नवनियुक्त स्वास्थ्यमन्त्रीको वाचा: 'नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो काम' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नवनियुक्त स्वास्थ्यमन्त्रीको वाचा: ‘नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो काम’



काठमाडौँ- स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताएका छन् । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिए । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको छलफलबाट टुङ्ग्याइने उनले बताए ।

“हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तराष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौ ” उनले भने, “ हामी अध्ययनमा सफल भयौ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनंसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौ ।”स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताए । “मानिस जन्मनसाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउछौ, ” उनले भने, “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसंग सम्बन्धित सबै उपचार पाउने गर्दछ ।”

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिए । तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरिएका छन् ।

उनले सातै प्रदेशमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर सहितको बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो । उनले आगामी बर्षभित्र ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असार भित्र वोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताए । उनले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए । “कोरोना विरुद्धको लडाई लडेर जनतालाई कोरोनामुक्त गराउने मेरो प्रथामिकता हुने छ,” उनले भने, “ यस लडाइमा सबको उत्तिकै जिम्मेवारीको साथै सहयोग हुनुपर्दछ ।” उनले कोभिड–१९ बिरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा श्यया, आइसियू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिए । मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने जानकारी दिए । यसका लागि उत्पादक मुलुकसँग छलफल भइरहेको उनले बताए ।

उनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जानकारी दिए । उनले मन्त्रालयका हरेक कामलाई पारर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।-रासस