स्वार्गीय दिदीलाई हत्यारा भाइको पत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्वार्गीय दिदीलाई हत्यारा भाइको पत्र



-केशु असफल मगर 

आदरणीय दिदी प्रणाम,
तिम्रो आत्माले त्यहाँ शान्ति पाइरहेको छ भनी कामना गरेको छु।हुन त तिमीलाई यो पत्र लेख्नुको कुनै औचित्य छैन किनभने तिमी मेरो पत्र पढ्न सक्दैनौ र मलाई कहिल्यै जवाफ मिल्ने छैन।तर मनले आज पत्र नलेखी बस्न मानेन।जब भित्तामा रहेको क्यालेन्डरले तिहार आएको सङ्केत दिन थाल्यो तब झन् तिम्रो याद खहरे बनेर ओर्लियो अनि जेलभित्रको चिसो भुइबाट यो पत्र लेख्न विवश भए दिदी।

दिदी,
यो जेलभन्दा बाहिर पक्कै पनि तिहारले पाइला टेकिसक्यो होला।हिजो मात्र हवल्दार सापलाई आफ्नो दिदीले जसरी पनि भाइटिका थप्न आउनु भनेर फोनमा फोनमा भन्दै हुनुहुन्थ्यो।अनि म पनि तिमीलाई सम्झेर धेरै रोए।सानोमा म रुदा तिमीले केटा मान्छे भएर रोएको सुहाउदैन भन्ने सिद्दातन्तले आज तिमीलाई नै सम्झेर रुदा केही काम गरेन दिदी।

सानोमा बुबा बितेपछी आमा त सधैँ शोकमा बस्नुहुन्थ्यो।त्योबेला तिहार आउँदा तिमि धेरै खुसी हुन्थ्यौ अनि म पनि।अरूको घरमा जस्तो सधैँ मिठोमिठो कुरा हाम्रो घरमा कहिल्यै पाक्दैनथ्यो।तर तिहारमा भए पनि आफ्नो भाइलाई मिठो खुवाउछु भनेर तिमि पैसाको जोहो गर्न दसैँ सकिने बित्तिकै जिम्माल बाजेको खेतमा धान काट्न जान्थ्यौ।भाइटिकाको दिनमा तिमि आफैले मलाई नुहाइदिन्थ्यौ अनि सफा कपडा लगाइदिन्थ्यौ।तिमि मेरो जिन्दगी रंगीन होस भन्दै मेरो निधारमा सप्तरंगी टीका लगाइदिन्थ्यौ।आफैले बनाएको चेप्टो चेप्टो सेल ठुलो टपरीमा हालेर दिन्थ्यौ।तिम्रो त्यो ठुलो टपरीमा खानेकुराहरु भरिदैनथ्यो त्यसैले तिमीले आफ्नो माया समेत भरेर दिन्थ्यौ।तिमीले आफूले दुख गरेर कमाएको पैसाले मलाई एउटा रुमाल दिन्थ्यौ,म त्यो रुमाल गाउभरी सबैलाई देखाउदै हिड्थे।

तर दिदी,मसङ्ग त तिमीलाई दक्षिणा दिने समेत पैसा हुदैनथ्यो।म तिमि जस्तै काम गर्न सक्दिनथे।अनि म रुन खोज्दा तिमीले “मलाई मेरो भाइ र मेरो भाइको।खुसी देख्न पाए अरू चाहिदैन” भन्थ्यौ।अनि मैले त्यो दक्षिणाले कहिल्यै किन्न नसक्ने अमूल्य माया दिन्थे तिमीलाई।पक्कै पनि तिमीले त्यो क्षण मैले जस्तै सम्झेकी छ्यौ होला है त्यो बादल भन्दा माथिको देशबाट।

दिदी
खासमा बुबा बितेपछी नै हो है हाम्रो जीवनमा कालो ग्रहण छाएको।फोक्सोको क्यानसरबाट बुबाले आफ्नो बाटो गर्नुभएपछी आमाले पनि आफूलाई सम्हाल्नु भएन।त्यसपछि तिमी नै मेरो आमाबाबु भएर मलाई माया गर्थ्यौ।आफ्नो लाउला खाउला भन्ने उमेरमा निमेक,मजदुरी गरेर भए पनि मलाई सधैँ राम्रो लगाउन दिन्थ्यौ,मिठै खुवाउथ्यौ।तिमी किन यत्ति धेरै मलाई माया गर्थ्यौ दिदी।आमाले सधैँ चाहनुहुन्थ्यो,हजुरले पनि पढोस अनि आफ्नो जिन्दगी बनाउन तिर लगोस तर तिमीले आमाको कुरा कहिल्यै सुनिनौ।जहिल्यै ममा आफ्नो सपना भेट्यौ।आफ्नो सबै सपना अनि रहर मेरो सोच्यौ।किन दिदी तिमीले आमाको कुरा नमानेको त्यो बेला?

दिदी,
तिमीले मलाई धेरै पढाएर डाक्टर,इन्जिनियर बनाउछु भन्थ्यौ।छिमेकीहरुले आफै पढेर डाक्टर बन भन्दा तिमीले म डाक्टरको दिदी हुनुमै गर्व गर्नेछु भन्थ्यौ तर दिदी मैले तिम्रो सपना पूरा गर्न सकिन।

दिदी,एक दिन त्यो पल्लाघरे श्यामे मुम्बाईबाट आएपछि तिमीलाई उसले अनेकथरी सपना देखायो।तिमिपनी उसको लोभलाग्दो कुरामा नजादिदो तरिकाले फस्यौ।मैले अनि आमाले तिमीलाई धेरै भनेका थियौ दिदी।तर उसङ्ग बिहे गरेर गएपछि तिमीले मेरो सपना पूरा हुने सपना देखेका थियौ जुन सपना पछि गएर बालुवाको घर जस्तै ढल्न पुग्यो। तिमीले भनेकी थियौ त्यो बेला श्यामे सङ्ग बिहे गरेर मुम्बई गएपछि म आफै काम गर्नेछु अनि मेरो भाइलाई धेरै पढाउनेछु।तर तेस्तो त कहिल्यै हुन पाएन दिदी।

थाहा छ दिदी?तिमी श्यामेसङ्ग मुम्बई हिडेको बेला आमा र म कति रोएका थियौ तर तिमी भनेर मुकुराएर बिदा भएकी थियौ।आज सोच्दै छु दिदी,तिमीले हासेर यो गाउठाउ छोडेको त त्यो हाम्रो अन्तिम भेट हुनलाई रहेछ।तर तिमीले श्यामेसङ्ग आफ्नो लागि बिहे गरेका थिएनौ।केवल मेरो सपना पूरा गर्नको लागि मात्र बिहे गरेकी थियौ।मेरो इच्छा अनि खुसीको लागी,मलाई अगाडि बढेको देख्नको लागि तिमीले आफ्नो इच्छाहरुलाई पर धकेल्दै बिहे गरेकी थियौ।तिम्रो त्यो महानता म युगौयुगसम्म सम्झिरहनेछु दिदी।

दिदी,
एक दिन हाम्रो घरमा एक जना हुलाकी आयो तिम्रो चिट्ठी बोकेर।तिम्रो सम्झनामा सधैभरी रोईरहेकी हाम्रो आमाले त्यसदिन अराम पाउनुभएको थियो।आमा र म निकै खुसी थियौ त्यो चिठी हातमा लिदासम्म।जब मैले पत्र पढेर आमालाई सुनाए तब आमा त ढल्नुभयो सधैको लागि।तिम्रो त्यो वेदना अनि तिमीले सहनुपरेका पिडाका अनुभव आमाले सुन्न सक्नुभएन।जब तिमीलाई त्यो श्यामेले एउटा मुम्बईको कोठीमा बेचेको कुरा म पढ्दै थिए तब मेरो नजर भन्दा पहिले मेरो आँसु पुगेको थियो पत्रमा।दिदी,तिमि मलाई बाच्न सिकाउने मान्छे थियौ।तिमीबाट नै मैले जीवन बाच्ने प्रेरणा पाएको थिए

तर तिमीले त्यो पत्र लेखेसङ्गै आफूले आत्महत्या गरेर मर्ने कुरा लेख्दा म आफै छागाबाट खसेजस्तै भएको थिए।मैले पनि आफूलाई सम्हाल्न सकिन दिदी त्यो बेला।धेरै रोए त्यो दिन मपनी ।तर मेरो आँसु देख्ने,पीडा सुन्ने कोही थिएन त्योबेला।किनकि आमा समेत तिम्रो ठाउँमा आइपुगेको थियो त्योबेला।

दिदी
त्यसपछिको मेरो दिन झन् कति कष्टकर भयो त्यो मलाई मात्र थाहा छ।म त यो संसारमा नितान्त एक्लो थिए।मैले आफूलाई सम्हाल्न एकदमै गाह्रो परिरहेको थियो।मेरो आफ्नै जीवन सरहको मान्छे आमा र मलाई आफ्नो जीवन सरह मान्ने मेरो दिदी यश धर्तीबाट धेरै पर गैसकेका थिए।

दिदी,
कति दिन भोकै अनि कति दिन आँसु पिएर बिताए मैले।एक दिन श्यामे गाउँ फर्केपछी भने मैले आफूलाई सम्हाले।अनि रोजे एउटा फरक बाटो जुन ममा देखेको सपना भन्दा धेरै पर थियो।दिदी,मैले त भेनाजु भन्नुपर्नेलाई मान्छेको हत्या गरिदिए।ताकि कुनै पनि चेलीले भोलि मेरो दिदीको जस्तो नियती भोग्न नपरोस।

दिदी
के मैले गरेको यो हत्या जस्तो कामबाट तिमी दुखी भएकी त छैनौ।जसले आफ्नो सिन्दूरलाई नोटको लोभमा परको लागि खाटमा सजिने नारी बन्न बाध्य बनायो त्यस्तो मान्छेले हत्या जस्तो सजाय नै पाउनुपर्छ भन्ने सोचेर हत्या गरेको हु दिदी।मैले तिम्रो सिन्दूरलाई जानीजानी खोसेको हु किनकि उसले तिमीलाई धुलो सम्झियो आफ्नो सिन्दूर सम्झेन।यदि मैले गरेको यो कामलाई तिमी अपराध मान्छ्यौ भने म तिमीले जस्तोसुकै सजाय दिएपनी भोग्न तयार छु।

दिदी,

आज साढे पाचबर्ष बितिसक्यो मैले तिम्रो न्यानो स्पर्शबिना जेलको यो चिसो भुइमा जीवन बिताएको।अझै कतिबर्ष बिताउनुपर्छ थाहा छैन।तर म खुसी नै छ।मैले तिमीले भनेजस्तै डाक्टर बन्न नसकेपनी एउटा दिदीको जलिरहेको आत्मालाई शान्त पार्न भए पनि हत्यारा भए।आफूले सोचेजस्तै कहाँ हुदोरहेछ र है।तिमीले ममा के कस्तो सपना देखेका थियौ अनि म आज कस्तो अवस्थामा आइपुगे।दिदी,यो जुनी यस्तै भयो।अर्को जुनीमा पनि म तिम्रै भाइ भएर जन्मिन पाउ।यदि साच्चिकै भागवन हुदोरहेछ भने म यही माग राख्दछु त्यो भागवनसङ्ग।के मलाई तिमी आफ्नो भाइ मान्न तयार छौ?के तिमी मलाई सानोमा माया गर्ने मेरो त्यो दिदी जस्तै बन्नेछौ?नाई नभन ल दिदी।

दिदी,

यो तिहारमा तिमि मलाइ बोलाउन सक्छयौ,न तिमीले बोलाएपनी म आउन नै सक्छु।तर तिमीले कुनै चिन्ता नगर्नु है।म पनि स्वर्गमै आएपछि म तिमीलाई तीजको दर खान बोलाउनेछु।तिमी आउनेछौ मेरो आगनमा अनि मेरो आगन उज्यालो हुनेछ।अनि तिमी मलाई भाइटिका लगाउनेछ्यौ त्यो बचपनको बेला जस्तै।मलाई थाहा छ दिदी तिमि मलाई कहिल्यै भुल्ने छैनौ किनकि म तिम्रो जिन्दगी थिए अनि म पनि तिमीलाई कहिल्यै भुल्ने छैन किन कि तिमिपनी त मेरो जिन्दगी थियौ।दिदी,झन् धेरै लेख्छु त्यत्तिनै आँसु झरिदिन्छ।त्यसैले अब म धेरै लेख्न चाहन्न।सधैँ तिम्रो आत्माले शान्ति पाओस यही कामना गरिरहन्छु।
उहीँ तिमीलाई धेरै माया गर्ने तिम्रो हत्यारा भाइ
जेलभित्रको चिसो भुइबाट

(यस हिमाल पोस्ट डटकमबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘हिमाल पोस्ट डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकोले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, विना अनुमति हाम्रा सामग्री प्रयोग गरेमा विद्युतिय ऐन अन्र्तगत कानुनी दायरामा जान हामी बाध्य हुने छौ ।)