क्वारेन्टाइन व्यवस्थापनका लागि रेडक्रसद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्वारेन्टाइन व्यवस्थापनका लागि रेडक्रसद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले क्वारेन्टाइनमा रहेका नागरिकका लागि आवश्यक पर्ने सामान आज सहयोग गरेको हो ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि सुरक्षा तथा बसाइ व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको उपशाखाले जनाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनका लागि २५ थान कम्बल, १० थान किटनाशक झुल, ४ थान टुटी सहितका बाल्टीन वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैनाले नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीलाई एकमुष्ट रूपमा उक्त सामान हस्तान्तरण गरेका थिए ।

यसअघि समेत गएको चैत्र १४ गते उपशाखाले ३० थान कम्बल, ३० थान किटनाशक झुल, २० थान बाल्टी र ८ थान जग क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको थियो । लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखामा पुगेर रेडक्रस सोसाइटी बलिया उपशाखाको टोलीले सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी, कोषाध्यक्ष मोतीप्रसाद उपाध्याय, बलिया उपशाखा सचिव बिनोद आचार्य, कोषाध्यक्ष प्रेमराज मुडभरी, सदस्य विष्णुप्रसाद खनाल लगायतको सहभागिता रहेकोे थियो ।

लम्कीचुहा नगरपालिकाले भारत लगायत विभिन्न देशबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण तथा निगरानी गरिरहेको छ । स्थानीय तहले संघीय सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन नदिन क्वारेन्टाइन स्थापना गरि नियन्त्रण तथा रोकथामको प्रयास गरिरहेका छन् । कोरोनाको सम्भावित संक्रमणको जोखिम बढेको भन्दै लम्कीचुहा नगरपालिकाले विभिन्न वडाहरुमा क्वारेन्टाइन निर्माण गरि भारतका सीमा नाका तथा बाहिरबाट नगरपालिका प्रवेश गरेका नागरिकलाई राख्दै आएको छ ।

प्रकोप फैलिन नदिन अहिले उच्च सतर्कता अपनाइएको छ भने, कतिपय गाउँ/नगरपालिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि समन्वय समिति र क्वारेन्टाइन व्यवस्थापनका लागि समेत समिति गठन गरिएको छ ।