१३औं साग: दुई-दुई स्वर्णको कथा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

१३औं साग: दुई-दुई स्वर्णको कथा



१३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्णको कीर्तिमान बनाएका छन् ।

उनीहरूको कीर्तिमानसँगै सोमबार नेपालले १५ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ।

करातेका मन्डेकाजीले व्यक्तिगत काता र टिम काता तथा आयशाले तेक्वान्दोमा २९ वर्षमाथि एकल पुम्से र २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । काता र पुम्से दुवै मार्सल आर्ट कला प्रदर्शनी खेल हुन् ।

धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जितेका थिए । तर डोपिङ परीक्षणमा असफल भएपछि उनका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका थिएनन् ।

सातदोबाटोस्थित ५० मिटरको फरकमा रहेको तेक्वान्दो र कराते हलमा मन्डेकाजी र आयशाले इतिहास रचेका खबर आजको कान्तिपुर दैनिकमा विनोद पाण्डे, कुशल तिमल्सिनाले लेखेका छन्।

मन्डेकाजीसँग टिम कातामा महसुस तामाङ र प्रवीण मानन्धर तथा आयशासँग २९ वर्षमाथि युगल पुम्सेमा सञ्जीवकुमार ओझा थिए । मन्डेकाजीले २०१० मा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् । शारीरिक बनोट नमिलेपछि आयशा संन्यासको संघारमा थिइन् । सागमा मन्डेकाजीको यो पहिलो सफलता हो । पुम्सेका दुई स्वर्णले आयशालाई सागमा सबैभन्दा सफल नेपाली महिला खेलाडी बनाएको छ ।

सागमा आयशाका ३ स्वर्ण पुगेका छन् । २००६ को श्रीलंका साग र २०१६ को भारत सागमा उनले फाइनलमा पराजित भएपछि रजतमै चित्त बुझाउनुपरेको थियो । २०१० को ढाका सागमा नेपाली तेक्वान्दोले २ स्वर्ण जितेको थियो।

एउटा स्वर्ण आयशाको थियो, अर्को स्वर्ण दीपक विष्टले जितेका थिए । त्यसको अर्को वर्ष यी दुई दाम्पत्य जीवनमा बाँधिएका थिए । दीपक पुरुषतर्फ नेपालका कीर्तिमानधारी खेलाडी हुन् । उनले १९९९ देखि २०१० सम्म गरी सागमा लगातार ४ स्वर्ण जितेका थिए । अहिले यी दुईका ६ र २ वर्षका दुई छोरा छन् ।

‘सबैले मलाई विश्वास गर्नुभयो, त्यसैले मैले जितें । यो जितको श्रेय ज–जसले मलाई विश्वास गर्नुभयो, उहाँहरूलाई नै जान्छ । २ स्वर्ण मेरा २ छोरालाई समर्पित गर्न चाहन्छु,’ आयशाले भनिन्, ‘म पहिलेदेखि नै उदाहरणीय बन्न चाहन्थें । त्यो अहिले पूरा भए जस्तो लाग्छ।’

इच्छाशक्ति, लगनशीलता र मिहिनेती भए सफलतालाई उमेर र शारीरिक अवस्थाले नछेक्ने उनको भनाइ छ ।

११औं सागमा मन्डेकाजी नेपालबाट छानिएका थिए । ३–४ महिना नेपालमा क्याम्प बसेर वैदेशिक प्रशिक्षणका लागि एक महिना थाइल्यान्डमा रहँदा उनको तौल समूह काटिएपछि साग खेल्न पाएनन् ।

‘त्यो क्षण म सम्झन पनि चाहन्नँ । रुँदैरुँदै फर्केको थिएँ । अर्को साफ खेल्नुपर्छ र नेपाललाई पदक दिलाउनुपर्छ भनेर लागिपरें । कारणवश १२औं साफमा कराते थिएन । त्यो अर्को दुःखद क्षण थियो,’ मन्डेकाजीले भने, ‘म इख लिएर खेलिरहें । तिमीले दायाँबायाँ कतै नहेरी खेलतर्फ मात्र ध्यान देऊ भनेर बुबाले प्रोत्साहन दिनुहुन्थ्यो । त्यसले पनि मलाई जित हासिल गर्न सघायो ।’

मन्डेकाजीले २० वर्षपछि नेपाली पुरुष टोलीलाई कातामा सफलता दिलाएका हुन् । सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा गंगाराम महर्जनले एकल कातामा र प्रविन राना, गोपीलाल बम्जन, कृष्ण राई र विजय लामाले टिम कातामा स्वर्ण जितेका थिए ।

उनै गंगाराम अहिले नेपाली काता टोलीका प्रशिक्षक छन्, जसले नेपाललाई सोमबार कातामा ४ मध्येका ३ स्वर्ण दिलाए । त्यसमा दुई मन्डेकाजीको नाममा परे।