राखेप सदस्यसचिवमा घिसिङिलाई नियुक्त गर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राखेप सदस्यसचिवमा घिसिङिलाई नियुक्त गर्ने सरकारको निर्णय



काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रग्वी संघको अध्यक्ष घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सदस्यसचिवका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो। खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै उनले अबको चार वर्ष सदस्यसचिव पद सम्हाल्ने छन्।

मन्त्री गतहराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समिति गठन गरेका थिए। समितिले एक महिला अनिवार्यसहित तीन जनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।

शुक्रबारसम्मको समय दिएर मन्त्रालयले सदस्यसचिवको आवेदन माग गरेको थियो। सदस्यसचिवका लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ,मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए।

१८ जनाले आइतबार आ-आफ्नो प्रस्तुति दिएका थिए। गत वर्ष खेलकुद विकास ऐन लागू भएपछि छनोट प्रक्रियाबाट रमेश सिलवाललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्यसचिव नियुक्त गरेको थियो। तर, कात्तिक १ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सिलवाललाई बर्खास्त गरेको थियो। सिलवालले बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।