स्ववियु निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्ववियु निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने



काठमाडौँ, फागुन १  

त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने भएको छ ।

आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया आइतबारबाट नै शुरू हुँदैछ र पहिलो दिन मतदाता सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।  फागुन ३ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन अन्तिम मतदाता सूची सार्वजनिक गर्ने, फागुन ४ गते मनोनयनपत्र वितरण गर्ने, फागुन ५ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने गरी कार्यतालिका तय गरिएको छ ।  त्रिविका ६० आङ्गिक क्याम्पसका साथै सम्बन्धन लिएका अन्य क्याम्पसहरूमा पनि निर्वाचन हुनेछ ।  २०६५ सालमा ३५२ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।  हाल त्रिविबाट एक हजार ८४ क्याम्पसले सम्बन्धन लिएका छन् ।

त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले के–कति क्याम्पस निर्वाचनमा सहभागी हुनेछ भन्ने अहिले नै बताउन नसकिने स्पष्ट गर्दै अधिकांश निजी क्याम्पसले निर्वाचन नगर्ने गरेको बताउनुभयो ।  त्रिवि स्ववियु निर्वाचनमा करिब साढे दुई लाख विद्यार्थी सहभागी हुने बताइएको छ ।
उहाँले मतपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था नै प्रयोगमा ल्याइने बताउँदै पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा विद्युतीय मतदानको व्यवस्था गर्ने भनिए पनि अझै टुङ्गो नलागेको जानकारी दिनुभयो ।

यसैबीच त्रिविले शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै घोषित निर्वाचनलाई प्रतिबद्धतासाथ सम्पन्न गर्न त्रिवि अगाडि बढिसकेको स्पष्ट गरेको छ ।