कतारमा ज्यान गुमाएका स्वर्गीय दिल बहादुरको स्मृतिमा गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोष स्थापना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कतारमा ज्यान गुमाएका स्वर्गीय दिल बहादुरको स्मृतिमा गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोष स्थापना



कुमार “अविरल” पन्थी, कतार माघ १० ।
रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।

गत शुक्रबार स्वर्गीय पुलामीकी पत्नी हिरादेवी पुलामी, छोरा एवंम् भानु निम्न माध्यमिक विद्यालयका प्राचार्य खिमलाल राहाडीको उपस्थितिमा संस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्य र सचिव केसव कंडेलले उक्त सहयोग रकम अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।

रोजगारीका सिलसिलामा कतारमा कार्यरत गुल्मी ठुलो लुम्पेकका स्थानिय युवाहरुको सहयोग तथा गुल्मी सेवा समाज कतारको विशेष पहलमा अक्षयकोष स्थापनार्थ उक्त रकम सङ्कलन गरिएको हो ।

सहयोग रकम बुझ्दै स्वर्गिय पुलामीकी पत्नी हिरादेवीले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरीन । उनि भन्छिन श्रीमानलाई त मैले कलिलो उमेरमा गुमाए, श्रीमानको साथ मेरो भाग्यमा यतिनै लेखको रहेछ, यी साना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिएर वाबुको कमि महसुस हुन नदिई भविष्य उज्ज्वल बनाउने सपना छ । गुल्मी सेवा समाज कतारको साथ र सहयोगका लागि सदैव आभारी रहेको बताइन ।

गुल्मी ठुलो लुम्पेक ४ निवासी दिल बहादुर पुलामीको गत २२ जुन २०१६का दिन ३२ बर्षको उमेरमा कतारमा निधन भएको थियो । स्वर्गीय पुलामीका श्रीमती, ३ छोरी र एक छोरा छन । १२ बर्षकी जेठी छोरी निरुता ७ कक्षामा अध्ययनरत छिन, त्यस्तै ११ वर्षिय माईली छोरी मनिषा ५ कक्षामा, ८ बर्षकी कान्छी छोरी तिर्सना २ कक्षामा अध्ययनरत छन भने छोरा कुसल १९ महिनाका मात्र भएका छन ।

साना बालबालिकाहरुको शिक्षादिक्षाका लागि यहाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले काष्ठमण्डप डेभलपमेन्ट बैंकमा रहेको खाता नम्बर ००२०१७००५४००७०००००१ मा सिधै रकम जम्मा गराउन पनि सक्नुहुनेछ । तपाईहरुको सानो सहयोगले ति स-साना बालबालिकाहरुको भविष्य उज्वल बन्नेछ ।

समाजले रोजगारिका लागि विदेशमा विभिन्न समस्यामा परेका पिडित तथा स्वदेशमा बिभिन्न सामाजिक कामहरुलाई आर्थिक सहयोग गदै आइरहेको छ ।