तपाईँको उमेर ३० वर्ष वा सो भन्दा बढी छ ? आफूलाई ख्याल गर्नुहोस् । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तपाईँको उमेर ३० वर्ष वा सो भन्दा बढी छ ? आफूलाई ख्याल गर्नुहोस् ।



डा. रवीन्द्र पाण्डेका १० टिप्स 

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरूको लागि चुनौतीको विषय बनेको छ । यस्तो खतराबाट बच्न आफू जहाँ भए पनि, खर्च भए पनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला ।

१. महिनाको एक पटक ब्लडप्रेसर जाँच गराउनु होला ! यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ ।

२.वर्षको २ पटक रगत जाँच मार्फत सुगर, लिपिड प्रोफाइल ( कोलेस्टेरोल ), किड्नी फंक्सन टेस्ट तथा युरिन टेस्ट गर्नुहोला ! वर्षको २ पटक यी जाँच गर्दा महँगो पर्दैन ।

३. वर्षको १ पटक छातीको एक्स रे, पेटको अल्ट्रासाउण्ड, इसिजी ( मुटुको ) तथा महिलाले प्याप स्मेयर टेस्ट, थाइराइड फंक्सन टेस्ट गर्नुहोला ।

४. प्रेसर तथा सुगर बढेमा तुरुन्त चिकित्सकको सल्लाह बमोजिम औषधि सुरु गर्नु होला ! एक पटक खाए सधैँ खानुपर्छ भन्ने भ्रमको कारण धेरैको मृत्यु भएको पाइन्छ । सधैँ भनेको औषधि नखाएर बाँच्ने १-२ वर्ष कि औषधि खाएर बाँच्ने पुरा आयु ? यसमा ध्यान दिनु जरुरी छ ।

५. औषधि खाएपछि नर्मल भयो अर्थात् ठिक भयो भनेर प्रेसर तथा सुगरको औषधि नछोड्नुहोला । त्यो नर्मल रेन्जमा ल्याएको औषधिले हो, पुरै निको भएर हैन । नर्मलभन्दा तल देखियो भने चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा घटाउन सकिन्छ वा चिकित्सकले छुटाउने अवस्था पनि हुनसक्छ ।

६. घ्यु, बोंसो, डिप फ्राइ गरेको, धेरै गुलियो तथा जंक फुड नखानुहोला । यस्ता खाना खाएर १ पाउको जिब्रो त खुसी होला तर पौने क्विन्टलको शरीर दुखी हुन्छ । कोल्ड ड्रिंक्स र अल्कोहल नखानु उत्तम ! खाएमा एकदम थोरै, लामो समयको अन्तरालमा ।

७. खानामा सागसब्जी, फलफुल, दूध, माछा, गेडागुडी जस्ता स्वस्थबर्धक खाना खानुहोला ।

८. आफ्नो तौल नियन्त्रणमा राख्नुहोला ! ठुलो पेट तथा धेरै वेट ( तौल ) रोगका जननी हुन् ।

९. शारीरिक अभ्यासलाई जीवनको अङ्ग बनाउनुहोला ।

१०. क्रोध, अहङ्कार,लोभ तथा धेरै तनावबाट बच्नुहोला । नियमित योग,ध्यान गर्नुहोला ।

( दिनको एक कप चिया खर्च बचाएर राख्नुहोस, त्यो पैसाले वर्षभरको सामान्य स्वास्थ्य परीक्षण गर्न पुग्छ । )

(डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ हुन् )