणा भैरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको चुनावी क्षेत्रबाट साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्यले चुनाव लड्ने तयारी गरेका छन् ।

काठमाडौ महानगरमा बालेन शाहले जितेपछि देशभर चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारहरूको लहर नै चल्न थालेको छ । चुनावको मिति नै घोषणा नभइ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि कतिपयले दलहरूको भविष्यमाथि नै चिन्ता प्रकट गर्न थालेका छन् ।

चर्चित व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि ठूला दलका हेभिवेट नेताहरूलाई समेत फसाद पर्ने देखिएको छ । यसै क्रममा डा. सूर्यराज आचार्य पनि आगामी मंसिरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

चितवन ३ नम्बर निर्वाचन क्षेत्रमा घर भएका आचार्य पछिल्लो समय चितवनमा निकै सक्रिय बनेका छन् । चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

आचार्यले अहिले जनमतबारे अध्ययन गरिरहेका छन् । आचार्य ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट चुनाव लडेका थिए । काठमाडौ २ माधव नेपालको निर्वाचन क्षेत्र हो ।

त्यसबेला आचार्यले ७ हजार ४३७ मत ल्याउँदा माधव नेपालले २७ हजार ३६६ मत ल्याएर निर्वाचित बनेका थिए ।