स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी



काठमाडौं- सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने विषयमा गृहकार्य अगाडी बढाएको हो ।

कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अनुमान गर्दै पछिल्लो संक्रमण दरलाई खतराको सूचकका रूपमा स्वास्थ्य मन्त्रालयले लिएको बुझिएको छ । यस्तैमा उच्च दरमा फैलिएको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी गरिएको हो ।

स्रोतका अनुसार निषेधाज्ञा लगाएर पनि महामारी नियन्त्रण गर्न कठिन बन्दै गएकाले स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने मन्त्रालयले तयारी गरेको छ । कोरोनाको दोश्रो लहर पहिलो भन्दा निकै संक्रामक र खतरनाक भएको भन्दै यस्तो तयारी गरिएको स्रोतको दाबी छ ।

खासगरी आइतबार एकैदिन सात हजार बढीमा संक्रमण देखिएपछि मन्त्रालय कस्सिएको हो । कोरोनाको पहिलो लहरमा पनि मन्त्रालयले स्वास्थ्य संकटाकालको प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको थियो । तर पास भएको थिएन । पहिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले समेत संकटकाल लगाउने प्रस्ताव लगेको बताइएको थियो ।

स्रोतले दाबी गरेअनुसार स्थिति जटिल भैसकेको र बिरामीले अस्पतालमा बेड नपाउने अवस्था सृजना भैसकेको भन्दै मन्त्रालय तात्तिएको छ ।

नेक्पाल्मा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित हुँदा ३ हजार ३ सय २५ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित ४८ हजार ७ सय ११ जना पुग्दा २ लाख ८३ हजार ९ सय ९४ जना निको भएका छन् ।