स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल



वालिङ, चैत ९ गते  ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताउनुभयो । २०७० मा संविधानसभाको निर्वाचनको बेला जिल्लामा एकसय ८९ मतदानस्थल कायम गरिएकोमा यसपटक भने दशवटा थप गरेर सिफारिस गरी पठाइएको मरासिनीले बताउनुभयो ।
फलेवास (पर्वत) ः यसैगरी, मतदान केन्द्र सिफारिस समितिले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि पर्वत जिल्लामा ७४ वटा मतदानस्थल तोकेको छ ।

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ७४ मतदान स्थल तोकिएको हो । मतदान केन्द्र भने निर्धारण गर्ने तयारीमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । सबैभन्दा बढी कुश्मा नगरपालिकामा १७ र फलेवास नगरपालिकामा १४ वटा मतदानस्थल तोकिएको छ ।

त्यस्तै, जलजला गाउँपालिकामा १२, मोदी गाउँपालिकामा १० र विहादी गाउँपालिकामा सातवटा मतदानस्थल तोकिएको छ । यसैगरी, पैँयु गाउँपालिकामा सात, महायिशला गाउँपालिकामा पनि सातवटै मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । २०७० सालको निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष ६ वटा बढी निर्धारण गरिएको बताइएको छ ।

नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा मतदान केन्द्र तोक्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

पर्वतमा करिब एकलाख मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार ९९ हजार ६ सय ७० मतदाताले निर्वाचनमा भाग लिने भएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि पर्वतमा १६ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा पर्वत क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले)ले विजयी हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतमा चहलपहल सुरु भएको छ । राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ ।

रत्ननगर (चितवन) ः स्थानीय निकायको निर्वाचनका लागि चितवन जिल्लामा यस वर्ष २० वटा मतदान केन्द्र थपेर कुल मतदान केन्द्रको सङ्ख्या एकसय ६१ बनाइएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा कुल एकसय ४१ वटा मतदान केन्द्र थियो । यो पटक केन्द्र थपेर एकसय ६१ बनाइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । “मतदान केन्द्र टुङ्ग्याइयो, मतदाता शिक्षाका लागि कार्यक्रम सुरु हुँदैछन्”, ढकालले भन्नुभयो, “निर्वाचनको तयारी तीव्र भइरहेको छ ।”

उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिकामा ६५ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्ती नगरपालिकामा १८, कालिका नगरपालिकामा ११ र इच्छाकामना गाउँपालिकामा १४ वटा मतदान केन्द्र बनाइएको ढकालले जानकारी दिनुभयो । पहिलेका गाविस र नगरपालिका विभिन्न क्षेत्रमा गाभिएपछि सोही अनुसार थपेर केन्द्र बनाइएको हो ।

यसपटक भरतपुर महानगरमा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचवटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । माडी नगरपालिकामा भने साबिककै १५ वटा केन्द्र तोकिएको छ ।

जिल्लामा तीनलाख १५ हजार नौसय ३७ मतदाता रहेका छन् । २०७० सालमा दुईलाख ७३ हजार आठसय तीन मतदाता थिए । अब मतदाता शिक्षाका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । रासस