ऋषि सुनाक र स्वर्णिम वाग्ले - Himal Post Himal Post
  • १९ माघ २०७९, बिहीबार
  •      Thu Feb 2 2023

ऋषि सुनाक र स्वर्णिम वाग्ले



-नारायण गाउँले

अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला ब्याङ्किङ् संस्थामा काम गरेका ऋषि सुनाक राजनीतिमा जोडिन चाहेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले उनलाई सजिलै टिकट दियो । जिते जितिहालोस् न त भनेर दिइएको टिकट थिएन । उनको निर्वाचन क्षेत्र कन्जरभेटिभ पार्टीकै पूर्व-प्रमुखले चुनाब जित्दै आएको र सबैभन्दा सुरक्षित क्षेत्र थियो । पार्टीले उनको अनुहार र उमेर हेरेन, कति वर्ष झोला बोकेको भन्ने हेरेन । योग्यता हेर्यो र उनी पार्टीमा जोडिनुलाई नै गौरव मान्यो ।

ईयुबाट अलग्गिने निर्णयपछि बेलायतको अर्थतन्त्र कमजोर र अस्थिर बनेको थियो । धेरै दिग्गज नेताहरूलाई पाखा लगाउँदै युवा अर्थशास्त्री ऋषि बेलायतका अर्थमन्त्री बनाइए । लगत्तै कोभिड़ महामारी आयो । उनको योग्यता काम लाग्यो । हजारौं व्यापारव्यवसाय र लाखौँ रोजगारी डुब्नबाट बचे । पार्टी र उनको लोकप्रियता बढ्यो । उनको दक्षता, भिजन र कार्यनीतिहरूलाई यति मन पराइयो कि राजनीति सुरु गरेको १० वर्ष नहुँदै उनी पार्टी प्रमुखका दाबेदार बने । केही दिनअघि झिनो मतले उनी पार्टीप्रमुख र प्रधानमन्त्री हुनबाट त चुके तर यहाँसम्म उनलाई ल्याइपुऱ्याएको उनको योग्यताले नै थियो र अन्ततः आज उनी बेलायतको प्रधानमन्त्री चुनिने अवस्थामा आइपुगे ।

बेलायतलाई ऋषिको जति खाँचो थियो, नेपाललाई कैयौं गुना बढ़ी योग्य, विज्ञ र अनुभवी शासकको खाँचो छ । ग्लोबलाइजेसन र चर्को प्रतिष्पर्धाको यो युगमा लगानी भित्ऱ्याउन होस् या द्वि/बहुपक्षीय व्यापार प्रबर्धन होस्, दीर्घकालीन महत्त्वका अन्तर्राष्ट्रिय या द्विद्वेशीय सम्झौताहरू हुन् या भूराजनैतिक रणनीति निर्माण होस्, देशलाई सक्षम, शिक्षित र विज्ञ शासकको अत्यन्त खाँचो छ । बनिसकेको देशलाई औसत भए पुग्ला, हामीलाई विश्वस्तरको नेतृत्व आवश्यक छ ।

अमुक एउटा व्यक्ति सबै समस्याको एउटै उत्तर हुन त पक्कै सक्दैन तर स्वर्णिम जत्तिको विश्व अर्थतन्त्र बुझेको, त्यससँग नजिक रहेर काम गरेको, विश्वका ठूला देश, संस्था र प्रतिनिधिसँग प्रत्यक्ष संवाद र नेगोशिएट गर्ने प्रमाणित दक्षता भएको व्यक्ति नेपाली राजनीतिमा आउनु एउटा सुखद मोड़ हुन सक्थ्यो । अन्य योग्य व्यक्तिहरूका लागि यो प्रेरक उदाहरण बन्न सक्थ्यो र केही नयाँ सुरुवात हुन्थ्यो ।

हामीमा योग्यता र विज्ञताको पहिचान र कदर गर्ने अभ्यास छैन र हो, नत्र अन्तर्राष्ट्रिय आँखा र आँकडाबाट हेर्दा स्वर्णिम वाग्ले ऋषि सुनाकभन्दा एक कदम अगाडि होलान्, कम देखिन्नन् । उनले सुनाकजस्तै विश्वप्रसिद्ध विश्वविद्यालयबाट पढेका छन्, अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानमा संलग्न छन् र विश्वकै उच्च संस्थाहरूमा जिम्मेवारी निर्वाह गर्दै छन् ।

खुशीको कुरा, उनले आफ्नै देशको राजनीतिमा रुचि देखाएका छन् । अलि सभ्य देशमा भएको भए पार्टीले उनलाई ससम्मान अघि बढाउने थिए । कम्तिमा भारतजस्तो देशमा पनि कांग्रेसले चीन र अमेरिकामा राजदूत बनाएर पठाएका करियर डिप्लोम्याट एस जयशङ्करलाई विजेपीका नरेन्द्र मोदीले परराष्ट्रमन्त्री बनाएको ताजा उदाहरण छ । एउटा विज्ञ परराष्ट्रमन्त्री हुँदा अहिले भारतले चीन-रूस र अमेरिका जस्ता शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई अचम्मको सन्तुलन दिएको मात्रै छैन, क्रमशः आफ्नो महत्त्व स्थापित गर्दै लगेको छ । हिजो महत्त्वपूर्ण विश्वसम्मेलनहरूमा ब्याक-बेन्चमा देखिने भारत आज अगाडिको लाइनमा देखिन्छ ।

हामीले राजा फालेर ‘लोकतन्त्र’ ल्याएको भन्ने सुन्यौं । तर पार्टीका सम्बन्धित कमिटीले सिफारिस नै नगरेका व्यक्तिले टिकट पाए । सर्वसम्मत सिफारिस भएका भीम रावलहरूले टिकट पाएनन् । सङ्गीन अपराधमा जेलमा रहेका आफ़ताब आलमलाई सम्मान गर्दै उनका छोरालाई उनको टिकट दिइयो तर सिफारिस भएर आएका स्वर्णिम वाग्लेहरूले टिकट पाएनन् ।

वाग्ले जस्ता योग्य र सक्षमहरूलाई टिकट दिए आफ्नै श्रीमतीको राजनैतिक यात्रा असुरक्षित हुन्छ भन्ने निकृष्ट मानसिकता बोकेका शेरबहादुर देउबाहरूलाई जिताउन हामी लागेकै छौँ । बारम्बार असफल साबित भएका र सिँढी उक्लिन र ऱ्याल पुच्छ पनि अरूको सहायता चाहिने अवस्थाका हाम्रा आदर्श नेता छन् !

हामी भेड़ा हौं, थियौं र शायद रहिरहनेछौं ।
अहिलेलाई भगवत् गीता छोएर शपथ खाएका बेलायती सांसद ऋषि शुनाकलाई प्रधानमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेबारीका लागि बधाई र शुभकामना भनौं ।

लेखक नारायण गाउँले