बालकोटको बार्दलीमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ- तामाङ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बालकोटको बार्दलीमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ- तामाङ



नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले काँग्रेसलाई राष्ट्रपति चाहिए बालकोटको बार्दलीमा जानुपर्ने बताएका छन्।

‘कसैलाई पद चाहिन्छ भने नेकपा एमालेको बार्दलीमा आउनै पर्छ’ उनले भने, ‘नेकपा एमालेको बार्दलीको ढोकामा काँग्रेस आएर राष्ट्रपति आफूहरूलाई चाहिने प्रस्ताव गरे छलफल गर्न सकिन्छ’ सोनाम ल्होसारमा सम्बोधन गर्न आएका तामाङले पत्रकाहरुसँग भने, ‘नेपाली काँग्रेसले कुनै पदको अपेक्षा गरेको छ भने केपी ओली कहाँ आउनुपर्छ।’

उनले जुनसुकै पार्टीका नेताहरुलाई पनि पद चाहिदा नेकपा एमालेको ढोकामा नआई बाहिर कुनै सहमति गरेको भरमा पद नमिल्ने दाबी गरे। सरकार सञ्चालको मुख्य पावर नेकपा एमालेसँग मात्रै भएको भन्दै उनले हिजोको दिनमा नेकपा एमालेलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍यायौ भन्ने जति सबैले पद चाहिदा त्यही बार्दलीमै जानुपर्ने अवस्था आएको बताए। उनले कतिपय पार्टीले पद पाइन्छ कि भनेर च्याखे थापेको बताउँदै बालकोटको बार्दलीमा नआई पद नपाइने जिकिर गरे।

मुलुकले स्थायी सरकार पाएको र यो सरकारलाई पाँच बर्ष टिकाएर लैजाने उनले जनाए। प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व मन्त्री समेत रहेका नेता तामाङले सबै संवैधानिक पद सहकार्य र सहमति भइसकेकाले सोही अनुसार नै पद बाँडफाँड हुने जनाए।

वामपन्थी एकताको प्रक्रियालाई नेकपा एमालेले अगाडी बढाउने उनको भनाई छ। मुलुकमा जनताले रुचाएको र नेतृत्वदायी पार्टी नेकपा एमाले नै भएको ठहरिएको भन्दै उनले नेकपा एमालेसहितको सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम बनाएको र सोही अनुसार काम गर्ने जानकारी दिए।